तनहुँ । मादी नदीको दायाँ बायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास-१० को परेवाडाँडा र पारी व्यास-५ को चिन्तुटार । दुवै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमा झाेलुङ्गे पुल बनेसँगै यी २ वडाकाे दूरी छाेट्टिएकाे छ ।
मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ । पुल बनेपछि दैनिक दुई वडाका बासिन्दाको आवात-जावत सहज बनेकाे व्यास-१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो ।
आर्थिक वर्ष २०७६/७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो । करिब दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ ।
गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँले याे पुल बनाएको हो । २ करोड ६४ लाख रुपैयाँमा पुल निर्माण गरिएको साइट इन्चार्ज इञ्जिनीयर शेखर रायमाझीले जानकारी दिए ।
पिजन हिल होटल सञ्चालकसमेत रहेका विवेक सापकोटाले दुई वडासहित करिब १० हजार बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएको बताए । पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत मिलेको व्यास नगरपालिका-१० का वडा अध्यक्ष खेमराज पोलले जानकारी दिए ।