तनहुँ(रासस) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले बिजुलीबाट चल्ने स्वचालित घन बनाएका छन् । उनले आरनमा फलामकाे काम गर्दा मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका हुन् ।
विश्वकर्माले स्वचालित विद्युतीय घन बनाएपछि अहिले गाउँमा उनकाे परिचय फेरिएको छ । फलामलाई आकार दिन घन हान्न दैनिक अर्काे व्यक्ति सहयाेगी चाहिने हुँदा त्यसकाे विकल्पमा स्वचालित विद्युतीय घन बनाएको उनले बताए ।
“फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो”, आरनमा घरेलु औजार बनाउँदै गरेका उनले भने, “दिन रात उपाय खोजें र विकल्पमा यो मेसिन बनाएकाे हुँ ।” मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेका छन् ।
मेसिन बनाउन करिब ३० हजार रुपैयाँ बराबरकाे सामान खरिद गरेको उनले बताए। युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको पनि उनले बताए । फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आएका छन् ।
करिब ५० हजार रुपैयाँ खर्च गर्नसके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउनसक्ने क्षमता आफूसँग भएको उनले बताए । कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ ।
खुट्टाले थिचेपछि स्वचालित घनले दवाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत महसुल उठ्ने गरेको उनकाे भनाइ छ ।
चितवन पदमपुर घर भई हाल घुमाउनेघाट बस्दै आएका विश्वकर्माले आरन दर्ता गरेका छैनन् । आरान दर्ता गर्ने प्रक्रियाबारे आफूलाई केही थाहा नभएको उनले बताए । जीवन निर्वाहका लागि मात्र आफुले आरान सञ्चालन गरेको उनले बताए ।
करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउने गर्दै आएका विश्वकर्माले घरायसी हतियार अरचापेको (धार लगाएको) ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म लिने गरेका छन् । नयाँ घरेलु हतियारको प्रकारअनुसार ४ सय रुपैयाँदेखिमाथि पर्ने विश्वकर्माले बताए ।
आफूले घरेलु हतियारको अलावा ट्र्याक्टरको डिब्बालगायत लेथका कामसमेत गर्नसक्ने उनले बताए । ठूलो ग्रिल कारखाना सञ्चालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा त्यो पूरा गर्न नसकेको उनकाे भनाइ छ ।
“ठूलो ग्रिल उद्योग सञ्चालन गर्न आर्थिक अवस्था कमजोर हुँदा सकिन ” उनले भने । उनले आरनको कमाइबाट परिवारकाे दैनिक जर्गो टार्दै आएका छन् ।विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर आफूहरुले घुमाउने घाटमा आरान राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ ।
आफूहरूले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्न परे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताइन् । घुमाउने, साराङघाट, मास्दीघाटलगायतका ६/७ गाउँका बासिन्दाले उनकाे आरनबाट सेवा लिँदै आएका छन् ।