Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

तेस्रो पटक राजधानी आइपुगेकाे मेलम्चीकाे सबै पानी वितरण गरिएन


काठमाडौं (रासस) बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको ३ करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन नसकेकाे हाे ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको पानी राजधानीमा वितरण सुरु गरिएको ८ दिन पूरा भइसकेकाे छ । मङ्सिर १८ गते मेलम्ची खोलाको पूरै अर्थात् १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो ।

यसको ६ दिनपछि अर्थात् मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको ८ दिनमा पनि पूरै पानी राजधानीवासीलाई वितरण हुन सकेको छैन ।

६ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पूरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । मेलम्ची खोलाबाट २६.५ किलाेमिटर सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ ।

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । यसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन । सत्र करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म नौ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाँकालचौर, पानीपोखरी, अनामनगर, बालाजु र बाँसबारीका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुरको ट्याङ्कीमा पानी पुग्न अझै केही दिन लाग्ने उहाँले सुनाउनुभयो । केही दिन भित्रमा मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ ।
मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले बताए । सुरुङ सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।

निर्देशनालयले बनाएको नयाँ वितरण सञ्जालका कति स्थानमा अझै पानी परीक्षण हुन सकेको छैन । मेलम्चीको पानी बन्द भएपछि गत असारदेखि पानी परीक्षण पनि रोकिएको थियो । मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी मेलम्ची खोलाबाट राजधानी ल्याइए पनि वितरण सञ्जालमा आएको समस्या र कतिपय स्थानमा परीक्षण गर्दै पानी पठाउनुपर्ने भएकाले १४ करोड लिटर पानीमात्र वितरण भइरहेको हो ।

पानी नपाएको गुनासो    

मेलम्चीबाट पानी ल्याएर प्रशोधन गरिने सुन्दरीजल क्षेत्रका स्थानीयवासीले पानी नपाउँदा गुनासो गरेका छन् । मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी प्रशोधन हुने गोकर्णेश्वर नगरपालिका–१ महाँकाल र त्यसमुनिका स्थानीयवासीले पानी नपाएको भन्दै गुनासो गरेका हुन् । महाँकालको पारिपट्टि कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ पर्छ । त्यहाँका मानिसले समेत सहजरुपमा खानेपानी पाउन सकेका छैनन् ।

बागमती नदीको मुहान क्षेत्र र मेलम्ची नदीको पानी ल्याएर प्रशोधन गरिने यस क्षेत्रका बासिन्दाले खानेपानी नपाएपछि प्रशोधित पानी राजधानीमा वितरण हुन नदिने जनाएका छन् । यस क्षेत्रका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि मेलम्चीको पानी आउँदासमेत मुहानवासीले वाग्मतीकै पानी पनि पिउन नपाए प्रशोधन केन्द्रबाट पानी वाग्मती हाल्ने चेतावनी दिँदै आएका छन् ।

स्थानीय भीमसेन काफ्लेले सरोकार भएका निकायलाई सुझाव कार्यान्वयन गर्न अनुरोध गरे । गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका वडामा मेलम्चीको पानी वितरणका लागि नयाँ सञ्जाल निर्माण गरिएको छैन । नयाँ सञ्जाल निर्माण नगरे पुरानै वितरण सञ्जालबाट वाग्मतीको पानी नियमित दिन स्थानीयवासीले गरेको माग पनि सुनुवाइ नभएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताए ।

गोकर्णेश्वर क्षेत्रमा पानी आउन छोडेको पनि वर्षौं बितेको छ । उचाइमा रहेको यो बस्तीमा पानीको समस्या समाधान गर्न सरोकार भएका निकायलाई अनुरोध गरिएकामा समस्या समाधान नभएपछि नगरपालिकाबाट नै ट्याङ्की बनाउन लागिएको वडाध्यक्ष जयराम महतले बताए ।


Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि योग्य   

Read Next

विद्युत आयात–निर्यातलाई निरन्तरता दिने र नेपालबाट बंगलादेशमा बिजुली बेच्न सकारात्मक भूमिका खेल्ने भारतको घोषणा

Leave a Reply

Your email address will not be published.