काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिका भएर बहने तमोर नदीमा निर्माण हुने २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण लगानी जुटेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा ८ वटा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ६० करोड रूपैयाँ बराबरको ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममा आयोजनाको प्रवद्र्धक तमोर इनर्जी प्रालि र ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरूबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा प्रवद्र्धक कम्पनीकोतर्फबाट अध्यक्ष पुष्पज्योति ढुंगाना र ऋण लगानीको अगुवाई गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरे ।
आयोजनामा कृषि विकास बैंक र हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सह–अगुवाई गर्दैछन् । राष्ट्रिय बाणिज्य,प्रभु,लक्ष्मी सनराइज,नेपाल एसविआई र गरिमा विकास बैंकले पनि यो आयोजनमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
माथिल्लो तमोर आयोजना निर्माण गर्न ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाले गर्ने लगानी कूल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत हुन आउने १६ अर्ब ५५ करोड रुपैयाँ प्रबद्र्धक कम्पनीले स्वपुँजी लगानी गर्नेछ । अनुमानित लागत निर्माण अवधिको ब्याजसहितको हो । यो नै निजी क्षेत्रले स्वदेशी पुँजी जुटाएर निर्माणमा लैजान लागेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवर्धक कम्पनीका अध्यक्ष ढुंगानाले निजी क्षेत्रको अहिलेसम्मकै ठूलो आयोजना स्वदेशी पुँजी जुटाएर अघि बढाउन लागेको बताए । उनले स्थानीयवासीको साथ र सहयोगमा आयोजना निर्धारित समय र लागतभित्रै नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको निजी क्षेत्रले स्वदेशी पुँजी लगानी र डिजाइनमा ठूला जलविद्युत आयोजना बनाउन सक्छ भन्ने साहस बैंकहरूको लगानी प्रतिबद्धताले बढाएको पनि उनले बताए । उनले स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाह गर्ने क्षमता बढ्दै गएकाले नै आज नेपाली निजी क्षेत्रले माथिल्लो तमोर आयोजना अगाडि बढाउन सकेको उनले बताए ।
उनले यसअघि निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको आम्दानीबाट ३ अर्ब १५ करोड रुपैयाँ स्वपुँजीको रुपमा माथिल्लो तमोरमा लगानी हुने बताए ।
प्रवद्र्धक कम्पनीले ताप्लेजुङमा माथिल्लो तमोरसँगै ५९ मेगावाटका अन्य २ आयोजना पनि निर्माण गर्न लागेको उनको भनाई छ । ‘३ वटै जलविद्युत आयोजना निर्माण हुँदा ताप्लेजुङबासीले करिब ३५ मेगावाट जतिको सेयर स्वामित्व पाउने छन्,’ उनले भने,‘यसबाट आयोजनाप्रति जिल्लाबासीको अपनत्व बढ्नेछ ।’ माथिल्लो तमोर अर्धजलाशय प्रकृतिको आयोजना भएकाले सुख्खा यामको माग व्यवस्थापन गर्न महत्त्वपूर्ण हुने उनको भनाई छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले ठूला जलविद्युत आयोजनामा लगानी गर्न नेपाली बैंकहरू पनि सक्षम हुँदै गएको बताए । उनले माथिल्लो तमोर आयोजनामा अहिले ८ वटा बैंक तथा वित्तीय संस्थाले लगानी प्रतिबद्धता जनाएकोमा अन्य बैंकहरू पनि क्रमशः जोडिँदै जाने बताए ।
‘एभरेष्ट र नबिल बैंकले भारतले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा पनि ऋण लगानी गरेका छन् । आज निजी क्षेत्रको यति ठूलो आयोजनामा स्वदेशी बैंकहरू लगानीका लागि आएका छन्,’ उनले भने, ‘आजको सम्झौताले भविश्यमा यो भन्दा ठूला आयोजनामा लगानी गर्न थप हौसला मिलेको छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इपान) अध्यक्ष गणेश कार्कीले सरकारले वातावरण तयार गरेमा निजी क्षेत्र स्वदेशी पुँजीबाटै ५ सय मेगावाटसम्मका आयोजना निर्माण गर्न सक्षम रहेको बताए ।
नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले ताप्लेजुङ जलविद्युतको हब बन्दै गएकाले भविश्यमा सिंगो मुलुकलाई उज्यालो बनाउने विद्युत उत्पादन गर्ने बताए । भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ठूलो आयोजनामा स्वदेशी लगानी जुट्नुले लगानीकर्ताको आत्मविश्वास बढाएको बताए ।
अहिले यो आयोजनामा संरचना निर्माण सुरु गर्नुअघिका पूर्व तयारीका कामहरू भइरहेका छन् । माथिल्लो तमोर आयोजनाको २०७९ साल कात्तिकमा विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो । पिपिए अनुसार २०८५ साल जेठभित्र यो आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने तालिका छ । आयोजनाको विद्युतगृहमा ५७ मेगावाट क्षमताका ५ वटा उत्पादन युनिट रहने छन् ।
आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत विद्युतगृहदेखि १५ किलोमिटर दुरीमा २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु सबस्टेसनमा लगेर जोडिनेछ । अर्धजलाशय प्रकृतिको यो आयोजनाले सुख्खा याममा पनि ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नेछ ।
आयोजनाले वार्षिक १६५५ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । सुख्खा यामको उत्पादन ४४६ गिगावाट घन्टा हुनेछ । आयोजनाले विद्युत उत्पादन सुरु गरेको पहिलो वर्ष १० अर्ब १२ करोड रुपैयाँ आम्दानी गर्नेछ भने पिपिएमा उल्लेखित वार्षिक मूल्यवृद्धि अनुसार ९औ वर्षबाट वार्षिक १२ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गर्न थाल्ने कम्पनीले जनाएको छ ।