काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा तीन परियाेजनाकाे निर्माणकाे लागि समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।
नेपालकाे शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा सामुदायिक विकास परियोजना अघि बढाउन नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासबीच साेमबार समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे ।
भारतीय सहयाेगमा अघि बढाइने परियाेजनामा उदयपुर जिल्लाकाे जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बु जिल्लामा न्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्रको निर्माण रहेकाे छन् ।
त्यस्तै, धादिङ जिल्लामा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजनाको निर्माण रहेकाे छ । यी तीन परियोजनाहरु कूल अनुमानित लागत १० करोड १७ लाख रूपैयाँ रहेकाे छ ।
तीन परियोजनाहरुको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ ।
सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।