Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै   


दमौली । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरयो । व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो ।

सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ । उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सम्झौताको अवधिमा २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

यस वर्ष बजेट सकिएकाले काम रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले राससलाई जानकारी दिए । “चालु आर्थिक वर्षमा केही काम भएको थियो, तर अहिले पैसा पनि सकियो, काम रोकिएको छ ,”उनले भने ।

चालू आर्थिक वर्षमा अब काम नहुने र वर्षा सकिएलगत्तै काम सञ्चालन गरिने आचार्यको भनाइ छ । आचार्यका अनुसार वर्षा सकिएलगत्तै स्टिलको काम सुरु गर्ने तयारी छ । हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको आचार्यले बताए ।

गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ रुपैयाँ लागतमा पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडाैंसँग सम्झौता भएको थियो । कार्यालय प्रमुख आचार्यका अनुसार हालसम्म ८ करोड बजेट निकासा भएको छ ।

एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर रहनेछ । पाइल फाउण्डेसनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणपछि व्यास र ऋषिङका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।

हाल सोही ठाउँमा झोलुङ्गे पुल रहेको छ । त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ । अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन ५ सय मिटर दूरी पनि छैन ।

त्यहाँ हाल रहेको झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि केही वर्ष पहिला जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गरेको थियो । उक्त आदेश पूर्णरुपमा पालन भएको छैन । हाल यहाँका सर्वसाधारणले झोलुङ्गे पुलबाट नै दुईपाङ्ग्रे सवारीसाधन वारपार गर्दै आएको स्थानीय दीपक थापाले बताए ।

झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको उनकाे भनाइ छ । स्थानीयले वर्षौंदेखि सेती नदीमाथि पक्की पुलको माग गर्दै आएका थिए । काम सुरु हुँदा खुसी भएका यहाँका बासिन्दा अहिले कामले गति नलिँदा निराश छन् । लामो समयदेखि पुलको माग संघीयता आएपछि गठन भएको प्रदेश सरकारले सम्बोधन गरेको थियो ।


Read Previous

विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर   

Read Next

८ खर्ब ५३ अर्ब रुपैयाँ लागतका जलविद्युत आयोजना अगाडि बढाउँदै उत्पादन कम्पनी   

Leave a Reply

Your email address will not be published. Required fields are marked *