Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
सेती लोकमार्ग निर्माण तीव्र पार्न जिल्ला सभाकाे माग    दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा    पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

सुनकोसी-३ निर्माण गर्न संयुक्त कम्पनी बनाइने, लगानीका लागि बंगलादेश तयार


काठमाडौं । नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी–३ जलायश जलविद्युत आयोजना निर्माण गर्न संयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको छ । लगानी गर्न बंगलादेश तयार भएपछि बिहीबार राजधानीमा सम्पन्न नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा जलाशय जलविद्युत आयोजना प्रवर्द्धन गर्न संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको हो ।

बैठकमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी–३ अगाडि बढाउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवालले बताए । दुई साताअघि मात्र ऊर्जा मन्त्रालयले सुनकोसी–३ निर्माणका लागि औपचारिक रूपमा सम्भाव्यता अध्ययनको प्रतिवेदनसहितकाे प्रस्ताव पेश गरेको थियो ।

बंगलादेश पक्ष दुई महिनाभित्र सुनकोसी–३ आयोजनाको सम्भाव्यता सम्बन्धी अध्ययन तथा वतावरणीय अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी त्यसपछिका ४ महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्न तयार भएको प्रवक्ता भेटुवालले जानकारी दिए । ‘वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति भएको दुई महिनाभित्र सो प्रतिवेदन तथा सुनकोसी–३ आयोजनाको सम्भाव्यता अध्ययनको प्रतिवेदन मस्यौदाको पुनरावलोकन गरिसक्ने सहमति भएको छ ,’उनले भने, ‘त्यसपछि संयुक्त कम्पनी स्थापनाको प्रक्रिया अघि बढ्नेछ ।’

नेपालले गत वर्ष भदौमा भएको बैठकमा बंगलादेश सरकारलाई सुनकोसी–३ निर्माणका लागि प्रस्ताव गरेको थियो । गत मंगलबार मात्र बंगलादेशको टोलीले सुनकोसी–३ को स्थलगत भ्रमण पनि गरेको छ । विद्युत विकास विभागका अनुसार, ७ महिना अघि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन स्वीकृतिका लागि पठाए पनि हालसम्म स्वीकृत भएको छैन । मन्त्रालयले यसमा ढिलाई गरेको छ ।

कस्तो हो सुनकोसी–३ आयोजना ?

सुनकोसी–३ सर्वप्रथम जापानी सहयोग नियोग (जाइका) ले सन् १९८५ मा पहिचान गरेको थियो । राजधानी काठमाडौबाट ९५ किलोमिटरकाे दुरीमा रहेकाे  यो आयोजना काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली जिल्लासँग प्रत्यक्ष जोडिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, यी जिल्लाका लागि यो गेम चेञ्जर आयोजना हुनेछ ।

उनले यो आयोजनाबाट विद्युत उत्पादन मात्र नभई, यस क्षेत्रको कृषियोग्य भूमिमा सिँचाई, खानेपानी तथा पर्यटनको विकासमा पनि योगदान पुग्ने बताए । आयोजना प्रमुख सुवास थपलियाका अनुसार, २०७४ सालदेखि अध्ययन सुरु गरेकोमा अहिले विस्तृत अध्ययन भइरहेको छ ।

बाँधको उचाई १८० मिटर रहेको आयोजनाबाट २३५६.२७ गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको लागत डेढ खर्ब रुपैयाँ अनुमान गरिएकाे छ ।

नेपालको पहिलो कुलेखानी जलाशयको ताल ७ किलोमिटर छ भने पोखराको ४ किलोमिटर बराबर छ । तर, सुनकोसी–३ आयोजना निर्माण हुँदा लुभुघाटबाट ४५ किलोमिटरको ताल बन्ने छ ।

सुनकोसी नदीकै बलेफी र इन्द्रावती नदीको सिपाघाटसम्म बन्ने जलाशयले यस क्षेत्रको विकासमा ठूलो परिवर्तन ल्याउनेछ । लुभुघाट काठमाडौंबाट ९५ किलोमिटर भएपनि दोलालघाट भने ४० किलोमिटर छ । अर्थात ३०/३५ किलोमिटरकाे दुरी पार गरेपछि आयोजनाको जलाशयस्थल पुग्न सकिन्छ ।

प्राधिकरणका अनुसार, सरदर उत्पादन हेर्दा जलाशय आयोजनाको प्रति मेगावाट २९ लाख ८ हजार ७ सय ७० युनिट छ । यसैगरी सरदर प्रति युनिट जलाशयको ११ रुपैयाँ छ । विद्युत ऐन २०४९ अनुसार विद्युत विकासकर्ताले रोयल्टी वापत १५ वर्षसम्म प्रतिकिलोवाट एक सय रुपैयाँ र प्रति युनिट २ प्रतिशतका दरले तथा १५ वर्षपछि प्रति किलोवाट एक हजार र प्रति युनिट १० प्रतिशतले बुझाउनुपर्ने व्यवस्था छ ।

यसको आधारमा यो आयोजना बनेपछि प्रभावित क्षेत्रका स्थानीय तहले वार्षिक रोयल्टी बापत मात्र ५० करोड पाउँछन् । स्थानीय क्षेत्रमा विकासका लागि मात्र एक अर्ब बराबर भन्दा बढी खर्च आयोजनाले गर्छ ।

३ हजार २३७ हेक्टर जमीन डुबानमा पर्ने आयोजनाको लागि ६५५.९ हेक्टर वन क्षेत्रसहित ३३०१.७ हेक्टर जमीन आवश्यक पर्नेछ । करिब १५ सय ६५ घरधुरीका ११ हजार ७ सय ७३ जनसंख्या आयोजना स्थलबाट विष्थापित हुने अध्ययनले देखाएको छ ।


Read Previous

बंगलादेशले तीन महिनाभित्र नेपालबाट ५० मेगावाट बिजुली लैजाने

Read Next

जीएमआरको पीएसए एक महिनाभित्र, नवीकरणीय ऊर्जामा सहकार्य

Leave a Reply

Your email address will not be published.