Nepal Purbadhar

सिँचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनले जनायो आपत्ती


काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिएको गिरफ्तारीप्रति गम्भीर असहमति व्यक्त गरेको हो । विज्ञप्तिमा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारहरूको पूर्ण पालना हुनुपर्ने धारणा उल्लेख गरिएको छ ।

बिना आधार र कारण सार्वजनिक नगरी गरिएको पक्राउले विधिको शासन र पेसागत मर्यादामाथि नै प्रश्न उठाएको एसोसिएसनको ठहर छ ।

एसोसिएसनका जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा उहाँहरूको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गर्दछौँ ।’

साथै, एसोसिएसनले प्रचलित कानुन बमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


Read Previous

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

Read Next

बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar