Nepal Purbadhar

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

पूर्व ऊर्जा मन्त्री भन्छन् ‘विद्युत् विधेयकलाई तत्कालै अघि बढाउ’


काठमाडौँ,
पूर्व ऊर्जा ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्रीहरुले संघीय संसदमा विधाराधीन रहेको विद्युत् विधेयकलाई अविलम्ब अघि बढाउन ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कालाई सुझाव दिएका छन् । मन्त्री खड्काले मङ्गलबार मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पूर्व ऊर्जा मन्त्रीहरुसँगको छलफलमा अधिकांश पूर्वमन्त्रीहरुले समयसापेक्ष रुपमा विद्युत् विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिनुभएको हो । पूर्व मन्त्रीहरुले मुलुकको उर्जा क्षेत्रको विकासमा सबै राजनीतिक दलले एउटै धारणा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न पूर्वमन्त्रीको आवश्यक राय र सुझाव आवश्यक रहेको बताएका छन् । ‘मुलुकले सबैभन्दा ठूलो आयस्रोतका रुपमा उर्जा क्षेत्रलाई लिएको छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ, यहाँहरुजस्ता पूर्वमन्त्रीको अनुभव, राय र सल्लाह मन्त्रालयलाई आवश्यक पर्छ,’ मन्त्री खड्काले भने ।
मन्त्री खड्काले बुढीगण्डकी, दुधकोशी, नलगाड, फुकोट कर्णाली, पञ्चेश्वर, माथिल्लो अरुण जलविद्युत आयोजनाजस्ता आयोजनालाई लगानी कसरी जुटाएर अगाडि बढाउन सकिने विषयमा पनि सुझाव माग गर्नुभएको थियो ।
छलफलमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समृद्धिको क्षेत्र जलस्रोत क्षेत्र भएकाले यसलाई अधिकतम प्रयोग गरेर देशले फाइदा लिनुपर्ने बताउनुभयो । ‘समयमै आयोजना नसकिँदा लागत बढेर गएको छ, यसलाई सुक्ष्म रुपमा विश्लेषण गरेर समाधानतर्फ लाग्नुपर्छ,’ उनले भने । पूर्वमन्त्री कार्कीले जलविद्युत निर्यात गर्ने मुलुकको रुपमा नेपाललाई स्थापित गर्नका लागि मुलुकको ध्यान जलविद्युत क्षेत्रको विकासमा हुनुपर्ने उल्लेख गरे । विद्युत क्षेत्रको विकास नभई मुलुकको विकास हुन नसक्ने उनको भनाई थियो ।
पूर्वमन्त्री डा प्रकाशशरण महतले विद्युत उत्पादनसँगै प्रसारण लाईनको विकासलाई समेत प्राथमिकता दिनुपर्ने बताए । ‘जलविद्युत गृहमा समयमै प्रसारण लाइन नजोडिँदा उत्पादित विजुली खेर जाने अवस्था आएको छ, यसलाई सम्बोधन गर्न मन्त्रालयले विशेष ध्यान दिनुपर्छ,’ उनले भने । पूर्व मन्त्री महतले महतले डेडिकेटेड र ट्रंकलाईन क्षेत्रमा देखिएको विवादलाई कानूनबमोजिम टुङ्ग्याउनुपर्ने बताए । उनले जलस्रोतसँगै सोलार इनर्र्जीलाई समेत प्राथमिकता दिनुपर्ने बताए ।
पूर्वमन्त्री जनार्दन शर्माले प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताए । राज्यको नेतृत्व रहने गरी प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने उनको भनाई रहेको छ । ‘प्रसारण लाईनको जिम्मा निजी क्षेत्रलाई दिनु उपयुक्त हुन्छ, किनकी हामीलाई हाई भोल्टेज आवश्यकता छ,’ उनले देश समृद्धितर्फ अघि बढाउने हो भने बिजुली कसरी देशभित्रै खपत गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए । पूर्वमन्त्री वर्षमान पुनले मुलुकको राष्ट्रिय प्राथमिकता ऊर्जा क्षेत्र भएकाले उर्जा विकासमा सबै पार्टी एउटै धारणा हुनुपर्ने बताए ।
उनले ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिलाई ग्यारेन्टी गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । पूर्वमन्त्री पुनले भुराजनीतिकको संवेदनशीलता हेरेर छिमेकी मुलुकबाट लगानी भित्र्याउन सरकार लाग्नुपर्ने बताए । । विद्युत विद्येयकलाई तत्काल अगाडि बढाउनुपर्ने उनको भनाई रहेको छ । पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागबीच समन्वय आवश्यक रहेको बताए । उनले उर्जा क्षेत्रलाई अगाडि बढाउन जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्ने दावी गरे । पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकमा ऊर्जाको सन्तुलन लागि जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्ने बताए । उनले उर्जा क्षेत्रको समस्या समाधानका लागि विद्युत् विधेयक विद्येयकलाई चाँडो पास गर्नुपर्ने उल्लेख गरे ।

पूर्वमन्त्री विष्टले आन्तरिक खपत बढाउने गरी सरकारले उर्जा क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । उनले मन्त्री खड्कालाई कम बोल्ने र परिणाम दिनेगरी काम गर्नुपर्ने सुझाव दिए । पूर्वमन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्रलाई उर्जा क्षेत्रमा आकर्षण गर्न जरुरी रहेको उल्लेख गरे । नेपालको ठूलो आर्थिक स्रोत जलस्रोत भएकाले यसको विकासमा मन्त्रालय योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई रहेको छ । उनले विद्युत विद्येयकलाई तयार गर्दा विद्युत क्षेत्रका विज्ञसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो । पूर्वमन्त्री शाहीले उर्जाको विकासका लागि बैकल्पिक ऊर्जालाई समेत ध्यान दिनुपर्ने बताए ।


Read Previous

साउन महिनामा दैनिक १३ करोडको विद्युत् भारत निर्यात

Read Next

पूर्वाधार लगानीमा नविनतम दृष्टिकोण 

Leave a Reply

Your email address will not be published. Required fields are marked *