Nepal Purbadhar

राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ६ खर्ब २६ अर्ब पुग्यो, पाँच वर्षमा वित्तीय सूचकमा उल्लेखनीय सुधार


काठमाडौं। मुलुकको सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो पाँच वर्षमा निक्षेप, कर्जा विस्तार, बजार हिस्सा, नाफा तथा ग्राहक सेवाका अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। चुनौतीपूर्ण आर्थिक अवस्थाबीच पनि बैंकले वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै व्यवसाय विस्तारलाई निरन्तरता दिएको जनाएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार अघिल्लो आर्थिक वर्षमा पाँच खर्ब तीन अर्ब रुपैयाँ रहेको निक्षेप चालु आर्थिक वर्षको हालसम्म छ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब २३ अर्ब रुपैयाँ अर्थात् झण्डै २४ प्रतिशतले बढी हो।

“चुनौतीपूर्ण आर्थिक परिवेशका बीच पनि बैंकले वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आफ्नो व्यावसायिक आधारलाई थप सुदृढ बनाएको छ,” प्रमुख कार्यकारी अधिकृत खनालले बताए।

बैंकिङ बजारमा बढ्दै हिस्सा

बैंकले निक्षेपसँगै कर्जा विस्तारमा पनि उल्लेखनीय वृद्धि गरेको जनाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले तीन खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सीईओ खनालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा समग्र बैंकिङ क्षेत्रको कर्जामा ४.८१ प्रतिशत बजार हिस्सा रहेको बैंकले २०८२/८३ को चैत मसान्तसम्म ५.७४ प्रतिशत हिस्सा कायम गर्न सफल भएको छ।

“समग्र अर्थतन्त्रमा कर्जाको माग उत्साहजनक नभएको अवस्थामा पनि राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ उद्योगको औसतभन्दा उच्च दरमा कर्जा विस्तार गर्न सफल भएको छ,” उनले भने।

उनका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १३.२६ प्रतिशत वार्षिक कर्जा वृद्धि गर्दै तीन खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

त्यस अवधिमा समग्र वाणिज्य बैंकहरूको कर्जा वृद्धि भने ७.४३ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै उनले भने, “सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ५२ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।”

नाफा र प्रतिशेयर आम्दानीमा सुधार

बैंकले व्यावसायिक विस्तारसँगै वित्तीय सूचकमा पनि सुधार आएको जनाएको छ। २०८२ चैत मसान्तसम्म बैंकको किताबी मूल्य प्रतिशेयर ३५१ रुपैयाँ ९८ पैसा पुगेको छ भने प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा पुगेको छ।

यसै अवधिमा बैंकले दुई अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ।

निष्क्रिय कर्जा औसतभन्दा कम

राष्ट्रिय वाणिज्य बैंकले निष्क्रिय कर्जा (एनपीएल) नियन्त्रणमा पनि उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार चैत मसान्तसम्म समग्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा ५.२५ प्रतिशत पुगेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.४८ प्रतिशत मात्रै रहेको छ।

“खराब कर्जा निरन्तर घटाउने रणनीतिअनुसार व्यवस्थापनले काम गरिरहेको छ। निष्क्रिय कर्जा उद्योगको औसतभन्दा कम हुनु बैंकका लागि सकारात्मक उपलब्धि हो,” उनले बताए।

४८ लाखभन्दा बढी ग्राहकलाई सेवा

राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेश र ७७ जिल्लामा ३१६ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। बैंकसँग ३३४ एटिएम, एक लाख ४७ हजार क्युआर मर्चेन्ट तथा २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन्।

बैंकले ग्रामीणदेखि सहरी क्षेत्रसम्म ४८ लाख ७० हजार ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

‘ए प्लस’ साख मूल्याङ्कन कायम

आर्थिक चुनौती र बैंकिङ क्षेत्रमा कर्जाको माग कमजोर रहेकै अवस्थामा पनि केयर रेटिङ्स नेपालले राष्ट्रिय वाणिज्य बैंकको संस्थागत साख मूल्याङ्कनलाई पुनः ‘ए प्लस’ मा पुष्टि गरेको छ।

प्रमुख कार्यकारी अधिकृत खनालले यसले बैंकको वित्तीय सुदृढता र संस्थागत विश्वसनीयतालाई थप पुष्टि गरेको बताए।

राष्ट्रिय वाणिज्य बैंक देशमै सबैभन्दा बढी क्युआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रियस्तरमा सम्मानितसमेत भइसकेको छ। बैंकले आगामी दिनमा डिजिटल बैंकिङ सेवा विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण र ग्राहककेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।


Read Previous

नेपाल टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दा: सबै प्रतिवादी विशेष अदालतबाट सफाइ, संगीता प्रबन्ध निर्देशकमा फर्किने

Read Next

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो संकटमा, बिक्री लगातार घट्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar