Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

डाँडापारीका जनप्रतिनिधिलाई प्रश्नः पक्की सडक कहिले बनाउछौं ?


नवराज सापकोटा

आवश्यकताका आधारमा विकासका पूर्वाधारहरु मध्ये पहिलो कुन ? यसको एकै थरी मात्र उत्तर पाइँदैन् । सिद्धान्त, व्यवहार, भोगाईका आधारमा फरक–फरक उत्तर सुनिन्छ । काभ्रेको विकट क्षेत्र डाँडापारी यहाँका बासिन्दाको भने एउटै उत्तर सुनिने गर्छ त्यो हो –सडक । संघीयता कार्यान्वयन सँगै अन्यत्र जस्तै डाँडापारी क्षेत्रमा पनि सडक निर्माणले तिब्रता पायो । सबै तिरजस्तै यस क्षेत्रमा पनि डोजरे विकास नै हावी रह्यो । ५ वर्षको अवधिमा पैदल यात्रा गर्न कठिन भूगोलमा पनि सडक निर्माण भए ।

टोल–टोलसम्म सडक पुगेकोले अब भने डाँडापारी क्षेत्रले विकासमा फड्को मार्छ कि भन्ने आशा पलायो । सामान्य घर खर्चका लागि सामान्य नुन, तेल, चामलको दिनभरीको बाटो हिँडेर पिठुयूँमा बोकेर बन्दोवस्त गर्नुपर्ने बाध्यता हट्ला की ? भूकम्पपछि सुरक्षित घर निर्माणका लागि बजारमा ७ सय बोरामा किनेको सिमेन्ट भाडा ज्याला जोड्दा १५ सय रुपैंया बोरा तिर्न पर्दाको जुन पिडा थियो त्यसमा राहत मिल्ला की ? जटिल विरामीका लागि हेलिकोप्टर नै झिकाउनु पर्ने वा दिनभरको बाटो डोकोमा बोकेर अस्पताल सम्म पुर्याउनु पर्ने दिनको अन्त्यहोला की ? यस्तै यस्तै प्रश्नहरु स्थानीयका मनमा उब्जीरहे ।

सडक निर्माणसँगै हाम्रा खेतबारीमा उत्पादन गरेका अन्न नगदेबालीले पनि सहजै बजार पाउलान ? पशुवस्तु पालनबाट पनि राम्रै आम्दानी गर्न सकिएला की त ? यसो भयो भने त चरन छ, घाँस छ, जनशक्ति छ, प्रशस्त जग्गा जमिन छ । अब त व्यवसायिक खेती गर्दा पनि त हुने भयो नी । निर्वाहमुखी खेती गर्ने परिवार थप आम्दानी गर्न विदेश पलायन हुने चलनको विकास भइसकेको अवस्थामा उनीहरुको मनमा पेसा, आम्दानीको समेत विकल्प निस्किन्छ होला ।

गाउँ गाउँसम्म सडक निर्माण भएको त वर्षौ बिते तर डाँडापारीबासीको ती सपना दिवा सपना जस्तै बनेका छन् । कारण जति सडक निर्माण भए दिगोपन देखिएन । हरेक वर्ष हिउँदमा मर्मत गरेर संचालन गरिए पनि ठूलो वर्षातसँगै पशुवस्तु हिँडाउन पनि कठिन हुने ती सडक आशाका त्यान्द्रो मात्र बने । सडककै कारण अपेक्षा गरिएको परिवर्तन कल्पनामै सिमिति बन्यो ।

जिल्ला सदरमुकाबाट डाँडापारी प्रवेश गर्ने सडक झण्डै आधा दर्जन छन् । डाँडापारीका धेरै जसो गाउँसम्म सडक पनि निर्माण भएका छन् । निर्माण थालिएको ३ दशक नाघि सकेको खोपासी–तालढुङ्गा सडक होस या त्यसपछि निर्माण भएका सिपाली बुढाखानी, खोपासी–च्याम्राङबेसी हुँदै डाँडापारी प्रवेश गर्ने सडक । कुनै पनि बाह्रै महिना संचालन हुने अवस्थामा छैनन् । स्थानीय तहमा जनप्रतिनिधिहरुको आगमनपछि निर्माण भएका सडकहरु त गाउँ टोल जोड्ने उद्देश्यले निर्माण भएका छन् । जसमा स्थायित्वका लागि अझै धेरै कुर्नु जरुरी छ । डाँडापारी लक्षित सडकको मुख्य समस्या भनेको नै दिगो विकासको अवधारणालाई ख्याल गर्न नसकिनु हो । सडक निर्माणमा संलग्नको व्यक्तिगत स्वार्थका कारण प्राविधिक सर्वेबेगर नै सडक निर्माण भए । डोजर अपरेटर नै इन्जिनियरको भूमिकामा रही निर्माण भएका सडक जसलाई नवनिर्वाचित जनप्रतिनिधिले दिगोपन दिन सक्नु पहिलो चुनौती हो ।

