Nepal Purbadhar

आइतवार, अशोज १६, २०७९
Sunday, October 2, 2022

आइतवार, अशोज १६, २०७९
Sunday, October 2, 2022

मिस्ट्री, लिखु ‘ए’, सोलु र चिलिमेको १११ मेगावाट विद्युत निर्यात गर्न भारत समक्ष प्रस्ताव


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बर्खामा बढी भएको थप १११ मेगावाट विद्युत भारतीय बजारमा निर्यातको प्रस्ताव गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको ४ जलविद्युत केन्द्रको बर्खाको थप विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको हो ।

अहिले सञ्चालनमा रहेका ४ जलविद्युतगृहबाट उत्पादित विद्युत आइएक्सको डे–अहेड बजारमा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित ४२ मेगावाटको मिस्ट्री खोला, २४.२ मेगावाटको लिखु खोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिम जलविद्युत केन्द्रको १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरेको छ । प्राधिकरणका अनुसार केन्द्रीय विद्युत प्राधिकरणले अनुमति दिएपछि थप विद्युत निर्यातको बाटो खुल्ने छ ।

बिहार राज्यसँग विद्युत आदान–प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी बर्खामा बचत भएको विद्युत उत्तर बिहार पावर वितरण कम्पनी बाहेका निकायहरूलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायसँग आवश्यक परामर्श भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘हामीले थप विद्युत निर्यातको अनुमतिका लागि भारतलाई प्रस्ताव पठाएका छौं,’ उनले भने,‘हाम्रो प्रस्ताव चाँडै स्वीकृत हुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।’

भारतको केन्द्रीय विद्युत प्रणाली अन्तर्गत दैनिक विद्युत बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।

विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।

प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय (नोडल एजेन्सी) एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन) ले गर्छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

आर्थिक वर्षको पहिलो महिनामा करिब २ अर्बको विद्युत निर्यात

चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो महिनामा करिब २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गर्न सम्भव भएको हो । विद्युत निर्यातबाट साउन महिनामा दैनिक औसत ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बर्खामा विद्युत गत १९ जेठ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो ।

२७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

गत आव २०७८/७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो ।

योसँगै बर्खाको बढी भएको विद्युत भारतीय बजारमा प्रतिश्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक घिसिङले बताए ।‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुकासाथै देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ’, उनले भने, ‘यसले दुई मुलुकबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ ।’

उनले मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक भएको बताए । प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले बिशेष सेवा र सुविधा प्राप्त गर्ने ब्यवस्था मिलाउने पनि उनले बताए ।


Read Previous

‘प्रसारण लाइन बनाउन स्थानीयलाई फाइदा बाँडफाँड र अपनत्वको विकास’

Read Next

डोलीका इञ्जिनियरलाई सहरी विकासअन्तर्गत राख्ने सरकारी निर्णयले विरोध चर्कदै

Leave a Reply

Your email address will not be published.