काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) नेपालले ‘भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ’ भन्ने विषयमा विहीबार विज्ञहरुबीच छलफल गरेको छ । यस विषयमा यातायात विज्ञ डा.चन्द्रबहादुर श्रेष्ठ, भुकम्पसम्बन्धी विज्ञ डा. रेखा श्रेष्ठ, सहरी योजनाकार पद्म सुन्दर जोशी र प्रा.डा. हरिकृष्ण श्रेष्ठ छलफलमा सहभागी थिए । उनीहरुले प्राकृतिक तथा मानव निर्मित प्रकोप र दीगो पूर्वाधारको विषयमा आधारित रहेर आफ्ना धारणा राखेका थिए । उनीहरुले व्यक्त गरेका धारणाको मुख्य अंश यसप्रकार छ ।
डा.चन्द्रबहादुर श्रेष्ठ
पुर्ननिर्माण प्राधिकरणले क्षति मूल्यांकन गर्यो । नेपालले सिक्नको लागि त्यो महत्वपूर्ण रहेको छ । यो विषयलाई अब प्रदेश र स्थानीय सरकारले पनि अगाडी बढाएर लैजानुपर्ने आवश्यकता छ । हाम्रा वस्तीहरु अत्यन्त कमजोर छन् । त्यसमा पनि सुधार गर्नुपर्नेछ ।
जोखिम नियन्त्रण गर्ने विषयमा नेपालमा क्षेत्रगत प्राथमिकता रहेको छ । एकिकृत प्रयत्न रहेको छैन् । सडकको लागि सडक विभागले गर्ने, भवनको सहरी विकास तथा भवन निर्माण विभागले हेर्ने गरिएको छ । त्यसमा परिवर्तन गरिनुपर्छ ।
अहिले नेपालमा भौतिक पूर्वाधारमा पर्ने प्रकोपलाई हेर्ने र न्यूनिकरणको लागि धारिलो संस्था आवश्यक छ । प्रकोपलाई न्यूनीकरण गर्नको लागि जग्गा उपयोगको विषयलाई प्रमुखता दिनुपर्छ । जग्गा उपयोगलाई व्यवस्थित नगरी प्रकोप न्यूनिकरण गर्नुपर्नेछ ।
डा. रेखा श्रेष्ठ
प्रकोप प्रतिरोधी भवन निर्माण गर्नको लागि उपयुक्त ठाँउ छनौट गरिनुपर्छ । भवनलाई दीगो बनाउनको लागि सही ठाँउ छनौट महत्वपूर्ण हुन्छ । त्यस्तै, समुदायको पूर्वाधारसम्बन्धी नीतिगत व्यवस्थालाई मान्नुपर्छ ।
अझ स्थानीय तहमा समुदाय तहको व्यवस्थाहरुलाई पनि अपनाउनुपर्छ । यसबाहेक ठाउँअनुसार प्रविधिको प्रयोग फरकफरक हुन्छ । सहरी क्षेत्रमा एक प्रकारको प्रविधि प्रयोग हुन सक्छ । त्यस्तै ग्रामीण क्षेत्रमा अर्को किसिमको प्रविधिको प्रयोग हुन सक्छ । कतिपय प्रविधि परम्परागत पनि हुन सक्छ ।
जुन ठाउँ भए पनि त्या ठाउँमा उपयुक्त हुन सक्ने प्रविधिको प्रयोग गर्नुपर्छ । यति मात्र होइन, कुनै पनि संरचनालाई निर्माण गर्दा सुहाउँदो स्थानीय सामाग्रीको प्रयोग गरिनुपर्छ । यसबाहेक भवन संहिता र कोडहरुलाई लागु अपनाउनुपर्छ । त्यस्तै, अर्को महत्वपूर्ण विषय भनेको कुनै पनि संरचना निर्माण गर्दा गुणस्तरिय निर्माण सामाग्री, निर्माण कौशल आवश्यक पर्छ । अन्तमा निर्माणाधीन संरचनाको परिक्षण र अनुगमनको पनि आवश्यकता पर्छ ।
पद्म सुन्दर जोशी
प्रकोप प्रतिरोधी सहर निर्माण गर्ने हो भने व्यवस्थित ढल व्यवस्थापन आधारभूत विषय हो । कपनमा भएको ढल व्यवस्थित नगरेको कारण नै हरेक वर्ष समस्या आउने गरेको छ । त्यस्तै, जग्गा उपयोग र ढल व्यवस्थापनलाई उच्च प्राथमिकता दिनुपर्छ ।
काठमाडौ सहरका नेवार वस्तीमा रहेका पोखरीको काम नै ढल र डुबानलाई व्यवस्थापन गर्ने काम थियो । तर, ती पोखरी अहिले मासिदै गएका छन् । पहिले पोखरी भएकाले सहरी क्षेत्रलाई बचाएको थियो ।
अहिले पोखरी निर्माणको विषयलाई बेवास्ता गरिएको छ । यसले पानी रिचार्ज गर्न महत्वपूर्ण भुमिका खेल्छ ।
प्रा.डा. हरिकृष्ण श्रेष्ठ
केही बाहेक अधिकांश प्रकोप मानव निर्मित हुन् । नेपालमा शैक्षिक संस्थाले जलवायु परिवर्तनको विषयमा पनि अध्ययन थालिएको छ । सरकारले स्रोत नभए पनि अन्र्तराष्ट्रिय सहयोगमा गरिएका छन् । उदाहरणको लागि जलवायु परिवर्तनकै कारण माथिल्लो मुस्ताङको वस्ती सार्नुपर्ने विषय अध्ययनले देखाएर गरिएको हो ।
व्यवसायिक व्यक्तिहरुले पनि तोकिएको मापदण्डअनुसार काम नगर्दा वा गलत रुपमा प्रयोग गर्दा पूर्वाधार दीगो हुन सकेको छैन् । त्यो गलत अभ्याससमेत रहेको छ । पूर्वाधारको नयाँ निर्माणमा सबैको चासो छ । तर पुरानो वा निर्माण भइसकेका पूर्वाधारलाई मर्मत गर्नेमा कसैको पनि चासो छैन् । यो गलत छ । यसमा सुधार ल्याउनु पर्छ । मर्मत गर्यो भने मात्र दीगो हुन्छ ।
एक पटक निर्माण गर्ने र त्यसको हेरचाह नगर्ने हो भने त्यो संरचना दीगो हुदैन । अर्को महत्वपूर्ण विषय भनेको हामीले विद्यार्थीलाई डिजाइन मात्र सिकाउछौं । तर, त्यो डिजाइन गरिएको योजनाले प्रभाव पार्ने मानिसबारे सोच्दैनौ, कुराकानी नै हुदैन । यसलाई अबका दिनमा प्राथमिकता दिनुपर्छ ।