Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सुनकोसी तेस्रोको विस्तृत डिजाइन र कागजात बनाउने प्रक्रिया अघि बढ्याे


काठमाडौं । ६८३ मेगावाटकाे सुनकोसी तेस्रो जलाशय जलिविद्युत आयोजनाको डिजाइन निर्माण तथा कागजात तयारीकाे काम सुरु भएकाे छ । नेपाल विद्युत प्राधिकरणले  अध्ययन अनुमतिपत्र लिएसँगै राजधानी काठमाडौंबाट नजिकैकाे आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन र ठेक्का आह्वान गर्दा चाहिने बोलपत्र कागजात तयारीको काम  सुरु गरेकाे हाे ।

प्राधिकरणले बुधबार आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोटका लागि आशयको सूचना जारी गरेको छ । इन्छुक अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले आगामी फागुन २ गतेभित्रमा प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले परामर्शदाता छनोटको सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी वर्षको माघबाट विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीको काम सुरु गर्ने लक्ष्य राखेको छ । उक्त कार्य २४ महिनामा पूरा गर्ने बताइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल सम्भाव्यता चरणमा रहेको आयोजनालाई जतिसक्दो छिट्टो कार्यान्वयनमा लैजानका लागि फिल्ड अनुसन्धान, बोलपत्रको कागजातको तयारी बहुर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थालाई ऋण लगानीका लागि आवश्यक पर्ने सर्त पूरा हुनेगरी विस्तृत इञ्जिनियरिङ डिजाइन गर्न लागिएको बताए ।

“परामर्शदाताले हालको सम्भाव्यता अध्ययनको पुनरावलोकन, भौगर्भिक तथा जियोटेक्निकल अनुसन्धान, विद्युत् प्रवाह अध्ययन, निर्माण गरिने हरेक संरचनाको विस्तृत डिजाइन, लागत अनुमान, वित्तीय विश्लेषण, लगानी योजनालगायतका कार्य गर्नेछ”, कार्यकारी निर्देशक घिसिङले भने । उनका अनुसार आयोजनालाई नेपाल र बंगलादेशको संयुक्त लगानीमा निर्माण गर्न दुई देशबीचका ऊर्जा संयन्त्रका विभिन्न समयमा भएका बैठकमा सहमति भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काभ्रे र रामछापकाे सिमानामा पहिचान भएको याे आयोजनाको अध्ययन अनुमतिपत्र गत मंसिर २५ गते विद्युत प्राधिकरणलाई दिएकाे थियाे । विद्युत् विकास विभागमार्फत प्रारम्भिक सम्भाव्यता अध्ययन भएको आयोजनाको अनुमतिपत्र लिन प्राधिकरणले करिब ७० करोड रुपैयाँ सरकारलाई बुझाएको थियो ।

आयोजनाको आवश्यक तयारीको काम सम्पन्न गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्राधिकरणलाई निर्देशन दिइसकेका छन् । प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री बस्नेतले आवश्यक प्राविधिक काम सम्पन्न गर्न सरकारको तर्फबाट आवश्यक सहजीकरण गरिने बताए ।

गत जेठ २ गते नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौ बैठकले आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने सहमति भएको थियो । लगानीसम्बन्धी उक्त सम्झौतामा अहिलेसम्म हस्ताक्षर भने हुनसकेको छैन ।

२०७९ को भदौमा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो । बंगलादेश नेतृत्वको टोलीले आयोजना निर्माण अघि बढाउन बंगलादेश देश तयार रहेको बताएको थियो ।

आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये सिभिल निर्माणतर्फ ५८ करोड, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारणलाइनतर्फ १७ करोड ४९ लाख रुपैयाँ र जग्गा अधिग्रहण, पुनः स्थापना जस्ता सामाजिक तथा वातावरणीय कार्यका लागि ३७ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोशी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो । जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अध्यावधिक गरिएको थियो । बिपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सिमानामापर्ने लुभुघाटमा एक सय ८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ । जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजार भन्दामाथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ ।

आयोजनाको वातावरणीय प्रभाव अध्ययन (इआईए) स्वीकृत भइसकेको छ । इआईए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडा प्रभावित हुनेछन् । आयोजनाबाट ३ हजार २ सय ३७ हेक्टर जग्गा डुवानमा पर्ने छ । यसका लागि तीन हजार तीन सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने छ भने ६ सय ५५ हेक्टर वन क्षेत्रको जग्गा पर्ने छ ।

आयोजनाबाट १ हजार ७ सय जनसङ्ख्या विस्थापित हुने देखिएको छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न भए पश्चात् यहाँबाट वार्षिक रुपमा दुई अर्ब ३५ करोड ६२ लाख युनिट विद्युत् उत्पादन हुने छ । त्यसमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।


Read Previous

ढिस्को भत्काउने काम नसकिएपछि नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने  

Read Next

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

Leave a Reply

Your email address will not be published.