
DCIM105MEDIADJI_0040.JPG
पोखरा। स्थानीयको पटकपटकको दबाबपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड चार लेनमा विस्तार भएको छ। चार वर्ष लगाएर स्तरोन्नति गरिएको सडक फराकिलो पारेर कालोपत्रे तथा लाइन मार्किङ गरिएपछि अहिले आकर्षक देखिएको छ।
भूपी शेरचन राजमार्गअन्तर्गत पर्ने २.२ किलोमिटर लामो यो सडकखण्ड मध्यपहाडी लोकमार्गअन्तर्गतसमेत पर्छ। निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीसँगै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आवतजावत गर्ने यात्रुले लामो समय सास्ती भोग्नुपरेको थियो।

निर्माणमा ढिलाइ भएपछि २०८१ साल असार १५ गते राष्ट्रिय धान दिवसका दिन स्थानीयवासीले सडकमा धान रोपेर विरोधसमेत गरेका थिए।
मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले २०७९ साउन १४ गते ४८ करोड रुपैयाँमा सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि तीनपटक म्याद थप भएपछि यस वर्ष काम सम्पन्न भएको हो।

२०८१ साउनसम्म निर्माण सम्पन्न हुन नसकेपछि पहिलोपटक सोही वर्ष चैत मसान्तसम्म म्याद थप गरिएको थियो। त्यसपछि ठेकेदार कम्पनीलाई २०८३ वैशाख मसान्तसम्मको अन्तिम समयावधि दिइएको थियो।
कालोपत्रे तथा सडकमा लाइन मार्किङको काम सम्पन्न भएपछि हरिचोक–याम्दी सडकखण्ड अहिले फराकिलो र व्यवस्थित देखिएको छ।








तस्बिरहरू:नेपाल फोटो लाइब्रेरी
