Nepal Purbadhar

३० वर्ष पुराना जीर्ण अवस्थाका १४ विद्युतीय पोल नारायणी पुलबाट हटाइयो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जीर्ण अवस्थामा पुगेका ३० वर्ष पुराना १४ वटा विद्युतीय पोल नारायणी पुलबाट हटाएको छ । प्राधिकरण भरतपुर वितरण केन्द्रले जीर्ण अवस्थाका पोल ढलेर दुर्घटना निम्तने अवस्था आएपछि पुल पसिरबाट हटाएको हो ।

ठूलो संख्यामा कामदार खटाएर जीर्ण अवस्थाका फलामका विद्युतीय पोल काटेर निकालिएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । ‘पुरानो लाइनका विद्युतीय पोलहरू कतै ढलेका र कतै ढल्ने अवस्थामा पुगेका रहेछन्,’ उनले भने, ‘भोलिको दिनमा कुनै दुर्घटना ननिम्तियोस् भनेर २ वटा क्रेनको सहायतामा हटाएका छौं ।’

उनले यो जिम्मेवारी आफ्नो कार्यालय मातहतमा नआउने भए पनि महानगरबासीको सुरक्षालाई ध्यानमा राखेर सबै पोलहरू पुल परिसरबाट हटाइएको बताए । यो क्षेत्र प्राधिकरणको कावासोती वितरण केन्द्र अन्तर्गत पर्छ ।

यी सबै सडक बत्तीका विद्युतीय पोल भएको र अहिले सञ्चालनमा नरहेको उनले बताए । सडकको विद्युतीकरणका लागि महानगरपालिकाले वर्षौअघि यी पोलहरू गाडेको थियो ।

‘विद्युतको काम भनेपछि प्राधिकरणको जिम्मेवारीभित्र पर्ने काम भनेर बुझिन्छ । कावासोतीको क्षेत्रमा पर्ने भए पनि दुवै वितरण केन्द्र प्राधिकरणकै हुन् । त्यसकारण सामाजिक उत्तरदायित्व बहन गरी पोल हटाउने कामलाई जिम्मेवारी सम्झेर बहन गरेका हौं’ उनले भने ।

हावाहुरीले क्षतिग्रस्त पोल बदली गरी आपूर्ति नियमित

वितरण केन्द्रले गत जेठ ५ गते आएको भीषण हावाहुरीले क्षतिग्रस्त विद्युतीय पोल बदली गरी विद्युत आपूर्ति नियमित गरेको छ । हावाहुरीले भरतपुर क्षेत्रका २४० विद्युतीय पोलमा क्षति पुर्याएकोमा ढलेका पोल सबै बदली गरिएको सिंहले जानकारी दिए ।

उनका अनुसार चर्किएर ढल्ने अवस्थामा पुगेका जोखिमयुक्त पोलहरू पनि बदल्ने कार्य भएरहेको छ । पोल फेर्नेक्रममा २ सय बढी विद्युत मिटरमा क्षति पुगेकाले सबै मिटर निशुल्क बदली गरिएको पनि सिंहले बताए ।

अहिले भरतपुरका विभिन्न स्थानमा अवरुद्ध भएको विद्युत आपूर्ति नियमित भइसकेको छ । महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले हावाहुरीले क्षतिग्रस्त पोल तथा विद्युत मिटरको अवलोकन गरी चाँडो बदली गरी आपूर्ति सुचारु गर्न वितरण केन्द्रलाई निर्देशन दिएकी थिइन् ।


Read Previous

सिँचाइतर्फ साढे ३३ अर्ब बजेट, कुन आयोजनाले कति पाए ?

Read Next

माथिल्लो सानीगाडकाे बाँध क्षेत्रका संरचना परीक्षण