Nepal Purbadhar

सडक सञ्जालसँग जोडियो बाँफिकोट


रुकुम । बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो। बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ। तर बाँफिको-१० मा भने बल्ल सडक पुगेको छ।

‘घर आँगनबाटै गाडी चढ्ने सपना पूरा हुने भएको छ,’ स्थानीय ७७ वर्षीय विर्खे कामीले भने। भौगोलिक विकटताका कारण लामो समयसम्म सडक जोडिन नसकेको सानीभेरी गाउँपालिका र बाँफिकोटको भेरी पारिपट्टिको भूगोल पहिलो पटक सडक सञ्जालसित जोडिएको हो। बाँफिकोट-१० को गाराघाट र सानीभेरी गाउँपालिका-३ गरायलादेखि भेरी पारि पट्टीका विभिन्न ठाउँ सडक सञ्जालसित जोडिएका छन्।

आर्थिक वर्ष २०६७/६८ देखि सडक खन्ने योजना बनेको हो। आव २०७४/७५ देखि सडक निर्माण थालिएको हो। चालू आवमा सानीभेरी-३ र बाँफिकोट-१० सडक सञ्जालसित जोड्न सकिएको बाँफिकोट-१० का वडाध्यक्ष हरि चन्दले बताए। गाराघाटबाट सानीभेरीको सिमाना मैदुलोटेसम्म करिब सात किलोमिटर सडकको ट्रयाक खोलिएको छ।

सडक निर्माणमा हालसम्म एक करोड ८५ लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष चन्दले बताए। केही ठाउँमा सडकको काम भइरहेको छ। सानीभेरी-३ पेदीबजार हुँदै मैदुलोटेसम्म करिब नौ किलोमिटर सडक निर्माण भएको छ। उक्त सडक निर्माण गर्न एक करोड ५० लाख रुपैयाँ बढी बजेट खर्च लागेको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताए । तर, सडक मर्मत भने हुन नसकेको उनको भनाइ छ।

भेरीपारि सडक सञ्जालमा जोडिएसँगै बाँफिकोट र सानीभेरीका विभिन्न ठाउँमा पहिलो पटक ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन पुगेका छन्। नियमित सवारी साधन सञ्चालनका लागि केही ठाउँमा मर्मतको काम गर्नुपर्ने र त्यसका लागि बजेटको समेत व्यवस्था भइसकेको बाँफिकोट-१० का वडाध्यक्ष चन्दले बताए।

नजिकै भएर पनि विकट ठाउँका ररुपमा रहेका बस्ती सडक सञ्जालमा जोडिएको र अब त्यसको सुधार तथा थप बस्तीमा विस्तारका लागि प्रयास भइरहेको चन्दको भनाइ छ। उनका अनुसार एकता आधारभूत विद्यालय सेजेदेखि बालहित आधारभूत विद्यालयसम्मको चार किलोमिटर सडक निर्माणका लागि ५० लाख रुपैयाँ बजेट आएको छ।

त्यस्तै मयारीदेखि भानुभक्त माविसम्मको डेढ किलोमिटर सडक निर्माणका लागि ३० लाख रुपैयाँ बजेट आएको छ। मुख्यरूपमा वडा सडक सञ्जालमा जोडिएपछि अब बस्ती बस्ती जोड्ने सडक प्राथमिकतामा रहेको वडाध्यक्ष चन्दले बताए।

Facebook Comments

Read Previous

नाग्म-गमगढी सडक कालोपत्र गरिने

Read Next

उर्लाबारीमा ३९ करोड लागतमा खानेपानी योजना विस्तार गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar