Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या   

जगदुल्ला आयोजनाको सार्वजनिक सुनुवाई, ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्दै


काठमाडौं । कर्णाली प्रदेशको डोल्पामा पहिचान भएको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना निर्माण गर्न अबको एक महिनाभित्र ऋण लगानी व्यवस्थापन सम्झौता हुने भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण लगानी व्यवस्थापनका लागि सम्झौता हुन लागेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाईमा ४ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने तय भइसकेको विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युतको खरिद दर निर्धारण गर्न बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमलाई प्रस्तुतीकरण दिँदै आयोजना प्रमुख सञ्जय सापकोटाले बताए । उनक अनुसार कूल लगानीको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाले गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।

‘आयोजनामा बैंक तथा वित्तीय संस्थाले गर्ने लगानीको टुंगो लागिसकेको छ,’ उनले भने, ‘निफ्राको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष र नबिल बैंकले ऋण लगानी गर्ने सहमति बनेको छ ।’ उनले आयोजना निर्माण गर्न ऋण बाहेक ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइने बताए । आयोजना निर्माण गर्न ११ प्रतिशत ब्याजदरलाई आधार मानी २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको पनि सापकोटाले बताए ।

आयोजना आगामी आर्थिक वर्ष (२०८०/८१) देखि निर्माणमा जाँदैछ । आयोजनाको पहुँच सडकको काम सम्पन्न भए लगत्तै सिभिल संरचना निर्माणको काम सुरु गर्ने तयारी भइरहेको छ । अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक खोल्ने कार्य भइरहेको छ । कूल ४५ किलोमिटर पहुँच सडकमध्ये ४० किलोमिटर खण्डको ट्र्याक खोल्ने कार्य सम्पन्न भइसकेको छ । बाँकी ५ किलोमिटर खण्डको ट्र्याक खुलेपछि आयोजनाको संरचना निर्माणको काम सुरु गर्ने योजना रहेको सापकोटाले बताए ।

यो आयोजना २०७५ फागुन २७ गते सरकारद्वारा घोषित जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण हुँदैछ । आयोजनामा स्वपुँजी लगानी गर्नेलाई समूह क र ख गरी २ श्रेणीमा विभाजन गरिएको छ । जसमध्ये समूह (क) मा विद्युत उत्पादन कम्पनी लिमिटेडको २६ प्रतिशत सेयर स्वामित्व रहनेछ । एचआइडिसिएलले पनि १० प्रतिशत लगानी गर्ने तय भएको छ । विद्युत प्राधिकरणले ९ प्रतिशत तथा कर्णाली प्रदेश सरकारले पनि ५ प्रतिशत लगानी गर्नेछ । स्थानीय तह (प्रभावित क्षेत्रका जगदुल्ला र मडुकेखाेला गाउँपालिका) ले १ प्रतिशत लगानी गर्नेछ ।

यस्तै, समूह (ख) अन्तर्गत देशभरका सर्वसाधारण नागरिकका लागि ३३ प्रतिशत र आयोजना प्रभावित क्षेत्र तथा जिल्लाबासीका लागि १० प्रतिशत सेयर छुट्याइएको छ । आयोजनाको विद्युत प्रवाह हुने ४५ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनको रुट प्रभावित क्षेत्रका स्थानीयका लागि पनि ३ प्रतिशत सेयर छुट्याइएको सापकोटाले बताए ।

सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आयोजनाले उत्पादन गर्ने विद्युत प्रवद्र्धकले नै ४५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी बाफिकोट सबस्टेसनसम्म ल्याएर राष्ट्रिय प्रणालीमा जोड्ने विद्युत प्राधिकरण विद्युत व्यापार प्रमुख प्रबल अधिकारीले बताए । उनका अनुसार बाफीकोटमा जोडिएको विद्युतलाई प्राधिकरणको १११ किलोमिटर लामो प्रसारण लाइनमा प्रवाह गरी दाङस्थित घोराई सबस्टेसनमा ल्याइनेछ ।

नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रभावित क्षेत्रबाट सरोबारवालाहरू काठमाडौंमा उपस्थित हुने सम्भव नभएको हुँदा सामाजिक सञ्जालमार्फत प्रत्क्षय प्रसारण गरेर हेर्न सक्ने व्यवस्था मिलाएको बताए । उनले सरोकारवालाले फेसबुक लाइभ हेरेर पनि आयोजनाका सम्बन्धमा लिखित तथा मौखिक सुझाव दिन सक्ने बताए ।
जगदुल्ला आयोजनामा छरिएर रहेको पुँजी जनताबाट संकलन गरेर लगानी हुन लागेको बताए । उनले आफु विद्युत विकास विभागमा महानिर्देशक हुँदा नै यो जनताको लगानी हुने गरी जगदुल्ला आयोजनाको निर्माण गर्नुपर्ने अवधारणा आएको बताए ।

आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आयोजनाका लागि आवश्यक जग्गा मध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण कार्य सम्पन्न गरी सम्बन्धित जग्गा धनीलाई मुआब्जा वितरण गरिसकिएको छ ।

दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिइयो । वातावरणीय अध्ययन कार्य अन्तर्गत टिओआर तथा स्कोपिङ्ग मस्यौदा स्वीकृत भई सार्वजनिक सुनुवाई गरी अन्तिम प्रतिवेदन विद्युत विकास विभागमा स्वीकृतिका लागि पेश गरिएको छ । यो स्वीकृत हुने प्रक्रियाको अन्तिम चरणमा रहेको उनले बताए ।

आयोजनाको प्रवर्द्धक कम्पनीले विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट गरी विद्युत खरिद सम्झौताका लागि आवेदन दिएको थियो । यही आवेदन उपर कारबाही गर्न विद्युत प्राधिकरणले गत माघ २४ गते आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न आयोग समक्ष आवेदन दिएको थियो । आयोगले विद्युत खरिद दर निर्धारण गर्न बुधबार सार्वजनिक सुनुवाई गरेको हो । १ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद दरका सम्बन्धमा आयोगले पनि सार्वजनिक सुनुवाई गरेर मात्रै दर निर्धारण गर्नुपर्ने कानुनी प्रवाधान छ ।

विद्युत प्राधिकरणले विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत खरिद दर बर्खा याममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खा याममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ रुपैयाँ र नन–पिकिङ अवधिका लागि प्रतियुनिट ८.४० रुपैयाँ दिने प्रस्ताव सहितको आवेदन सुनुवाईका लागि आयोगमा पेश गरेको थियो । आयोजनाको प्रवर्द्धक कम्पनीले विद्युतको यो दरमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ । डोल्पाको मुड्केखोला गाउँपालिकामा अवस्थित यो आयोजनाले सुख्खा याममा ४ देखि ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ ।

यो आयोजनामा सुरुमा स्वपुँजी लगानीको ७५ प्रतिशत विद्युत उत्पादन कम्पनीको रहने भनिएकोमा पछि जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण गर्ने तय भएपछि स्वपुँजी लगानीकर्ता थपिएको कम्पनीले जनाएको छ । आयोजनाको विद्युतगृहमा थप भौगर्भिक अध्ययन गर्न ४०० मिटर लामो परीक्षण अडिट सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ ।

पहुँच मार्गमा पर्ने त्रिवेणी डोल्पमा १ सय मिटर लामो पुल निर्माण गर्न ठेकेदारसँग सम्झौता भई डिजाइन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइएको छ । पहुँच सडकभित्र पर्ने नदी वार पार गर्न ९ वटा बेली ब्रिज निर्माणका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कन गर्ने कार्य भइरहेको सापकोटाले बताए । कम्पनीमा कार्यरत कर्मचारीका लागि आवास तथा कार्यालय भवन प्रयोजनका लागि १४ कोठे प्रि–क्याब भवन निर्माण सम्पन्न भइसकेको छ । बाँध क्षेत्रमा स्थायी आवास तथा कार्यालय भवन निर्माण कार्य सुरु गरिएको छ ।

मुख्य परामर्शदाता छनोट गर्न आशय पत्र माग गरी छनोटमा परेकालाई प्रस्ताव मागिएको र प्राप्त प्रस्ताव मूल्याङकनको चरणमा रहेको कम्पनीले जनाएको छ । आयोजनाको सिभिल संरचना निर्माण गर्ने ठेकेदार छनोटका लागि बोलपत्र आह्वान गर्न काजजात तयार गरी इपिसी मोडलमा आयोजना निर्माण गर्ने तयारी अवस्थामा रहेको छ ।

६ अर्ब बढी लगानीका आयोजनाको लगानी लगानी बोर्डबाट पनि स्वीकृत गर्नुपर्ने हुँदा आवेदन पेश गरिसकिएको छ । उद्योग दर्ताका लागि पनि उद्योग विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ ।

आयोजनाको निर्माण २०८६ सालमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न भई सञ्चालनमा आएको १२ वर्षमा ऋण लगानी चुत्ता गर्ने प्रक्षेपण छ । यही कम्पनी अन्तर्गत नै ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण हुँदैछ ।


Read Previous

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारतसँग आग्रह

Read Next

मुलुकको मुहार बदल्दै जलविद्युत् परियोजना

Leave a Reply

Your email address will not be published.