काठमाडौं । सरकारले देशमै उत्पादित जलविद्युतको उपयोग हुने गरी हरित हाइड्रोजन तथा हरित एमाेनिया उत्पादन गर्ने घाेषणा गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेटमार्फत हरित हाइड्रोजनको प्रवर्द्धन गरी हरित एमोनिया उत्पादन गरिने घोषणा गरेका हुन् ।
उनले हरित हाइड्रोजन र एमोनियाको उपयोग गरी रसायनिक मल उद्योग स्थापना गर्न लगानी बोर्ड नेपालमार्फत कार्य अगाडि बढाइने पनि बताए । कृषिजन्य उत्पादन बढाउन देशमै रसायनिक मल उद्याेग स्थापना गर्न बजेटले हरित हाइड्राेजन र एमाेनिया उत्पादनलाई प्राथमिकतामा राखेकाे हाे ।
मुलुक जलविद्युत उत्पादनमा आत्मनिर्भर बन्दै गइरहेकाले नवीकरणीय ऊर्जाको उपयोगबाट हरित हाइड्रोजन उत्पादन गरी इन्धनकोरूपमा उपयोग गर्ने सकिने काठमाडौं विश्व विद्यालयले गरेको अध्ययनले देखाएको छ ।
मन्त्री शमाले आगामी आर्थिक वर्षको बजेटमा जलविद्युत उत्पादन, प्रसारण लाइन निर्माण र विद्युतीकरणलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको पनि बताए ।