Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

माथिल्लो मैलुङ खोला ८५ प्रतिशत पूरा,मंसिरमा परीक्षणको लक्ष्य


काठमाडौं । रसुवास्थित १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । सानिमा हाइड्रो समूहको सहायक माथिल्लाे  मैलुङ खाेला जलविद्युत कम्पनीले अघि बढाएको आयोजनाको निर्माण पूरा हुन लागेको हो ।

कोरोना (कोभिड–१९) महामारीको पहिलो र दोस्रो लहरका बेला नराम्ररी प्रभावित हुन पुगेको यो आयोजनाले त्यसपछि निर्माणको तीव्र गति लिएका कारण सम्पन्न हुने चरणमा पुगेको हो । अहिले सिभिलतर्फ ८५ प्रतिशत बढी काम सम्पन्न भइसकेको आयोजनाका प्रबन्धक कांगडा प्रसाईंले बताए ।

‘कोभिड–१९ ले सबै जलविद्युत क्षेत्र नै प्रभावित भएकाले हाम्रो आयोजना पनि प्रभावित थियो,’ उनले नेपाल पूर्वाधारसँग भने,‘त्यसपछि निर्माण कार्यलाई तीव्रता दिन सकेकाले नै आयोजना सम्पन्न हुने चरणमा पुग्न लागेको छ ।’ उनले आयोजनाको बाँध क्षेत्रको संरचना निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।

गत फागुनमा खनेर सकिएको आयोजनाको १.८ किलोमिटर मुख्य सुरुङमा अहिले लाइनिङको काम भइसकेको पनि उनले जानकारी दिए । मुख्य सुरुङमा अब ४ सय मिटरमा लाइनिङ गर्न बाँकी रहेको जानकारी प्रसाईंले दिए ।

आयोजनामा १ किलोमिटर लामो पेनस्टक पाइप राखिएको छ । जसमा अब ८ सय मिटर पाइपलाइन बिछ्याउन बाँकी छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य धमाधम भइरहेको छ । विद्युतगृहमा उपकरण जडानको काम सम्पन्न गर्न अब बढीमा ३ महिनाको समय लाग्ने प्रसाईंले बताए ।

सिभिलतर्फको बाँकी काम सम्पन्न गरी मंसिरसम्ममा आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गर्ने गरी काम गरिरहेको उनले बताए । यो आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्दैछ । कम्पनीले विद्युत विकास विभागबाट निर्माण अनुमति लिई प्रसारण लाइनको काम अगाडि बढाइसकेको छ ।

वन क्षेत्रको रुख विरुवा कटानको स्वीकृति प्राप्त भइनसकेका कारण प्रसारण लाइनको कामले भने गति लिन नसकेको कम्पनीले जनाएको छ । प्रसारण लाइनको रुटमा २८ वटा टावर निर्माण गर्नुपर्नेछ । त्रिशूली–३ ‘बी’ हब सबस्टेसन निर्माण सम्पन्न हुने चरणसम्ममा कम्पनीले निर्माण गर्ने प्रसारण लाइन पनि तयार गरी आयोजनाको विद्युत प्रणालीमा जोड्ने प्रसाईंले बताए ।

यो आयोजना अहिलेसम्ममा निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, स्थानीय अवरोध, कोरोना महामारी लगायत कारणले विद्युत उत्पादन तालिका प्रभावित हुँदै आएको थियो ।

आयोजना सम्पन्न गर्न साढे २ अर्ब रुपैयाँ अनुमानित लागत तोकिएको छ । आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकको १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी छ । बैंकले आयोजनालाई दिएको ऋण कूल लागतको ७५ प्रतिशत हो । २५ प्रतिशत स्वपुँजी प्रवर्द्धककाे हो ।

आयोजना सम्पन्न भई प्रसारण प्रणालीमा आउँदा वार्षिक ७ करोड ९६ लाख ७० हजार ४ सय ८६ किलोवाट घण्टा विद्युत उत्पादन हुनेछ । सानिमा समूहले माथिल्लो मैलुङसहित अहिले अरु २ जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

ताप्लेजुङको तमोर नदीमा ७३ मेगावाटको मध्यतमोर र रामेछापको लिखु खोलामा २८.१ मेगावाटको तल्लो लिखु आयोजना निर्माणाधीन छन् । मध्यतमोरको करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । तल्लो लिखु ९५ प्रतिशत सम्पन्न भइसकेको छ । तल्लो लिखु आगामी भदौदेखि प्रणालीमा जोड्ने तालिका तय भएको छ ।

सानिमा समूह अन्तर्गत यसअघि निर्माण सम्पन्न भएको २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माइ क्यासकेड आयोजना सञ्चालनमा छन् ।


Read Previous

एमसीए नेपालले स्तरोन्नति गर्ने सडक खण्डको परामर्श सर्वेक्षण सम्पन्न, कालोपत्रेका लागि एफडिआर प्रविधि भित्राउने तयारी

Read Next

बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

Leave a Reply

Your email address will not be published.