महाभारत पर्वत शृङखलाको दक्षिणी भेगमा अवस्थित डाँडापारी क्षेत्र । नेपालको दक्षिणी क्षेत्रबाट प्रवेश गर्ने जलवाष्पयुक्त वायुका कारण महाभारत पर्वतको दक्षिण क्षेत्रमा तुलनात्मक रुपमा बढि वर्षा हुने जानकारहरु बताउँछन् । यो वर्ष पनि बैशाख महिनाबाट नै वर्षा भइरहेको छ । वर्षाका कारण डाँडापारी क्षेत्रका अधिकांश सडक बन्द भइसकेका छन् ।

अधिकांश क्षेत्र बलौटे माटो रहेको यस भेगमा समान्य झरीले नै बाटो खोल्ने, बाटोमा ठूला–ठुला खाडल बन्ने गर्छ । जहाँ वर्षाले सडक बन्द हुने त्यस पछि बाटो सफा गरि पुनः संचालन गर्ने कार्य निरन्तर चलिरहँदा सडक निर्माण भन्दा मर्मतमा बढि खर्च हुने गरेको छ ।

ठाडो खोलाखोल्सा सडक अबरुद्ध हुने अर्को कारण हो । भूगोल मौसमका कारण मौसमी बनेका यस क्षेत्रका सडक अत्यन्तै खर्चिला छन् । वर्षभरिमा बढिमा ८ महिना संचालन हुने सडक ४ महिनाभन्दा बढि सडकको स्वरुपमा मात्र रहन्छन् । हरेक वर्ष ती मर्मत सम्भार गरी सडक संचालनका लागि नै डाँडापारीका स्थानीय तहको धेरै बजेट खर्च हुने गरेको छ ।

मुख्य सडक नै मौसमी छन् । त्यससँगै प्राविधिक स्टिमेटलाई कम ध्यान दिइ निर्माण गरिएका टोल–टोल पुग्ने सडकहरु सुचारु गर्नु स्थानीय तहको जिम्मेवारी रहन्छ । सधै पहिलो प्राथमिकता सडकलाई दिइरहँदा ती तहका विकासका अन्य पक्षहरु ओझेलमा पर्ने नै भए । डाँडापारी क्षेत्रका सबै भेग समेटिने । सबै क्षेत्र जोडने एक भरपर्दो सडक तत्कालिन आवश्यकता हो ।

पहिलो त केन्द्रसम्म पहुँचको अभाव, दोस्रो राजनीतिक खिचातानी तथा स्वार्थका कारण सबैक्षेत्र समिटिने दिगोपना सहितको मुख्य सडकको कल्पनासम्म पनि भएको देखिएको छैन । विकासका अन्य पुर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने सडक निर्माणका लागि सबै जनताको चाहना छ, तर नेतृत्वको आफ्नै स्वार्थ अनि दुरदृष्टिको अभाव देखिन्छ ।

स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिको छनोट पनि भइसकेको छ । निर्वाचनका समयमा जनप्रतिनिधिहरुले संकल्प पत्रहरु पनि सार्वजानिक गरेका छन् । केही पत्रहरुमा दिगो सडक निर्माणको विषय उठान पनि भएका छन् । ती विषयलाई निर्वाचन समयको एजेण्डा मात्र बनाउनु जनमत प्रतिको घात हो ।

डाँडापारी क्षेत्रको विकटता कम गर्ने पहिलो माध्यम नै सदरमुकामसम्म जोडिने दिगो सडक निर्माण हो । जसले डाँडापारीको दुरी कम गर्छ । अन्य पूर्वाधार विकास अनि निर्माण सहज हुन्छ । दास्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुले यो विषयलाई ख्याल गर्नु जरुरी छ । हरेक वर्ष कनिका झै छरिरहने र मौसमी सडक निर्माण भन्दा पनि पहिलो प्राथमिकता सबै क्षेत्र जोड्ने दिगो सडक हुनुपर्छ । स्थानीय तहसँगै प्रदेश संघले पनि यस क्षेत्रको साझा समस्या समाधानमा जोड दिनुपर्छ । नवनिर्वाचित जनप्रतिनिधिको पहिलो उद्देश्य नै डाँडापारीका सबै क्षेत्र जोड्ने एउटा व्यवस्थित पक्की सडक निर्माण हुनुपर्छ ।


Read Previous

बजेटमा सुझाव सम्बोधन नभएको भन्दै सरकारलाई इप्पानको १३ बुँदे ध्यानकर्षण

Read Next

स्वघोषणा गरी पोल भाडा तिर्न अटेर गर्ने सेवाग्राहीको विद्युत लाइन काटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *