Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

सुनकोसी-मरिन बहुउद्देश्य आयोजनाको ८.७ किलोमिटर सुरुङ खनियो, पूरा हुन ९ महिना लाग्ने


काठमाडौं । खेतीयोग्य भूमिको सिँचाई तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने गरी निर्माणाधीन सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको मुख्य सुरुङ ८.७ किलोमिटर खनिएको छ । आयोजनाको १३.३ किलोमिटर लामो मुख्य सुरुङ एक वर्षअघि अटोमेटिक टनेल बोरिङ मेसिन (टिबीएम) बाट खन्न सुरु गरिएकोमा आधाभन्दा बढी सम्पन्न भएको हो ।

अहिलेसम्ममा सुरुङको मात्रै भौतिक प्रगति ६६ प्रतिशत नाघेको आयोजना निर्देशक मित्र बरालले बताए । उनका अनुसार आयोजनाको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेकाे छ ।

‘एक वर्षमा आधाभन्दा बढी सुरुङ खनेर सकिएको छ,यो लक्ष्यअनुसारकै प्रगति हो,’ उनले भने, ‘बाँकी सुरुङ पूरा हुन अब बढीमा ९ महिना लाग्छ ।’  उनले सुनकोसी नदीमा पानीको बहाव कम भएपछि आयोजनाको बाँध क्षेत्रका संरचनाको काम सुरु गरिने बताए ।

आयोजनाको अन्य संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । खोलामा पानीको सतह कम हुन अझै २ महिना लाग्ने हुँदा अहिले ल्याव तथा क्रसर स्थापना र आवासगृह निर्माणको काम भइरहेको बरालले जानकारी दिए । यसैवर्षबाट मरिनतर्फको काम पनि सुरु गरिने उनले बताए ।

काम सुरु गरेको ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकोमा अब ४ वर्ष बाँकी छ । २०८४ साल असोजभित्र यो बहुउद्देश्य आयोजना सम्पन्न भइसक्ने उनको भनाइ छ ।

आयोजनाले दिने लाभ

राष्ट्रिय योजना आयोगले यो बहुउद्देश्य आयोजनालाई ‘गेम चेन्जर’ आयोजनाकोरूपमा सूचिकृत गरेको छ । यो आयोजना लामो समयदेखि सरकारको प्राथमिकतामा रहेपनि २०७९ साल असोज २८ गतेदेखि मात्रै अमेरिकी कम्पनी रोबिन्सले बनाएको टिबीएमले सिन्धुलीको कुसुमटारबाट औपचारिक रूपमा सुरुङ खन्न सुरु गरिएको हो ।

२०७६ साल माघ ६ गतेको मन्त्रिपरिषद बैठकले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । सिन्धुलीको खुर्कोटमा आयोजनाको बाँध निर्माण गरी मुख्य सुरुङमार्फत सुनकोसी नदीको पानी कमलामाई नगरपालिका-२ कुसुमटारमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । विद्युत उत्पादन भइसकेपछिको पानी मरिन नदीमा छोडिनेछ । यसरी छोडिएको पानी बागमती नदीमा पुर्याइनेछ ।

यो आयोजना निर्माण सम्पन्न हुँदा मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन सकिनेछ । साथै, आयोजनाबाट ३१.०७ मेगावाट विद्युत उत्पादन हुनेछ । अहिले बागमती सिँचाइ आयोजनाबाट ४५ हजार ६ सय हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

सुनकोसी नदीको पानी बागमती सिँचाइ आयोजनामा थपिएपछि पूर्वी नहरतर्फबाट ७६ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन सकिनेछ । पश्चिमतर्फको नहरबाट ४५ हजार ४ सय हेक्टरमा खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने सरकारको लक्ष्य छ ।


Read Previous

साँगा–धुलिखेल सडक विस्तारः भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

Read Next

नेपाल-चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

Leave a Reply

Your email address will not be published.