Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सहरीबस्तीमा समावेशी विकास नभएकोमा सरोकारवालाको चिन्ता


सहरीकरण तीव्र भए पनि सहरीबस्तीमा समावेशी विकास हुन नसकेको सरोकारवाला निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।

विश्व बसोबास दिवसका अवसरमा सहरी विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रमका वक्ताले पूर्वाधार भएपछि सहर बन्ने मान्यतालाई आधार बनाउँदा सहरी क्षेत्रमा समावेशी विकास हुन नसकेको गुनासो गरे ।

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले जनसंख्या मात्र हेरेर सहर घोषणा गर्ने गरिएकाले विकासका अन्य आयाममा ध्यान जान नसकेको बताए । जनसंख्या मात्र हेरेर नगरपालिका घोषणा गर्दा हाल सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या ६६ दशमलव ०८ प्रतिशत पुगिसकेको छ । गाउँ र सहरलाई समन्वय गरेर विकास गरिनुपर्ने उनको भनाइ छ ।

१८५ नगरपालिकाको सहरी विकास योजना तयार

सहरी विकास मन्त्रालयले १८५ नगरपालिकाको विस्तृत सहरी विकास योजना बनाइसकेको छ । राष्ट्रिय सहरी नीति छिटो ल्याउने गरी तयारी गरिएको सचिव सिंहले कार्यक्रममा जानकारी दिए । दिवसको यस वर्षको नारालाई पनि नीतिमा समेटिने मन्त्रालयको तयारी छ । ‘समावेशी सहरबस्तीको आवश्यकता ः सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोबास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकराणका विकास आयुक्त जानुका ढकालले उपत्यकाका चार कुनामा बनाइने सहरलाई समावेसीरूपमा विकास गरिने बताइन । उपत्यकाका खोला किनारमा अझै सुकुम्वासी बस्ती रहेको र त्यसलाई व्यवस्थित गर्न पनि काम भइरहेको जानकारी दिइन ।

नेपाल नगरपालिका संघका महासचिव भीमप्रसाद ढुङ्गानाले सरकारले स्मार्ट सिटी घोषणा गर्ने तर काम नगर्ने गरेकाले सहरी विकास हुन नसकेको बताए । २९३ नगरपालिकामा कुन–कुन नमूना छन् भनेर मन्त्रालय अनुगमनसमेत नगर्ने गरेको उनले गुनासो गरे । फोहोर व्यवस्थापनमा देशभरका नगरपालिकामा समस्या रहेकाले त्यसको समाधानका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने नगरप्रमुख ढुङ्गानाको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिवहरू रामचन्द्र दङ्गाल र पद्कुमार मैनाली, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ, युएन ह्याविट्याट एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक ब्रुनो डेरकन, विभागका पूर्व सहसचिव सरिता मास्के, विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरलगायतले सहरलाई समावेसीरूपमा विकास गर्न सरोकार भएका निकायले एकीकृतरूपमा काम गनुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसघीय मानव बसोबास कार्यक्रम (युएन ह्याविट्याट) को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापीरूपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसंघले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको हो ।

नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाउन थालिएको हो । अक्टोबरको पहिलो सोमबार बडादसैँको महाअष्टमी परेकाले तेस्रो सोमबार आज दिवस मनाइएको हो । दिगो विकास लक्ष्यको लक्ष्य एक दशमलव एकले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ । दिवसका अवसरमा विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए । -(रासस)


Read Previous

ट्राफिक प्रहरीले गर्यो २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

Read Next

साढे १७ प्रतिशत नेपाली बहुआयमिक गरिबीको रेखामुनि

Leave a Reply

Your email address will not be published.