Nepal Purbadhar

बाढीले इन्द्रावती तेस्रो जलविद्युत केन्द्रकाे संरचनामा क्षति   


सिन्धुपाल्चोक । सिन्धुपाल्चाेकस्थित ७.५ मेगावाटकाे इन्द्रावती तेस्रो जलविद्युत केन्द्रमा बाढीले क्षति पुगेकाे छ । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्याएको हाे ।

जलविद्युत केन्द्रकाे पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै, खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उनले बताए ।

त्यस्तै, बाढीले चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ ।

चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ । मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ ।

त्यस्तै, मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।


Read Previous

डिजिटल सिस्टम’ स्तरोन्नति गर्न मनकामना केबुलकार ५० दिन बन्द हुने   

Read Next

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध