Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

रिडी र रैराङ मर्जरपछि बन्यो रिडी पावर कम्पनी,जडित क्षमता २१ मेगावाट


काठमाडौं । रिडी र रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी मर्ज भई एउटै कम्पनी बनेको छ । लामो प्रक्रिया पूरा गरी २ जलविद्युत कम्पनी एक आपसमा मर्ज भई औपचारिकरूपमा रिडी पावर कम्पनी बनेको हो ।

रिडी पावर कम्पनीले आइतबार राजधानीमा विशेष कार्यक्रम आयोजना गरी २ कम्पनी गाभिएर एउटै कम्पनी बन्ने सम्पूर्ण प्रक्रिया पूरा भई एकिकृत कारोबारको थालनी भइसकेको जानकारी दिएको छ । रिडी पावर मर्ज भई एकिकृत कारोबारको थालनी गर्ने पहिलो जलविद्युत कम्पनी बनेको छ ।

मर्जरपछि रिडी पावर कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुगेको कार्यकारी निर्देशक कुबेरमणि नेपालले बताए । ‘रिडी र रैराङ विद्युत आयोजनामा लगानी गर्ने अलग–अलग कम्पनी थिए,’ उनले भने,‘यी दुवै कम्पनी मर्ज गरेर एउटै कम्पनी बनाएका छौं ।’ उनले २ कम्पनी मर्ज गर्दा स्वाप रेसियो अनुपात १ः०.९३ (रिडी १, रैराङ ०.९३) रहेको बताए ।

नेपाल राष्ट्र बैंकको निर्देशिका एवं परामर्शदाताको परामर्श बमोजिम २ कम्पनीको स्वाप रेसियो निर्धारण गरिएको उनले बताए । २ कम्पनी एक भई एकिकृत कारोबार थालनी भए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भइसकेकाे छैन । दुवै कम्पनीको एकिकृत सेयर कारोबार गर्ने प्रक्रिया पूरा हुने चरणमा रहेको नेपालले बताए ।

यसअघि नेप्सेमा सूचीकृत दुवै कम्पनीको छुट्टाछुट्टै कारोबार हुँदै आएकोमा अब ‘आरआइडिआई’मा संकेत मार्फत हुनेछ । नेप्सेले भदौ ५ गते एकिकृत कारोबारको अनुमति दिने खबर सुन्नमा आएको उनले जानकारी दिए ।

रिडी २०५७ साल फागुन ११ गते स्थापना भई २०६५ साल साउनमा पब्लिक कम्पनी बनेको थियो । यो कम्पनी अन्तर्गत २.४ मेगावाटको रिडी खोला जलविद्युत र ८.५ मेगावाटको बुटवल सौर्य विद्युत आयोजना सञ्चालित थिए । कम्पनीको चुक्ता पुँजी ५८ करोड ५५ लाख रुपैयाँ थियो ।

यस्तै, रैराङ २०५९ साल बैशाख २६ गते स्थापना भई २०७१ सालमा पब्लिक कम्पनी बनेको थियो । यो कम्पनी अन्तर्गत धादिङमा ०.५ मेगावाटको रैराङ र पाँचथरमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना सञ्चालित थिए ।

मर्जरपछि पुँजी वृद्धि भएकाले ठूला जलविद्युत आयोजना, अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन, जलाशय जलविद्युत आयोजना र ऊर्जालाई कृषिजन्य उत्पादनमा जोड्ने आयोजनामा लगानी गर्ने कम्पनीको योजना छ ।

यी दुवै कम्पनी मर्ज भई एउटै भएपछि कम्पनीले उत्पादन गर्ने ४ आयोजनाको विद्युत जडित क्षमता २१.३ मेगावाट पुगेको छ । रैराङ र रिडीको मर्जरले हरेक जलविद्युत आयोजना निर्माणका लागि अलग्गै कम्पनी स्थापना गर्नुपर्ने परम्पराको अन्त्य भएको नेपालले बताए ।

