
काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरुका माग समावेश नगरिएको भन्दै निजि विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन्।

विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आआफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए । उनीहरुले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका छन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिएको भए पनि शिक्षकहरु नै ब्यानर टेक्दै हिँडेका थिए ।

नयाँ बानेश्वर चोकसम्म र्याली निकाली पुन: माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने जानकारी दिइएको छ।

प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा नीजि विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्राबधान र निजी सञ्चालकमा रहेका विद्यालयलाई क्रमशः गैर–नाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।

यस्ता छन् निजी विद्यालय सञ्चालकहरुको माग
(१) “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने ।
(२) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना – खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
(३) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।
(४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
(५) छात्रवृत्ति सम्वन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान – जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी