
काठमाडौं । नेपाल-चीन वैदेशिक व्यापारको मुख्य नाका रसुवागढी बाढीका कारण क्षतविक्षत भएको छ । नेपाल-चीन सिमाना भएर बग्ने रसुवाको ल्हेन्देखोलामा आकस्मात आएको बाढीका कारण भन्सार बिन्दुमा निर्माणाधिन रहेको सुक्खा बन्दरगाहमा पनि बाढीले क्षति पुर्याएको छ । उक्त सुक्खा बन्दरगाह २ अर्ब १६ करोड रुपैयाँमा निर्माण भइरहेको थियो ।
बाढीका कारण नेपाल र चीनलाई जोड्ने मितेरी पुल ध्वस्त भएको छ । २०७६ सालदेखि सञ्चालनमा आएको उक्त पुल नेपाल र चीन व्यापारका लागि एउटा महत्वपुर्ण पूर्वाधारका बनेको थियो ।
बन्दरगाहको निर्माणमा खटिएका ८ जना नेपाली र ६ जना कामदारहरु सम्पर्कविहिन भएका छन् । मानवीय क्षतिका साथै बन्दरगाहको भौतिक पूर्वाधारमा पनि बाढीले क्षति पुर्याउँदा यसले नेपाल र चीनबीच भइरहेको वैदेशिक व्यापारमा पनि प्रभाव पार्ने देखिएको छ ।
रसुवागढी भन्सारबाट पछिल्ला वर्षहरुमा चीनबाट नेपाल आउने अधिकांश वस्तुहरु आयात भइरहेका थिए भने त्यहाँबाट निर्यात पनि बढिरहेको थियो । यद्यपी बाढीका कारण रसुवागढी भन्सारमा क्षति पुग्दा भने अब चीनसँगको व्यापारमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न उठेको छ । अस्थायी रुपमा सञ्चालन गर्न समेत ५/६ महिना अघि मुश्किल पर्ने सरकारी निकायको भनाई छ । सरकार चिनियाँ पक्षको मुख ताकेर बसेको छ ।
पाँच वर्षमा रसुवा हुँदै २ खर्बको सामान आयात
नेपाल र चीनबीचको वैदेशिक व्यापारका मूख्य दुई भन्सार बिन्दुहरु छन् । एउटा रसुवागढी र अर्को तातोपानी नाका ।
पछिल्ला वर्षहरुमा नेपाल र चीनबीचको व्यापारमा बृद्धि भइरहँदा प्रत्यक्ष भन्सार बिन्दुका रुपमा रहेका यी दुवै भन्सार विन्दुबाट हुने वैदेशिक व्यापारमा बृद्धि भइरहेको थियो । तातोपानी नाकाको तुलनामा रसुवागढी भन्सार बिन्दुबाट धेरै सामानहरुको आयात तथा निर्यात भइरहेको छ ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने रसुवागढी भन्सार बिन्दुबाट २ खर्ब १५ अर्ब ६० करोड ९८ लाख ७६ हजार रुपैयाँ आयात मूल्य बराबरको सामान यहाँबाट नेपाल भित्रिएको छ । त्यस्तै, पाँच वर्षमा निर्यात हेर्दा ४ अर्ब ८९ करोड ३७ लाख ३१ हजार रुपैयाँ निर्यात मूल्य बराबरको सामान रसुवागढी भन्सार हुँदै निर्यात भएको छ ।
यता तातोपानी नाकाबाट भने पाँच वर्षमा १ खर्ब २० अर्ब ३१ करोड ९९ लाख ९४ हजार रुपैयाँ आयात मूल्य बराबरको सामान आयात भएको छ । पाँच वर्षमा तातोपानी नाकाबाट निर्यात भने १ करोड ५२ लाख ३६ हजार रुपैयाँ निर्यात मूल्य बराबरको वस्तु निर्यात भएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ जेठसम्मको वैदेशिक व्यापार तथ्यांक हेर्दा रसुवाबाट ८० अर्ब ९१ करोड ४८ लाख २३ हजार आयात मूल्य बराबरको वस्तु आयात भएका छन् । देशको कूल आयातको तुलनामा रसुवाबाट भएको आयात ४.९२ प्रतिशत रहेको छ ।
त्यस्तै, यहाँबाट चालु आवको जेठ मशान्तसम्म रसुवाभन्सारबाट १ अर्ब ९६ करोड १४ लाख ३ हजार रुपैयाँ बराबर निर्यात मूल्यको सामान बाहिरिएको छ । देशको कुल निर्यातको यो ०.७९ प्रतिशत हो ।
के अब चीनसँगको व्यापार तातोपानीबाट होला ?
