काठमाडौं । नेपालमा व्यवस्थित खानेपानी प्रणालीको थालनी भएको १२८ वर्ष पुगेको छ । यो अवधीमा ४४ हजार खानेपानी प्रणालीको निर्माण सम्पन्न भएको खानेपानी मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकमा उल्लेख छ । नेपालमा व्यवस्थित खानेपानी प्रणालीको शुरुवात १९५१ सालमा वीरधाराबाट शुरु भएको हो ।
निर्माण भएका खानेपानी प्रणालीबाट अहिलेसम्म ९३.१४ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी पहुँच पुगेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० मा ९७ प्रतिशत जनसंख्यामा आधारभुत खानेपानी पहुँच पु¥याउने लक्ष्य तय गरिएको छ । आगामी आर्थिक वर्षको लागि राखिएको लक्ष्य पू्रा हुने खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले बताए । ‘हामी गरेको लगानी, बनिरहेका आयोजना र कामको गतिअनुसार लक्ष्य पू्रा हुनेछ’ उनले भने ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा खानेपानी र सरसफाई सहलगानी कार्यक्रम र केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत ३१ आयोजना सम्पन्न गरिदैछ । यसको लागि बजेटमा ४ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट थप ४ लाख ९३ हजार जनसंख्यालाई खानेपानी सेवा उपलध हुनेछ ।
त्यस्तै, जलवायु अनुकूलित वृहत खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन आयोजनाका लागि ३ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यी आयोजनाबाट थप १ लाख ५० हजार जनसंख्यामा खानेपानी सेवा उपलब्ध हुनेछ ।
आधारभूत खानेपानी पहुँच भनेको के हो ?
आधारभूत खानेपानी पहुँच भन्नाले ग्रामीण क्षेत्रमा प्रतिव्यक्ति प्रतिदिन ४५ लिटर पानीको उपलब्धता हो । त्यस्तै, धारासम्मको दूरी १०० मिटरको पैदल दुरी भित्र सामुदायिक धारा हुनुपर्छ । पानी आपूर्तिको समय दिनमा न्यूनतम पनि ४ घण्टा हुनुपर्छ । त्यस्तै, निरन्तर रुपमा वर्षभरी नै पानी आउनुपर्छ ।
आधारभूत पहुँच हुनको लागि राष्ट्रिय गुणस्तर निर्देशिका, २०६२ ग्रामिण खानेपानीको लागि गरिएको परिभाषित गुणस्तर हुनुपर्छ । यसको अर्थ पानीमा (धमिलोपन, हाइड्रोजन बिभव, आर्सेनिक र शुक्ष्म जैविक वा कलु कोली फर्म आदी) परीक्षण गर्दा मापदण्डमा तोकिएको सिमाभित्र रहेको अवस्थालाई बुझाउँछ । स्वास्थ्यमा हानी नपु¥याउने खानेपानी भनेकै गुणस्तरीय अथवा सुरक्षित पिउने पानी हो ।
आधारभूत खानेपानी उपभोक्ता समितिबाट व्यवस्थापन गरिएका सबै खानेपानी वितरण पाइप प्रणाली पर्छन् । यसरी सञ्चालित ५ हजारभन्दा न्यून जनसंख्यालाई सेवा प्रदान गर्ने आयोजनाहरु समावेस गरिएका छन् ।
२४ सै घण्टा घरमा पानी आउने जनसंख्या २४ प्रतिशत मात्र
मध्यम स्तरको खानेपानी पहुँच भन्नाले प्रतिव्यक्ति प्रतिदिन ४५ देखि १ सय लिटरसम्म पानी उपलब्धता हो । यस्तो पानीको गुणस्तर राष्ट्रिय खानेपानी गु्णस्तर मापदण्ड, २०६२ मा तोकिएको अनुसार हुने उल्लेख छ । मापदण्डमा पानीको रंग, स्वाद तथा गन्ध, विद्युतीय संवाहकता, धमिलोपन, रासायनिक मिश्रण, इकोली लगायत के कति हुनुपर्ने भनेर तोकिएको छ ।
पानी घर कम्पाउण्डभित्र (आँगनमा धारा) हुनुपर्छ । दैनिक २४ घण्टा पानीको आपूर्ति हुनुपर्छ र वर्षभरी नै पानी निरन्तर आउनुपर्छ । त्यस्तै, उच्चस्तरको खानेपानी पहुँच भनेको दैनिक १ सय लिटर परिमाणको पानी प्रतिव्यक्ति प्रतिदिन उपलब्ध हुनुपर्छ । यसको गुणस्तर विश्व स्वास्थ्य संगठनको निर्देशिकाले तोकेअनुसार हुनुपर्छ । घरभित्र पूर्ण जडित पहुँच हुनुपर्छ र २४ घण्टा नै आपूर्ति हुनुपर्छ । यसको साथै वर्षभरि नै न्र्न्तिर पानी आउनुपर्छ ।
पछिल्लो तथ्यांकअनुसार उच्च तथा मध्यमस्थरको खानेपानी सेवा भने २४ प्रतिशतमा पुगेको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो जनगणनाअनुसार ७० लाख ६ हजार १९५ जना मानिसको घरमा मात्र २४ सैं घण्टा पानी आउने देखाउँछ । उच्च तथा मध्यमस्थरको खानेपनी सेवा पनि अगामी आर्थिक वर्षसम्ममा ३० प्रतिशत पुर्याउने लक्ष्य रहेको खानेपानी मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए ।
खानेपानी मन्त्रालयले पानीको आधारभूत, मध्यम र उच्च पहुँचको नयाँ मापदण्ड मस्यौदा गरिरहेको छ । ‘अहिले तोकिएको मापदण्डमा परिवर्तन हुनेछ’ मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले जानकारी दिए ।
सरकारले आधारभुत सरसफाइ सेवा भने सतप्रतिशतमा पुगेको घोषणा गरिसकेको छ । परिणामस्वरुप सबै जिल्लाका सम्पूर्ण स्थानीय तह खुला दिसामुक्त घोषणा भइसकेको छन् । सरकारले १३ असोज २०७६ मा देशलाई खुला दिसामुक्त घोषित गरिसकेको छ ।