आगामी दिनमा लगानी सहज होस भनेर रिडीसँग मर्जरमा गएको साविक रैराङ हाइड्रो  पावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष शिवरतन सारडाले बताए । उनले २ कम्पनीको मर्जरले जलविद्युत क्षेत्रमा नयाँ इतिहास रचिएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले रिडी पावरले अब २१.३ मेगावाटका विद्युत आयोजनाको आम्दानीबाट २ हजार मेगावाटका आयोजनासम्म लगानी विस्तार गर्दै लैजान सक्ने बताए । उनले अबको आवश्यकता जलाशय जलविद्युत आयोजना नै भएकाले रिडी पावर पनि लगानीका लागि अगाडि आउनु पर्नेमा जोड दिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) अध्यक्ष कृष्ण आचार्यले जलविद्युत प्रवर्द्धकले राज्यबाट पाउनु पर्ने जति सम्मान पाउन नसके पनि  आज २ कम्पनी गाभिएर एउटै हुने अवस्थासम्म पुग्नु यो क्षेत्रका लागि ठूलो उपलब्धी भएको बताए । उनले विद्युत नियमन आयोगले निर्देशिका जारी गर्नुअघिसम्म निजी ऊर्जा उत्पादकहरूले मर्जरमा जाने कुरा कहिले नसोचेको बताए ।

‘बाणिज्य बैंक तथा वित्तीय संस्था हुँदै बीमा कम्पनीहरू मर्जरमा जाने कुरा आएको थियो,’ उनले भने,‘ तर, जलविद्युत कम्पनी मर्ज गर्न सकिनेबारे हामीले सोचेका पनि थिएनौं । नियमन आयोगले निर्देशिका जारी गरेर यो विकल्पमा जाने बाटो खोलिदिएकाले बलियो कम्पनीले रुग्णलाई गाभेर एउटै कम्पनी बनाउन सक्छ ।’

नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युत कम्पनीहरू पनि मर्जरमा जान आवश्यक रहेकाले नै निर्देशिका ल्याइएको बताए । ‘आयोग गठन हुने बित्तिकै २ दर्जन बढी जलविद्युत कम्पनी रुग्ण अवस्थामा पुगेको भन्दै गुनासो लिएर आइपुगेका थिए । यो परिस्थितीलाई मनन गरी बलियो कम्पनीले रुग्ण कम्पनीलाई स्वामित्वमा लिनसक्ने विकल्प दिएर निर्देशिका ल्याएका थियौं । रिडी र रैराङको मर्जरले यसलाई सम्भव तुल्याएको छ’ उनले भने ।

निर्देशिकाले बलियो र कमजोर मात्र नभई, बलियो–बलियो तथा कमजोर–कमजोर कम्पनीलाई पनि मर्जरमा जाने बाटो खुला गरेको उनले बताए । सिंहले निर्देशिका जारी भएपछि मर्जर प्रक्रियामा जान १६ वटा जलविद्युत कम्पनीले आयोगबाट स्वीकृति लिइसकेको पनि बताए ।

विद्युत नियमन आयोगले अनुमतिपत्र प्राप्त व्यक्ति तथा संस्था आपसमा गाभिन, मिल्न, सेयर तथा संरचनाको खरिद–बिक्री वा हस्तान्तरण, प्राप्ति वा ग्रहण सम्बन्धि निर्देशिका, २०७७ जारी गरेपछि यी दुई कम्पनीको मर्जर प्रक्रिया सुरु भएको थियो ।


Read Previous

राष्ट्रिय राजमार्ग र पुल निर्माण आयोजना कार्यान्वयमा देखिएका १२ समस्या

Read Next

अतिप्रभावित सरह सेयर माग गर्दै सान्जेनको जिल्ला कार्यालयमा गल्लाङ गाउँका स्थानीयले गरे आक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *