
काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह विद्युतीय सवारीसाधन (ईभी) ले भरिएका छन् ।
विद्युतीय सवारीसाधन कर बढ्ने हल्लाले ईभी आयातकर्ताले ठूलो संख्यामा गाडीहरु ल्याएसँगै बन्दरगाह ईभीले भरिएको हो । सुक्खा बन्दरगाहमा राख्ने ठाउँ नै नभएर फर्काउनु पर्ने अवस्था भएको छ ।

अर्थ मन्त्रालयले ईभीमा ३० प्रतिशतसम्म कर बढाउने तयारी गरेको हल्ला बजारमा फैलिएपछि ईभी आयात बढेको हो । सरकारले ईभीमा सहुलियत दिएका कारण वर्षेनी १ खर्ब रुपैयाँ बढी राजस्व गुमाइरहेको अर्थ मन्त्रालयको निष्कर्ष छ । सोही कारण ईभीमा कर बढाउने तयारीमा सरकार छ ।
नेपालमा ईभीको पेनिट्रेसन ७० प्रतिशतभन्दा बढी छ । सोही कारण आयातकर्ता कम्पनीहरुले आगामी वर्षभरीलाई पुग्ने गरी गाडीहरु भित्र्याइरहेका छन् ।
सयौंको संख्यामा विद्युतीय गाडी भन्सार जाँचपासका लागि आइपुगेका छन् । विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा यहाँ आइपुगेका हुन् । यी गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।

बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् । पछिल्लो महिना वैशाखमा मात्र करिब १९ सय विद्युतीय गाडी आयात भएको बताइएको छ । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।
अहिले सडकमा विद्युतीय गाडीको संख्या उल्लेख्य रुपमा बढेको छ । सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको हो । नयाँ गाडी किन्ने मात्र नभई गाडी अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ ।

बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरुले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभीमा खासगरी चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीहरुले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

