Nepal Purbadhar

महासंघ सचिवालयमा कानूनी तथा प्राविधिक परामर्श शाखा स्थापना


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा बिहिवारदेखि विविधत् रुपमा कानूनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरेकाे छ। महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायीहरूको सशक्तिकरणमा कानूनी तथा प्राविधिक परामर्श शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । विगतमा कानूनी तथा प्राविधिक ज्ञानको अभावमा निर्माण व्यवसायीहरूले विभिन्न खाले समस्याहरू सामना गर्नु परेकोे भन्दै अध्यक्ष सिंहले अब त्यस्ता समस्या समाधान हुने बताए ।

निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष ई. भीमार्जुन अधिकारीले महासंघमा कानूनी तथा प्राविधिक परामर्श शाखा सञ्चालन हुनु अत्यन्त सकारात्मक भएको बताए । अधिकारीले शाखाबाट साना निर्माण व्यवसायीहरू अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गरे । जिल्ला जिल्लामा रहेका साना निर्माण व्यवसायीहरूका लागि सचेतनाका अन्य कार्यक्रम पनि आवश्यक भएको अधिकारीले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले सबै खाले निर्माण व्यवसायीहरूका लागि कानूनी तथा प्राविधिक ज्ञान अत्यन्त महत्वपूर्ण भएको विचार व्यक्त गरे । महासचिव रोशन दाहालले सिक्ने सिकाउने परिपाटी सबैका लागि लाभदायी भएको बताउँदै सबै खाले व्यवसायीहरूको वृद्धि विकासका लागि महासंघ क्रियाशील रहेको जानकारी दिए ।

कार्यक्रममा महासंघका अन्य पदाधिकारीहरू र कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।


Read Previous

पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

Read Next

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, शेयरधनीलाई कुल ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित