Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

इनरुवा सबस्टेसन सञ्चालनपछि कोसी कोरिडोरको तुम्लिङटार-वसन्तपुर-इनरुवा खण्ड पूर्ण क्षमतामा चल्याे


काठमाडौं । २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–वसन्तपुर– इनरुवा खण्ड र ३ वटा सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुनसरीको इनरुवास्थित २२० केभी इनरुवा सबस्टेसन निर्माण सम्पन्न भई चार्ज भएसँगै कोसी कोरिडोर प्रसारण लाइन यो खण्ड र सबस्टेसनहरू पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले भर्खरै निर्माण सम्पन्न भएको २२० केभी इनरुवा सबस्टेसन बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । यो सबस्टेसन सञ्चालनमा आएसँगै कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–वसन्तपुर– इनरुवा खण्ड, संखुवासभास्थित २२०/१३२/३३ केभी तुम्लिङटार सबस्टेसन र २२०/३३ केभी बानेश्वर सबस्टेसन २२० केभी क्षमतामा सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ । तुम्लिङटार र बानेश्वर सबस्टेसनमा क्रमश: २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् ।

कोसी कोरिडोरको तुम्लिङटार–वसन्तपुर– इनरुवा खण्ड र सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै प्रदेश–१ का पहाडी जिल्लामा उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने संरचना तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार यसबाट वितरण प्रणालीको गुणस्तरमा पनि सुधार गर्न सम्भव भएको छ ।

२२० केभी प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आउँदा पूर्व क्षेत्रमा यसअघि देखिँदै आएको लाे–भोल्टेजको समस्या सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको उनले बताए । ‘यसअघिसम्म सुनसरीको दुहवी सबस्टेसनबाट मात्र विद्युत आपूर्ति हुने हुँदा प्रसारण तथा वितरण प्रणालीको गुणस्तर कमजोर भई मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगमा लो–भोल्टेज, ट्रिपिङलगायतको ठूलो समस्या थियो,’उनले भने, ‘अब दुहवी सबस्टेसनको लोड इनरुवा सबस्टेसनमा सारेर उद्योगहरूको लोड व्यवस्थापन गरी थप विद्युत दिन सकिन्छ ।’

उनले उद्योगमा माग अनुसारको विद्युत आपूर्ति भएपछि अहिलेको लो–भोल्टेज, ट्रिपिङलगायतका समस्या सधैंका लागि समाधान हुने बताए । प्रसारण लाइनको तुम्लिङटार–वसन्तपुर– इनरुवा खण्ड २२० केभीमा सञ्चालनमा आउँदा भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लामा सञ्चालित जलविद्युत आयोजनाले पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नेछन् । यसअघि प्रसारण लाइनको समस्याले बर्खामा यी जलविद्युत आयोजनाको विद्युत खेर फाल्नु पर्ने अवस्था थियो । ३३ केभीमा सञ्चालन गर्दा समस्या केही समाधान भए पनि अब पूर्णरूपमा समाधान भएको घिसिङले बताए ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी काेरिडोर प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनसम्म आइपुग्ने छ । इनरुवा सबस्टेसनसम्म आइपुगेको विद्युत स्थानीय क्षेत्रमा वितरण हुनेछ । सुनसरी–मोरङ औद्योगिक कोरिडोको विद्युत आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सबस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् ।

इनरुवा सबस्टसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्ने प्राधिकरणले जनाएकाे छ ।

स्थानीय क्षेत्रमा खपत नभएको विद्युत धनुषाको ढल्केबर सबस्टेसनमार्फत भारततर्फ समेत निर्यात गर्न सकिने घिसिङले जानकारी दिए । नेपाल सरकारको लगानी र विश्व बैंको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत प्रसारण एवं वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन निर्माण गरिएको हो ।

सरकारको लगानी र भारत सरकारको निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोसी कोरिडोर अन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन तथा प्रसारण लाइनको निर्माण गरिएको हो । इनरुवा सबस्टेसन सञ्चालनमा नआएकोले तुम्लिङटार–वसन्तपुर– इनरुवा प्रसारण लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको थियो ।

कोसी काेरिडोर अन्तर्गत प्रसारण लाइनकाे वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सबस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । कोसी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवाबाट  संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्म २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ । अहिले टावरको एक तर्फ (संगल सर्किट) मात्र तार तानिएको छ ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारतीय एक्जिम बैंककाे सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब १ हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब १ हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाट विद्युत प्रसारण गर्न सकिनेछ ।

अरुण र तमोर नदी तथा तिनका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबैभन्दा लामो दुरीको २२० केभी प्रसारण लाइन हो । प्रदेश–१ का भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।


Read Previous

‘पनौतीमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण निर्माण गर्दैछौं’

Read Next

तीन दशक बित्दा पनि अझै अलमलमा पीपीपी

Leave a Reply

Your email address will not be published.