काठमाडाैं । जलविद्युत आयोजनामा प्रयोग हुने क्यू शब्दले आयोजनाको ‘डिजाइन डिस्चार्ज’ लाई बुझाउँछ । परियोजना डिजाइन गर्दा कति मिटर क्यू प्रतिशत लिने भन्ने हुन्छ । यसलाई एउटा प्यारामिटरको रुपमा लिइन्छ । यसले तोकिएको आयोजनाबाट प्रति सेकेण्डमा प्रवाह हुने पानीको गतिलाई जनाउँछ ।
उदाहरणका लागि कुनै खोलामा सुख्खा याममा पानीको गति १० मिटर क्यू प्रति सेकेण्ड छ र १२ महिना नै उही परिमाणको पानी उपलब्ध भयो भने त्यो क्यू १०० भयो । ६ महिना मात्र तोकिएको क्षमता उपलब्ध भयो भने क्यू ५० भयो ।
कुनै आयोजना क्यू ५० मा डिजाइन गरेको भए ६ महिना पूर्ण क्षमतामा चल्ने भयो । क्यू ४० बाट ३० मा जाँदा झण्डै उत्पादन क्षमता दोब्बरजस्तो बढ्छ । त्यही क्यू ६० मा आयो भने झण्डै ५० प्रतिशत घट्छ । अरुण तेस्रोको ९ सय मेगावाट भनिएको छ, त्यो करिब क्यू ३० को भयो । यसलाई क्यू ४० मा गर्ने भयो हो भने ६ सय मेगावाट जति क्षमता हुन्छ ।
क्यू जति कम गर्दै लग्यो, त्यतिनै उत्पादन बढ्दै जान्छ । बढीभन्दा बढी पानीको उपयोग पनि गर्न सकिने हुन्छ । क्यू बढाउँदै लग्यो भने उत्पादन कम हुन्छ तर क्षमता अनुसारको उत्पादन गर्ने समय भने बढ्दै जान्छ ।
अर्थात क्यू ४० मा जलविद्युत आयोजना डिजाइन गर्दा १२ महिनामा ४० प्रतिशत समय अर्थात ४.८ महिना क्यू ४० मै उत्पादन हुन्छ भने बाँकी समयमा उत्पादन क्षमता घट्दै जान्छ । क्यू ४० भन्दा माथि गएपछि पनि यही आधारमा शत प्रतिशत विद्युत उत्पादनको अवधि वृद्धि हुँदै जान्छ ।
अहिले अधिकांश आयोजना क्यू ४० कै आधारमा अध्ययन गरेर विद्युत विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) दिने गरिएको छ । क्यू घटाउँदै गएमा भने अहिले सरकारी निकाय र निजी क्षेत्रले अध्ययन गरेका आयोजनाहरुको क्षमता बढ्दै जान्छ ।
भारतको कुरा गर्ने हो भने त्यहाँ बजार छ, जति क्यू घटाउँदै लगे पनि भयो तर नेपालमा सुख्खा यामको बिजुली माग र आपुर्ति सन्तुलनका लागि क्यू ४० देखि ४५ सम्ममा डिजाइन गर्ने गरिएको छ । नदी प्रवाहमा आधारित (आरओआर) र अर्ध जलाशय (पीआरओआर) मा यही डिजाइनको आधारमा हुन्छ ।
अझ जलाशययुक्त आयोजनाको त क्यू कम हुन्छ । पछिल्लो समयमा भारतमा नेपालको जलविद्युत व्यापारको सम्भावनासँगै हालको प्रावधानलाई परिवर्तन गरेर घटाउनुपर्ने आवाज उठिरहेको छ ।