काठमाडाैं । ऊर्जा उद्यमी बलराम खतिवडाले गणेश कार्की प्यानलबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इपान) काे महासचिव पदमा उमेद्वारी घाेषणा गरेका छन् । इपानकाे २१औं वार्षिक साधारणसभामा हुने कार्यसमितिको चुनावमा महासचिवमा उम्मेद्वारी घोषणा गरेका उनी विगत २५ वर्ष देखि विभिन्न रूपमा ऊर्जा क्षेत्रसँग आवद्ध छन् ।
इपानकाे अहिलेकाे कार्यसमितिमा पनि सचिव रहेका खतिवडाले आगामी कार्यकालका लागि महासचिव पदमा प्रतिश्पर्धामा उत्रिन लागेका हुन् । उनी संलग्न बुद्धभूमि नेपाल हाइड्रोपावर नेपाल कम्पनी लिमिटेडले प्रवर्द्धन गरेकाे ५ मेगावाटकाे तल्लाे तादी जलविद्युत आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा छ । उनी याे आयोजनाकाे प्रवर्द्धक कम्पनीका सञ्चालक हुन् ।
यस्तै, खतिवडाकाे सक्रियतामा ८ मेगावाटकाे तादी घ्याङफेदी जलविद्युत आयोजना पनि निर्माणमा जाँदैछ । उनकाे याे आयोजना ए.बि.पी इनर्जी प्रालि मार्फत निर्माण हुँदैन । उनी याे कम्पनीका प्रबन्ध सञ्चालक हुन् । याे आयोजनाले विद्युत खरिद सम्झाैता (पिपिए) का लागि नेपाल विद्युत प्राधिकरण आवेदन दिएर पालाे कुरिरहेकाे छ ।
यसैगरी, अहिले अध्ययनकाे चरणमा रहेकाे ३० मेगावाटकाे मिडल घुन्सा जलविद्युत आयोजनाकाे प्रवर्द्धक कम्पनीमा पनि सञ्चालक छन् । ऊर्जा क्षेत्रमा साढे २ दशक र इपानमा एक कार्यकाल पूरा गरिसकेकाले यसबाट प्राप्त अनुभवका आधारमा अझै राम्राे काम गर्न महासचिव पदमा उमेद्वारी घाेषणा गरेकाे उनले बताए ।
उनले महासचिव पदमा निर्वाचित भएमा प्रभावकारी रूपमा इपानकाे आन्तरिक व्यवस्थापन गर्न काम गर्ने बताए । उनले ऊर्जा क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्दै देशभित्र विद्युत खपत बढाई अन्तर्राष्ट्रिय रूपमा विद्युत व्यापार गर्ने वातावरण निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, ऊर्जा क्षेत्रकाे विकासबाट देशको आर्थिक समृद्धिमा याेगदान पुर्याउन काम गर्दै जाने बताए ।