Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

रेमिट्यान्सबाट देशमा भित्रिने पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने समय आयाे: अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा रेमिट्यान्सबाट भित्रने रकम अब उत्पादनमुलक क्षेत्रमा लगानी गनुपर्ने समय आएको बताएका छन् । आइएमई समूह अन्तर्गतको मनी ट्रान्सफमरको क्षेत्रमा योगदान गर्दै आइरहेको आइएमई लिमिटेडको २२औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले अहिलेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीले रेमिट्यान्समार्फत पठाएको रकम घरायसी कामकाजका लागि खर्च भइरहेकाले अब रेमिट्यान्सको केही हिस्सा ठूला पूर्वाधार आयोजनामा लगानी गरी देशलाई आर्थिकरूपमा सबल बनाइ रोजजारीको अवसर सिर्जना गर्न सकिनेमा उनले जोड दिए । उनले युवाहरू वैदेशिक रोजगारीमा गएका कारण नै आज नेपालीको खर्च गर्ने क्षमता बढेको पनि बताए ।

‘रेमिट्यान्सले ग्रामिण जनताको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा सहयोग मिलिरहेको छ’, उनले भने, ‘देशमा रेमिट्यान्स भित्र्याउने कम्पनीहरूले अहिले हुण्डीबाट आइरहेको रकमलाई पनि बैधानिक बाटोबाट ल्याउन रोजगारीमा गएकाहरूलाई प्रोत्साहन गर्नुपर्छ ।’ उनले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताए ।

बैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको भूमिका महत्त्वपूर्ण भएको बताउँदै शर्माले आर्थिक बर्ष २०७९/८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा नेपालमा भित्र्याउन धेरै विषयको सम्बोधन गरेको दाबी गरे । उनले वैदेशिक रोजगारीमा जाने युवाका लागि मोबाइल बैंकिङबाट आफैंले सिधै नेपालको बैंक खातामा पैसा पठाउन मिल्ने प्रविधि लागु गरिनु पर्नेमा पनि शर्माले जोड दिए ।

‘बजेटले रेमिट्यान्सको पैसा देशमा भित्र्याउने उद्देश्य मात्रै राखेको छैन । अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई १ कदम अघि बढेर विशेष बिदेशी मुद्रा भित्र्याउने नीति लिएको छ । हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने भन्ने हो’ उनले भने ।

आगामी आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितिकरणबाट समावेशीतातर्फको प्रस्थान भएकाले मुलुकको वर्तमान आर्थिक अवस्थालाई बिस्तारै समाधान गरी अघि बढ्ने पनि उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले वैदेशिक रोजगारीबाट आर्जन भएको विदेशी मुद्रा भित्र्याउने संस्कृतिको रुपान्तरण गरेको बताए । उनले नागरिकको पहिलो एवं महत्त्वपूर्ण आवश्यकता भनेको गाँस, बास र कपास भएको र सोही कारणले रेमिट्यान्सको बढी रकम अन–उत्पादक क्षेत्रमा खर्च हुनु स्वभाविक भएको बताए ।

उनले आगामी दिनमा रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको बताए । ‘अहिले श्रम बेचेर पैसा कमाइरहेको अवस्थालाई परिवर्तन गरी आगामी आवको बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य लिएका छ’ उनले भने । आइएमई लिमिटेडले अइतबार स्थापना कालको २२औं वर्ष पूरा गरेको छ ।


Read Previous

सरकार विद्युतीय सवारीसाधन प्रयोग प्रोत्साहित गर्न चाहान्छ कि निरुत्साहित ?

Read Next

एउटा कोठाबाट सुरुवात भएको आइएमई लिमिटेड २२औं वर्षमा, ४० हजार बढीलाई रोजगारीको अवसर

Leave a Reply

Your email address will not be published.