Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

तिला-१, तिला-२ र जलदुल्ला आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई


काठमाडौं । विद्युत नियमन आयोगले कर्णाली प्रदेशको कालिकोट र डोप्ला जिल्लामा निर्माण हुन लागेका ३ अर्धजलाशय जलविद्युत आयोजनाको एकै दिन सार्वजनिक सुनुवाई गर्ने भएको छ । विभागले आगामी बुधबार (चैत ८ गते) यी जलविद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण तथा विद्युत खरिद सम्झौता (पिपिए) मा सहमतिका लागि नेपाल विद्युत प्राधिकरणबाट पेश भएको निवेदन उपर सार्वजनिक सुनुवाई आयोजना गरेको हो ।

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ३ वटा जलविद्युत आयोजनाको छुट्टा छुट्टै सार्वजनिक सुनुवाई गरिने आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिए । उनका अनुसार एससी पावर कम्पनीले निर्माण गर्ने २९८.७५ मेगावाटको तिला–१ जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई हुँदैछ ।

विद्युत प्राधिकरणले अर्धजलाशय प्रकृतिको यो आयोजनाले उत्पादन गर्ने विद्युत बर्खा याममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खा याममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ रुपैयाँ र नन–पिकिङ अवधिका लागि प्रतियुनिट ८.४० रुपैयाँ दरमा खरिद गर्ने प्रस्ताव आयोग समक्ष पेश गरेको छ ।

विद्युत प्राधिकरणले प्रस्ताव गरेको यो दरमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म आयोजनाले मूल्यवृद्धि पाउनेछ । यो आयोजनाले सुख्खा याममा ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १७९०.३४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यो आयोजनाको सार्वजनिक सुनुवाई बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन हुने आयोगले जानकारी दिएको छ ।

यस्तै,यही कम्पनीले प्रवर्द्धन गर्ने २९६.७४ मेगावाटको तिला–२ जलविद्युत आयोजनाको पनि सार्वजनिक सुनुवाई हुने तय भएको आयोगले जनाएको छ । अर्धजलाशय प्रकृतिको यो आयोजनाको विद्युत पनि बर्खा याममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खा याममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ रुपैयाँ र नन–पिकिङ अवधिका लागि प्रतियुनिट ८.४० रुपैयाँ दरमा खरिद गर्ने प्रस्ताव विद्युत प्राधिकरणले आयोग समक्ष पेश गरेको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनीले विद्युतको यो दरमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ । यो आयोजनाले पनि सुख्खा याममा ६ घन्टा सम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नेछ ।अध्ययन अनुसार यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १७९०.१६ गिगागा घन्टा विद्युत उत्पादन गर्न सकिनेछ ।

यो आयोजनाको सार्वजनिक सुनुवाई दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने आयोगले जनाएको छ । तिला–१ र तिला–२ दुवै आयोजना कणार्ली प्रदेशको कालिकोट जिल्लाको तिला गुफा गाउँपालिका, महाबु गाउँपालिका र खाडाचक्र नगरपालिकामा पर्दछन् ।

यसैगरी, बुधबार नै जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत खरिद दर बर्खा याममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खा याममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ रुपैयाँ र नन–पिकिङ अवधिका लागि प्रतियुनिट ८.४० रुपैयाँ दिने प्रस्ताव सहितको आवेदन सुनुवाईका लागि आयोगमा पेश गरेको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनीले विद्युतको यो दरमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ । डोल्पाको मुड्केखोला गाउँपालिकामा अवस्थित यो आयोजनाले सुख्खा याममा ४ देखि ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ । आयोजनाको प्रवर्द्धक कम्पनीले उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएको छ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यो आयोजनाको सार्वजनिक सुनुवाई दिउँसो ३ बजेबाट सुरु भई साँझ ५ बजे सकिने आयोगले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा यी आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद–बिक्री दर निर्धारण तथा पिपिए सहमतिका लागि पेश भएको निवेदन उपर छलफल हुने आयोगले जनाएको छ । आयोगले सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युत उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, सञ्चार माध्यम, स्थानीय तहका प्रतिनिधि, तथा सम्बन्धित सबै सरोकारवालाहरूलाई सहभागिताका लागि आमन्त्रण गरेको छ ।

आयोगका अनुसार यी आयोजनासँग सम्बन्धित सरोकारवालाहरूले आयोगको कार्यालयमा लिखित रूपमा एवं आयोगको इमेल ठेगाना ([email protected]) मार्फत समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न सक्ने छन् ।


Read Previous

टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण माग   

Read Next

पर्यटकीय आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

Leave a Reply

Your email address will not be published.