काठमाडौं । सरकारको नीति तथा कार्यक्रममार्फत आयातित ग्यास प्रतिस्थापनका लागि विद्युतीय चुलोको प्रवर्द्धन भए पनि समस्या आउँदा मर्मत सम्भार गर्ने दक्ष जनशक्ति नभइरहेका बेला महिलाहरू चासो देखाउँदै अगाडि आएका छन् । उपत्यकासहित देशका काभ्रे, धादिङ, चितवन, नवलपरासीलगायत १० जिल्लाका महिला प्रशिक्षण लिई विद्युतीय चुलो तथा अन्य विद्युतीय उपकरण मर्मत सम्भार गर्न सक्ने भएका हुन् ।
ऊर्जा र वातावरणका लागि महिला सञ्जाल (डब्ल्युएनइई) ले उपत्यकासहित देशका विभिन्न जिल्लाका महिलालाई विद्युतीय चुलो मर्मत सम्बन्धि प्रशिक्षण दिई दक्ष बनाएको छ । भान्छाको काममा महिला नै अग्रसर हुनुपर्ने हुँदा उनीहरूलाई नै लक्षित गरी विभिन्न चरणको प्रशिक्षण दिएर विद्युतीय चुलो तथा अन्य विद्युतीय उपकरण मर्मत गर्न सक्ने बनाएको सञ्जालकी अध्यक्ष कला तिम्सिनाले बताइन् ।
महिलालाई विद्युतीय चुलो मर्मतको तालिम दिन थालेपछि यसको उपयोगमा पनि आत्मविश्वास बढेको उनले बताइन् । ‘चुलो मर्मतको तालिम महिलालाई नै किन भन्ने प्रश्न आउन सक्छ,’ उनले भनिन्,‘हरेक घरको भान्छामा महिलाले काम गर्ने हुँदा आवश्यकता महशुस गरी महिलालाई विद्युतीय चुलो तथा अन्य उपकरण मर्मतको प्रशिक्षण दिएका हौं ।’
उनले अहिलेसम्ममा १० जिल्लामा २१ जना महिला प्रशिक्षण लिई विद्युतीय चुलो तथा अन्य विद्युतीय उपकरणको मर्मत सम्भार गर्न सक्ने भएका छन् । प्रशिक्षण दिई दक्ष बनेका महिलाले विद्युतीय चुलो मर्मतका साथै बिक्री वितरणको काम पनि गर्न सक्ने उनले बताइन् ।
सञ्जालले इच्छुक महिलालाई सुरुवाती चरणमा आधारभुत प्रशिक्षण दिएको थियो । सुरुतावमा सञ्चालन गर्ने, त्यसपछि आधारभुत मर्मत र तेस्रो चरणमा थप चरणको प्रशिक्षण सहभागी महिलाहरूलाई दिइएको तिम्सिनाले बताइन् । उनीहरूलाई चुलो र अन्त्य विद्युतीय उपकरणको मर्मतसँगै व्यक्तिगत विद्युतीय सुरक्षाबारे पनि प्रशिक्षण दिइएको छ ।
‘महिलाहरूलाई विद्युतीय चुलो मर्मतको प्रशिक्षणमा सहभागी गराउने कार्य निकै चुनौतीपूर्ण थियो । सुरुवातमा घर–घरमा घुम्ती टोली पुगेर बिग्रिएका चुलो संकलन गरेर मर्मत गर्यौं । हाम्रो काममा स्थानीय सरकारले पनि साथ दिएकाले सहज भयो र हामी चुलो मर्मतका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्षम भयौं’ उनले भनिन् ।
चुलो मर्मतबाट मात्रै महिलाहरूको आर्थिक उपार्जन हुन सक्ने देखिएपछि अरु विद्युतीय उपकरण मर्मतको प्रशिक्षण दिइएको पनि उनले बताइन् । सहरदेखि गाउँसम्म आयातित ग्यास प्रतिस्थापन गर्ने उद्देश्यले विद्युतीय चुलोको उपयोग बढ्दै गइरहेकोमा समस्या आउँदा मर्मतको समस्या थियो । सञ्जालले दिएको प्रशिक्षणमा सिकेको भरमा विद्युतीय चुलो तथा अन्य विद्युतीय उपकरणको मर्मत गर्न सक्षम भएको प्रशिक्षार्थी सुनिता दनुवारको अनुभव छ । उनले अब विद्युतीय उपकरण मर्मत केन्द्र सञ्चालन गर्न सक्ने क्षमता विकास भइसहेको बताइन् ।
अहिले पनि बिग्रिएको चुलोका लागि चाहिने उपकरण तथा पाटपुर्जा प्राप्त गर्न समस्या छ । स्थानीय स्तरमा नै पटपुर्जा नपाइने हुँदा बिग्रिएको चुलोको आकार हेरेर राजधानीलगायतका ठूला सहरबाट आयात गर्नुपर्ने बाध्यता छ । विभिन्न चरणमा दिइएको प्रशिक्षणमा महिलालाई चुलो तथा अन्य सामाग्री मर्मत गर्न सिकाउन सहज भएको प्रशिक्षण सागर धरेलले बताए ।
प्रशिक्षण अवधिमा महिलाले उत्सुक भएर मर्मतको काम सिकेको उनले बताए । सञ्जालको सहयोगमा धरेलले विद्युतीय चुलो मर्मत सम्बन्धि सहयोगी पुस्तिका पनि ल्याएका छन् । सञ्चालले विद्युतीय उपकरण मर्मत प्रशिक्षणमा सहभागी महिलालाई प्रमाणपत्र प्रदान गरेकाे छ ।
सरकारले सर्वप्रथम मिश्रित ऊर्जाको अवधारणा अनुसार २०७२ सालमा विद्युत खपत बढाउन विद्युतीय चुलोको प्रवर्द्धन गरिएको थियो । अहिले आन्तरिक विद्युत खपत बढाउन तथा आयातित ग्यास प्रतिस्थापन गर्ने उत्तम विकल्प विद्युतीय चुलो भएको हुँदा यसको उपयोग गर्न सरकारले आग्रह गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि विद्युतीय चुलोको प्रवर्द्धन गर्दै आइरहेका छन् ।