काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको २ र ३ नम्बर वडामा संरचना रहने गरी निर्माण हुन लागेका ५१.६७ मेगावाटका २ जलविद्युत आयोजनामा ७ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । ३६.५२ मेगावाटको ब्रम्हायणी र १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी जलविद्युत आयोजनामा सानिमा बैंकको अगुवाईमा सिद्धार्थ, कुमारी, लक्ष्मी, प्रभु बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) र मञ्जुश्री फाइनान्सले ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
शुक्रबार दुवै आयोजनाको प्रवर्द्धक ब्रम्हायणी हाइड्रोपावर कम्पनी र इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल कम्पनी तथा लगानी गर्ने बैंक एवं वित्तीय संस्थाहरूबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा दुवै कम्पनीका कार्यकारी अध्यक्ष भरत पराजुली र ऋण लगानीमा अगुवाई गर्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार साढे १० अर्ब रुपैयाँ लागत अनुमान गरिएका आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूले कूल लागतको ७५ प्रतिशत ऋण लगानी गर्नेछन् । ब्रम्हायणी आयोजना निर्माण सम्पन्न गर्न ७ अर्ब ३४ करोड १ लाख १६ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनामा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्नेछन् । प्रवर्द्धक कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ स्वपुँजी (२५ प्रतिशत) लगानी गर्नेछ ।
यस्तै, माथिल्लो ब्रम्हायणी आयोजना निर्माण सम्पन्न गर्न ३ अर्ब १२ करोड ४१ लाख ६२ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनामा बैंक तथा वित्तीय संस्थाले २ अर्ब ३४ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने । प्रवर्द्धक कम्पनीले ७८ करोड ४१ लाख ६२ हजार रुपैयाँ स्वपुँजी लगानी गर्नेछ ।
दुई आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षरपछि बोल्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जलविद्युत विकास नै देशको आर्थिक समृद्धिको आधार भएकाले बैंकले आक्रमकरूपमा लगानी गर्ने नीति लिएको बताए ।
‘जलविद्युत आयोजनामा लगानी जुट्नु सुरुवाती चरण हो,’ उनले भने, ‘निर्माण थालेको ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य बमोजिम काम गरेर समयमा सम्पन्न हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’ उनले आयोजनाका प्रवर्द्धकले लगानीका लागि प्रस्ताव गरेपछि सम्पूर्ण अध्ययन गरेर सानिमाले अगुवाई गरेको बताए ।
दुवै प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष पराजुलीले आयोजना स्थलसम्म पहुँच सडक निर्माणको काम अन्तिम चरणमा पुग्न लागेकाले अब संरचना निर्माणको काम अगाडि बढाउने बताए । उनले २०८२ साल कात्तिकमा विद्युत उत्पादन गर्ने गरी दुवै आयोजनाको निर्माण एक साथ अगाडि बढाइने बताए ।
कार्यक्रममा सहभागी हुन पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले जलविद्युत आयोजना निर्माणका लागि स्रोत सुनिश्चित हुनु राम्रो कुरा भएको बताए । उनले देशको आर्थिक समृद्धिका लागि जलविद्युत क्षेत्रको विकास अपरिहार्य रहेको बताए । निजी क्षेत्रको लगानीले विद्युत उत्पादन बढ्दै गएकाले निर्यात भन्दा आन्तरिक खपत वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिए ।
निर्माण हुन लागेका दुवै आयोजना नदीको बहावमा आधारित प्रकृतिका हुन् । ब्रम्हायणी आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक २१५.५३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यो आयोजनाले उत्पादन गर्ने विद्युत प्रस्तावित पाङताङ्ग सबस्टेसनमा जोडिनेछ । यो सबस्टेसनसम्म आयोजनाको विद्युत पुर्याउन प्रवर्द्धक कम्पनीले १४ किलोमिटर प्रसारण लाइन निर्माण गर्नेछ ।
यस्तै, माथिल्लो ब्रम्हायणी आयोजना सञ्चालनमा आउँदा वार्षिक ८९.०४९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यो आयोजनाले उत्पादन गर्ने विद्युत ब्रम्हायणी आयोजनाको स्वीचयार्डसम्म पुर्याइ त्यहाँबाट पाङताङ्ग सबस्टेसन पुर्याइने कम्पनीले जनाएको छ ।