
काठमाडौं । हालको आन्दोलनका क्रममा उत्पन्न परिस्थिति नियन्त्रण गर्न नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
सेनाले जारी गरेको विज्ञप्तिमा अत्यावश्यक सेवाका सवारी साधनहरू—एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन—सञ्चालन हुने स्पष्ट गरिएको छ। यस्ता सवारीसाधन सञ्चालनका लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ।
सेनाले आन्दोलनका नाममा भइरहेको तोडफोड, लुटपाट, आगजनी, सार्वजनिक सम्पत्ति र व्यक्तिगत सम्पत्तिमा आक्रमणजस्ता गतिविधि आपराधिक ठहरिने चेतावनी दिंदै संलग्नहरूमाथि कडा कारबाही हुने जनाएको छ।
विपन्न परिस्थिति शान्त गर्न सुरक्षाकर्मीहरूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै सेनाले आम नागरिकमा शान्ति, राष्ट्र एकता र सामाजिक सद्भाव कायम राख्न सघाउन अपिल गरेको छ।
यस्तै, शान्ति–सुरक्षा स्थिति मध्यनजर गर्दै लागू गरिएको निषेधाज्ञा २५ भदौ राति १२ बजेदेखि २६ भदौ बिहान ६ बजेसम्म निरन्तर जारी रहने र त्यसपश्चात कर्फ्यू आदेश लागू हुने जनाइएको छ।
नेपाली सेनाले “जस्तोसुकै परिस्थिति आए पनि मुलुकको सुरक्षा र मानवीय सुरक्षामा आफ्नो दायित्व पूरा गर्ने” प्रतिबद्धता दोहोर्याएको छ।