रसुवागढी भन्सार बिन्दुमा क्षति पुगेसँगै चीनसँगै वैदेशिक व्यापार अब सिन्धुपाल्चोकको तातोपानी नाकातर्फ प्रतिस्थापन हुने धेरैको आकंलन छ ।
२०७२ सालमा आएको भूकम्पका कारण तातोपानी नाकामा रहेको पूर्वाधारमा ठूलो क्षति भएको थियो । २०८० मा भने भुकम्पका कारण क्षति भएको पूर्वाधारलाई निर्माण गरेर तातोपानी नाकालाई पनि पुर्ण रुपमा सञ्चालनमा ल्याइएको थियो ।
मंगलबार आएको बाढीका कारण रसुवागढी भन्सार नाकास्थित नेपाल र चीन जोड्ने मितेरी पुल भत्किएको छ । पुलको निर्माण नहुँदासम्म र त्यहाँ रहेको बन्दरगाहलाई सञ्चालनयोग्य नबनाउँदासम्म तत्कालै रसुवागढी भन्सार बिन्दुबाट आयात निर्यात हुने अवस्था छैन । जसका कारण चीनसँगको नेपालको वैदेशिक व्यापार अब तातोपानी नाकाबाट हुने धेरैले आकंलन गरेका छन् ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलकाअनुसार रसुवागढी भन्सार र बन्दरगाहमा बाढीका कारण भएको क्षति पुगेका पूर्वाधार पुन: नबन्दासम्म यो नाका तत्कालै सुचारु हुने अवस्था छैन । तत्कालै यो नाका सुचारु नहुँदा व्यापार तातोपानीतर्फ जाने उनले बताएका छन् ।
‘नाका सूचारु नहुँदा सम्म व्यापार तातोपानीतर्फ जान्छ,’ उनले भने, ‘त्यो मितेरी पुल तुरुन्त बन्ला । सडक पनि धेरै बिग्रिएका छन् । त्यो पनि तुरुन्तै बन्ला भन्ने हो । यी पूर्वाधार नबन्दासम्म आयातमा समस्या भइहाल्छ ।’
गजुरेल ट्रान्जिटमा भएका सवारी र सामानलाई कसरी ल्याउने भन्ने अहिलेको मूख्य प्रश्न भएको बताउँछन् । चीनतर्फबाट नेपाल आउनका लागि भनेर छुटेका सवारी साधन तथा अन्य वस्तुहरुलाई हालका लागि नेपाल ल्याउने विषयमा ध्यान पुर्याउनुपर्ने उनले बताए । उनी भन्छन्, ‘केरुङ हुँदै रसुवा आउने सवारीलाई तातोपानी हुँदै ल्याउन सकिन्छ । त्यतातर्फबाट ट्रान्जिटमा भएका वस्तुहरु ल्याउन सकिएमा तत्कालका लागि समस्या समाधान हुन्छ ।’
रसुवाबाट हुने व्यापारलाई हालका लागि तातोपानीतर्फ लैजाने भनिएतापनि तातोपानी नाकाबाट नेपालतर्फ बाटो पनि पूर्णरुपमा ठीक भने छैन् । त्यहाँ ड्राइपोर्ट रसुवाको तुलनामा व्यवस्थित त छ । तर, त्यहाँबाट नेपाल भित्रिसकेपछिको बाटोमा भने समस्या छ । गजुरेल भन्छन्, ‘चीनबाट नेपाल नाकासम्म आउने बाटो दुव तिर उस्तै छ । ड्राइपोर्टबाट हाम्रोसम्म आउने बाटोमा अलिक समस्या हो । तथापी हालका लागि यहि नै उत्तम विकल्प हुन्छ ।’
तातोपानी नाका हुँदै आउने भरपर्दो सडक छैन् । सरकारले १० वर्षदेखि चिनियाँहरुको मुख ताकेर बसेको छ । चीनबाट नेपाल ठूलो मात्रा रेडिमेट कपडाहरु आउने गर्छ । अघिल्ला वर्षहरु साउनदेखि व्यापारीहरुले दशैका लागि भन्दै चीनबाट कपडाहरु ल्याउने गर्थे । नेपालमा दशै तिहार जस्ता पर्वहरुमा नयाँ कपडा किन्ने चलन छ । यो पटकको दशैमा नेपाली बजारमा कपडाको मूल्य बढ्ने निश्चित छ । भने नाडा अटो शो र नाइमा अटो शो समेत प्रभावित हुने देखिन्छ । चीनबाट नेपालमा ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात हुने गर्छ । अटो शोमा ८० प्रतिशतभन्दा बढी ईभीहरु प्रदर्शनीमा राखिन्छ । जसमा चिनियाँ ईभीको वर्चस्व हुने गर्छ ।
यो पटक नाडा र नाइमा दुवैले आधिकारीक रुपमा अटो शो प्रभावित हुने आधिकारीक धारणा सार्वजनिक गरिसकेका छन् ।