काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले १३२ केभी मेवा-चांगे डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुरु गरेको छ । ताप्लेजुङको मेवा बेसिन तथा सहायक नदी खाेलामा अहिले निर्माण भइरहेका एवं अब निर्माण हुने साना ठूला जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले शुक्रबारबाट यो प्रसारण लाइन आयोजनाको काम सुरु गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवं कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरेले प्रसारण लाइन आयोजनाको शिलान्यास गरेपछि औपचारिकरूपमा निर्माण सुरु भएको हो । याे ग्रिड कम्पनीले निर्माण सुरु गरेकाे पहिलाे प्रसारण लाइन आयोजना हाे ।
ग्रिड कम्पनीले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर–१ मा प्रस्तावित १३२/३३ केभी मेवा सबस्टेसनदेखि मैवाखोला गाउँपालिकाको वडा नम्बर-१ स्थित काेसी करिडाेर प्रसारण लाइन अन्तर्गतकाे ढुँगेसाँघु सबस्टेसनसम्म २० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गर्नेछ । ग्रिड कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएका जलविद्युत आयोजनाको विद्युत प्रसारण शुल्क लिई ढुँगेसाँघु सबस्टेसम्म पुर्याउनेछ ।
शिलान्याशपछि सचिव घिमिरेले ग्रिड कम्पनी तथा निर्माणकाे ठेक्का पाएकाे ठेकेदार कम्पनीलाई प्रसारण लाइन आयोजना समयमा नै सम्पन्न गर्न निर्देशन दिँदै मन्त्रालयकाेतर्फबाट आवश्यक सहयोग गर्ने बताए । ग्रिड कम्पनीले प्रसारण शुल्क लिएर विद्युत प्रवाह गर्ने गरी यो मोडलमा पहिलो पटक प्रसारण लाइन आयोजनाको निर्माण सुरु गरेकाे हुँदा याे नमूना आयोजना भएकाले तोकिएको समय र लागतभित्र नै सम्पन्न गर्ने गरी काम गरिनु पर्नेमा घिमिरेले जोड दिए ।
यस्तै, ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले मेवा बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले यो प्रसारण लाइन पूर्वाधारको निर्माण थालनी गरेको बताए । उनका अनुसार यो प्रसारण लाइन आयोजना अन्तर्गत नै १३२/३३ केभी मेवा सबस्टेसन निर्माण हुनेछ । एउटै नदी बेसिनका जलविद्युत आयोजनाले छुट्टा छुट्टै प्रसारण लाइन बनाएर प्राधिकरणको सबस्टेसनसम्म विद्युत पुर्याउनुभन्दा प्रसारण शुल्क तिरेर एउटै प्रसारण लाइनको उपयोग गर्न पाउने मोडालिटीमा यसको निर्माण थालिएको पनि ज्ञवालीले बताए ।
प्रसारण लाइनको रुटमा ६२ वटा टावर निर्माण गरिनेछ । मेवा बेसिन तथा सहायक नदी खाेलाका जलविद्युत आयोजनाको विद्युत यही प्रसारण लाइन हुँदै ढुँगेसाँघु सबस्टेसनसम्म पुर्याइनेछ । ग्रिड कम्पनीले प्रसारण लाइनमार्फत विद्युत प्रवाह गरेबापत शुल्क लिनेछ । मेवा बेसिनमा अहिले तल्लो मेवा, मेवा खोला, सोना खोला, पालुन खोलालगायत १५० मेगावाटका जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् ।
प्रसारण लाइन र सबस्टेसन निर्माणकाे जिम्मा कस्मिक इलेक्ट्रिकल इन्जिनियरीङ एसोसियड प्रालि पाएकाे छ । प्रसारण लाइनको शिलान्यास कार्यक्रममा सहभागी हुन सचिव घिमिरे, मन्त्रालयका सह–सचिव मधु भेटवाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिल दत्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक बहादुर भट्टराई, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकास वामेन लगायत आयोजना स्थल पुगेका थिए ।