Nepal Purbadhar

गोल्डस्टार जुत्ता बनाउने किरण सुजले ६ महिनामा गर्‍यो ७९ करोड ६० लाखको व्यापार


काठमाडौं । झन्डै पाँच दशक लामो इतिहास बोकेको जुत्ता उत्पादक कम्पनी किरण सुज म्यानुफ्याक्चरर प्रालिले ६ महिनामा ७९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले २०२५ को ६ महिनामा ७९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कम्पनीले ६ महिनामा गरेको व्यापारमा गिरावट आएको छ । २०२४ मा कम्पनीले वर्षभरिमा २ अर्ब २२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यसअघिका वर्षहरुमा कम्पनीको व्यापार हेर्दा २०२२ मा २ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार भएको थियो भने २०२३ मा कम्पनीले २ अर्ब १५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापारमा गिरावट आउनुको मुख्य कारण भारत सरकारले लागु गरेको बिआइएस रहेको रेटिङ विवरणमा उल्लेख छ । केयर रेटिङ नेपालले तयार गरेको उक्त विवरणमा भारत सरकारले भारतमा बिक्री हुने जुत्ताहरुका लागि हालसालै लागु गरेको बिआइएस (ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड) प्रमाणपत्रको अनिवार्य गरेपछि केही महिना निर्यात रोकिएको थियो । गोल्डस्टारको मुख्य बजार भारतमा रहेको छ । भारतीयको फरिदाबादमा दर्ता रहेको कम्पनी गोल्डस्टार फुटवेयर प्रालिमार्फत कम्पनीले भारतीय बजारमा पनि आफ्नो राम्रो पकड बनाएको छ । यद्यपी भारतीय नीतिमा आएको परिवर्तनका कारण पछिल्लो केही समययता भने कम्पनीको व्यापारमा केही गिरावट आएको हो ।

कम्पनीको व्यापारमा केही अन्तर भएतापनि कम्पनीको मार्जिन भने स्थिर नै रहेको छ । कम्पनीको इबिआइटिडिए मार्जिन (मूल्यह्रास, ब्याज, कर र अमूर्त सम्पत्तिको मूल्यह्रास अघि को सञ्चालन नाफा) २०२२ मा १२.४८ प्रतिशत कायम भएको थियो । २०२३ मा १८.९९ प्रतिशत मार्जिन कायम भएकोमा २०२४ मा २२.१० प्रतिशत मार्जिन कायम भएको थियो ।

२०२५ को सुरुवाती ६ महिनामा भने कम्पनीको मार्जिन २२.४४ प्रतिशत कायम भएको छ ।

झन्डै पाँच दशकअघि १९७० को दशकमा सुरु भएको यो कम्पनी २०२३ मा किरण सुज म्यानुफ्याक्चरर प्रालिका रुपमा परिवर्तन भएको थियो । यो कम्पनीले वर्षेनी १ करोड ६६ लाख ५० हजार जोडी जुत्ताको उत्पादन गर्दै आएको छ, जसमा विभिन्न ब्रान्डका जुत्ताहरु पर्छन् । कम्पनीले बढि मात्रामा भने गोल्डस्टार ब्रान्ड नाममा जुत्ताको उत्पादन तथा बिक्री गर्दै आएको छ । २०२५ मा कम्पनीले नेपालभरमा ६० वटा डिलरसहितको वितरण प्रणाली बनाएको थियो ।

काठमाडौंस्थित चप्पलकारखाना, बालाजु र भैरहवामा उत्पादन कारखाना रहेको यो कम्पनी व्यवसायिक समूह युनिभर्सल ग्रुपको भागका रुपमा रहेको छ । कम्पनीको अधिकतम सेयर (२८ प्रतिशत) अमिर प्रताप जेबि रानासँग रहेको छ, जो कम्पनीका अध्यक्ष समेत हुन् । कम्पनीका कार्यकारी निर्देशकका रुपमा विधुशी राना रहेकी छिन् ।

हालका लागि यो कम्पनीले ४ अर्ब रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । कुल रकममध्ये रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १ अर्ब ७९ करोड ६५ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस, १ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर र ५६ करोड ८२ लाख रुपैयाँको दीर्घकालिन तथा अल्पकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र ए फोर रेटिङ दिएको छ ।

Facebook Comments

Read Previous

याक ब्रुअरीको १० महिनाको व्यापार १ अर्ब ६७ करोड

Read Next

मन्त्री दाहालसँग जापानी राजदूत मायदाको भेट

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar