Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

कालीगण्डकी पुलको कामले ६ वर्षपछि गति लियो


बागलुङ । जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ ।

दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो ।

‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो, तर अहिले काम सुरु भएपछि आशा पलाएको छ’ कुश्मीशेराका स्थानीय प्रेमप्रसाद शर्माले भने ।

यो पुलको निर्माण २०७३ साल असोज ९ गतेदेखि सुरु गरिएको थियो । प्राविधिक कारणले लामो समय रोकिएको पुलका संरचना बनाउने काम अहिले धमाधम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पौडेलले बताए ।

रसुवा/श्री गिता/फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरेर छ वर्षअघि काम थालेका थिए । हाल ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।

‘आगामी असार मसान्तसम्म म्याद थप भएको छ’ पौडेलले भने, ‘थपिएको समयमा काम सकिनेमा आशावादी छौँ ।’

बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छ भने कालीगण्डकी नदीको बीचमा एउटा पिल्लर तयार भएको छ ।

पुलको पश्चिमतर्फको पिल्लर बनाउनका लागि कालीगण्डकी डाइभर्सनको काम भइरहेको छ । चौँथो पटक म्याद थप भएपछि पुल निर्माणको काम धमाधम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर अनिल श्रेष्ठले दाबी गरे ।

‘पुल तोकिएको समयमै निर्माण सक्न चाहन्थ्यौंँ तर निर्माण स्थलसम्मको सडककै कारणले काम थाल्नै पाएनौंँ’ श्रेष्ठले भने, ‘सडक साँघुरो हुँदा पूर्वाधार निर्माणका लागि आवश्यक मेसिन ल्याउन पाएनौँ, करिडोर सेनाले फराकिलो बनाएपछि पुलको काम थालिएको हो ।’

नदीमा पुल निर्माण गर्दा पटक–पटक पानी तर्काउनुपर्ने र वर्षायाममा पानी तर्काउन सम्भव नहुने भएकाले पनि काममा ढिलाइ भएको श्रेष्ठले बताए ।

नदीभित्रबाट पिल्लर उठाउने काम सकिएपछि पिल्लरमा जोड्ने स्लेप हाल्ने काम सुरु गरिने उहाँले जानकारी दिए ।

आगामी बर्खाअघि नै नदीभित्र गर्नुपर्ने काम सकिने भएकाले त्यस बाहेकका काममा भने अब अवरोध नआउने उनकाे बुझाइ छ।  कुल १३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँमा लागतमा ३० महिनाभित्र पुल निर्माणको सम्झौता भएको थियो ।

बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक मानिएको छ ।

समयमा पुल नबन्दा २ वर्ष अघिको भदौमा एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् ।

कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीय हरि केसी बताउँछन् ।

गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जा हुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिका हुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्की पुल हो यो ।

ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्छ ।

पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नु नपर्ने स्थानीयको भनाइ छ । रासस


Read Previous

वैकल्पिक स्राेत नहुँदा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य

Read Next

सम्पदा क्षेत्रको अवलोकन गर्न सजिलो हुनेगरी साझा यातायातले सेवा शुरु गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *