Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पुँजीगतभन्दा सरकारी ऋणको साँवाब्याज तिर्ने खर्च दोब्बर


काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने १ खर्ब १६ अर्ब ५८ करोड ५ लाख रुपैयाँ बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को सुरुआती ६ महिना अवधिमा मात्र पुँजी निर्माण अर्थात् विकास निर्माणका काममा सरकारले खर्च गरेको खर्चभन्दा सार्वजनिक ऋणको साँवाब्याज तिर्न भएको खर्च ६७ अर्ब ३४ करोड ४७ लाख रुपैयाँले बढी हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा आन्तरिक ऋणको साँवा भुक्तानीमा ५९ अर्ब ३७ करोड १६ लाख रुपैयाँ र ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड ४८ लाख रुपैयाँ बराबर खर्च भएको छ । आन्तरिक ऋणको साँवाब्याजमा मात्र खर्च भएको रकम  ९३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ बराबर हो ।

त्यस्तै, बाह्य ऋणको साँवाब्याज तिर्न ६ महिनामा २३ अर्ब एक करोड ४१ लाख रुपैयाँ बराबर भुक्तानी भएको छ । सोमध्ये, बाह्य ऋणको साँवा भुक्तानीमा १८ अर्ब सात करोड ९८ लाख रुपैयाँ र ब्याज भुक्तानीमा ४ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ बराबर खर्च भएको छ । ६ महिना अवधिमा सरकारले एक खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ बराबर ऋण उठाएको छ । सोमध्ये १ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ बराबर आन्तरिक र  ३४ अर्ब २७ करोड ४९ लाख रुपैयाँ बराबर बाह्य ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

ऋण बढ्यो, तर बढेन अर्थतन्त्र 

चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ  बराबर पुगेको छ । यसमध्ये आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख रुपैयाँ र बाह्य ऋण ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ बराबर छ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ बराबर थियो । अर्थात् चालू आवको ६ महिनामा मात्र ८५ अर्ब १३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ ।

पछिल्लो ५ वर्षमा मात्रै सरकारी ऋण दोब्बर भएको छ । आव २०७५/७६ मा सरकारी ऋण १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ बराबर थियो । यस्तो ऋण बर्सेनि बढेर आव २०७६/७७ मा १४ खर्ब ३३ अर्ब रुपैयाँ, आव २०७७/७८ मा १७ खर्ब ३७ अर्ब रुपैयाँ र आव २०७८/७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो ।

यसरी, सार्वजनिक ऋणको रकम बढ्दै जानु तर त्यस्तो ऋणले पुँजी निर्माण गर्न तथा समग्र जिडिपीको आकार बढाउन नसक्नु ठूलो समस्याका रुपमा देखिएको छ । सरकारले लिने आन्तरिक ऋण उत्पादन क्षेत्रमा लगानी हुन नसक्नु र बाह्य ऋण लिइएका विकास निर्माण आयोजनामा सम्पन्न गर्न ढिलाइ हुनु अहिलेको मुख्य समस्या रहेको पूर्व महालेखा नियन्त्रक एवं आर्थिक नीति विश्लेषक गोपीनाथ मैनाली बताउँछन् ।

“आन्तरिक ऋण पुँजी निर्माणका क्षेत्रमा नभई साधारण प्रकृतिको खर्चमा गएको छ । पछिल्लो तीन/चार वर्षयता आन्तरिक ऋण बढ्दै गएको छ । तर, पुँजी निर्माणमा खर्च भएको छैन । यो समस्या हो”, मैनाली भन्छन्, “ऋणको व्यवस्थापन लागत उच्च भयो । वैदेशिक ऋण लिएर खर्च भएका आयोजना तत्काल सम्पन्न हुन सकेनन् । यसले पनि पुँजी निर्माणमा विलम्ब गर्‍यो ।”

आन्तरिक ऋण उत्पादनका क्षेत्रमा प्रयोग हुनुपर्नेमा उपभोगका क्षेत्रमा खर्च भइरहँदा एकातर्फ यसले कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा न्यून योगदान गर्ने र अर्कोतर्फ दायित्व पनि थपिँदै जाने उनकाे भनाइ छ ।

समग्र अर्थतन्त्रको आकार बढ्दा सरकारको कमाउने क्षमता विस्तार हुने भएकाले सार्वजनिक ऋणलाई पुँजी निर्माणका क्षेत्रमा खर्च गर्ने र विकास आयोजना निर्माणको कामलाई सही ढङ्गले व्यवस्थापन गरिनुपर्ने मैनालीको सुझाव छ ।

आर्थिक गतिविधि विस्तार गरेर सरकारको थैली बढाउन सकिनेबारे सोच्नुपर्ने उहाँले बताउनुभयो । सरकारको कमाउनसक्ने क्षमता अर्थात् राजस्व कम भएकै कारण घाटा बजेट पूर्ति गर्न सार्वजनिक ऋण लिइने गरिन्छ । त्यस्तै, निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई व्यवसाय गर्ने सहज वातावरण तयार गरेर पुँजी निर्माणका क्षेत्रमा लगानी गर्नसके अर्थतन्त्रको आकार पनि बढ्ने मैनाली बताउँछन् ।

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले यो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो । बजेट वक्तव्यको बुँद नम्बरमा ४४ मा सरकारको खर्च गर्ने क्षमता वृद्धि गर्दै वैदेशिक सहायतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, आन्तरिक ऋणको रकम विकास कार्यमा खर्च गर्ने र सार्वजनिक ऋणको दिगोपना विश्लेषण गरी प्रतिफल आउने क्षेत्रमा परिचालन गरिने उल्लेख छ । सार्वजनिक ऋणमार्फत हुने खर्चको सही व्यवस्थापन र उपयोग गर्ने सरकारी नीति रहे पनि त्यसको प्रभावकारितामा भने गम्भीर प्रश्न देखिएको छ ।

जिडिपीको तुलनामा सार्वजनिक ऋण ४४ प्रतिशत    

अरु विकसित देशहरुले आफ्नो मुलुकको कूल गार्हस्थ्य उत्पादनको तुलनामा शतप्रतिशतभन्दा बढी पनि सार्वजनिक ऋण लिने गरेका छन् । आधारभूत मूल्यका आधारमा अहिले नेपालको जिडिपीको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ बराबर मान्दा जिडिपी अनुपातमा सार्वजनिक ऋण ४४.३१ प्रतिशत पुगिसकेको छ । जिडिपीको तुलनामा सार्वजनिक ऋणको आकार बढ्दै जानुलाई समस्या मान्नेभन्दा पनि त्यसको व्यवस्थापन र ऋणले अर्थतन्त्रको आकार बढाउन गरेको योगदानलाई विश्लेषण गरिनुपर्ने पूर्वमहालेखा नियन्त्रक मैनाली बताउँछन् ।

आव २०७५/७६ मा सार्वजनिक ऋणको आकार जिडिपीको तुलनामा ३०.२६ प्रतिशत बराबर थियो । यो अनुपात बर्सेनि बढेर आव २०७६/७७ मा ३८.०५ प्रतिशत, आव २०७७/७८ मा ४०.७३ प्रतिशत, आव २०७८/७९ मा ४१.५० प्रतिशत र गत आव २०७९/८० सम्ममा पुग्दा ४२.७३ प्रतिशत पुगेको देखिन्छ ।

गत वर्ष पनि विकास बजेट हाराहारीमै खर्च    

गत आव २०७९/८० मा सरकारी ऋणको साँवाब्याज तिर्न दुई खर्ब २२ अर्ब ७४ करोड २१ लाख रुपैयाँ बराबर खर्च गरेको थियो । गत आवको पुँजीगत खर्च सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भएको खर्चकै हाराहारीमा देखिन्छ ।

गत आवका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबर विनियोजन गरेकामा २ खर्ब ३३ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ बराबर खर्च भएको थियो । अधिकांश बाह्य ऋण लामो समयावधिको हुने भएकाले नै साँवाको दायित्व तिर्नुपर्ने अवस्था छैन । तर, आन्तरिक ऋण छोटो समयावधिको हुने भएकाले साँवा र ब्याजको दायित्व चाँडै तिर्नुपर्ने हुन्छ ।


Read Previous

पेट्रोल अन्वेषणका लागि ड्रिल गर्ने मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो   

Read Next

मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का तोडिएसँगै निर्माण अन्योलग्रस्थ

Leave a Reply

Your email address will not be published.