Nepal Purbadhar

‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याइयो


फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्याइएको हो।

पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ। फुङ्लिङ नगरपालिका–११ फावाखोलाको डढेलेस्थित मुहानबाट काफ्लेपाटी हुँदै ‘लिफ्टिङ’ प्रविधिबाट मङ्गलबार पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्याइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए। पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुर्याइएको छ।

‘यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततः पानी मन्दिरसम्म पुर्याउन सफल भएका छौँ,’ उनले भने। यो सँगै लामो समयदेखि पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्याउने कार्यको प्रारम्भिक परीक्षण गरिएको निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताए। डढेले मुहानको पानी सञ्चित गर्न काफ्लेपाटीमा प्रमुख (इन्टेक) ट्याङ्की निर्माण गरिएको छ।

पाथीभरा मन्दिरमा खानेपानी पुर्याउन २०७७ असोजमा सम्झौता भएको थियो। लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने योजना छ। यो आयोजना कुल आठ करोड २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। कार्यकारी निर्देशक काफ्लेका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिको ३० प्रतिशत लागतमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना अघि बढेको हो। सरकारको पाँच करोड ७५ लाख र समितिको दुई करोड ४६ लाख रुपैयाँ लगानी रहेको छ।

काफ्लेपाटीबाट बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटीमा निर्माण भएका ट्याङ्की हुँदै लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी पुग्ने व्यवस्था मिलाइएको छ। काफ्लेपाटीसहित छ वटा ट्याङ्कीमा पाँचवटा स्टेशनमार्फत लिफ्टिङ प्रविधिमार्फत पानी पम्पिङ गरेर लगिएको छ। यसअघि पाथीभरा मन्दिरमा पानीको समस्या हुँदा तीर्थालुले हैरानी खेप्दै आएका थिए। तीर्थालुले माथिल्लो फेदीबाटै पानी बोकेर लैजानुपर्ने बाध्यता थियो।

Facebook Comments

Read Previous

आर्थिक वर्षको ६ महिना बित्दा पुँजीगत खर्च १४ प्रतिशत मात्र

Read Next

नारायणगढ-मुग्लिन सडक : थप एक महिना बाटो बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar