Nepal Purbadhar

अर्थमन्त्रीले प्रधानमन्त्रीको निर्देशन नमान्दा इन्धनको भाऊ घटेन


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभागीय मन्त्रीहरूलाई बोलाएर कर घटाउन दिएको निर्देशन अर्थमन्त्री जर्नाद्धन शर्माले नमान्दा इन्धनको भाऊ आयल निगमले अझै घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेका कारण आइओसीले नेपाललाई पेट्रोलियमको मूल्य घटाएर पठाएको तथा सांसदले संसदमै तत्काल मूल्य घटाउन माग गरे पनि अहिलेसम्म आयल निगमले नघटाएको हो ।

असार पहिलो साता इन्धनको मूल्य उच्च भएपछि देउवा र मन्त्रीहरूको छलफलमा पेट्रोलको मूल्यमा प्रतिलिटर २० र डिजेलमा २९ रूपैयाँ कर घटाउने सहमति भएको थियो । यसैगरी सहमतिपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा २० र डिजेलमा २९ रूपैयाँ कर घटाउने निर्णय भएको र यसै अनुसार घट्ने जानकारी दिएका थिए ।

इन्धनको उच्च मूल्यका कारण अर्थतन्त्र समस्यामा पर्न सक्ने भन्दै सत्ता गठबन्धन दलको बैठकले पनि जनतालाई राहत दिन इन्धनको कर घटाउन निर्देशन दिएको थिए । तर न सत्ता गठबन्धन, न प्रधानमन्त्रीको निर्देशन, न मन्त्रीले सार्वजनिक रुपमा दिएको जानकारी कार्यान्वयन भएको छ । आयल निगमले भने कर समायोजन गरेमा भाऊ घटाउन सक्ने बताउँदै आएको छ । निगमका कार्यकारी निर्देशक उमेश थानी भने ३४ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व भएकोले मूल्य घटाउन नसकिएको बताउँछन् ।

निगमका अनुसार, अझै डिजेलमा प्रतिलिटर ९ रूपैयाँ ३७ पैसा र ग्यासमा प्रतिसिलिन्डर ४९९.४७ सय रूपैयाँ घाटा छ । पेट्रोलमा प्रतिलिटर २.७८ रूपैयाँ, मट्टितेलमा २२.०७ रुपैयाँ तथा आन्तरिक हवाई उडानमा प्रति लिटर ३९.६३ रुपैयाँ र अन्र्तराष्ट्रिय उडानमा भने ८१.३७ फाइदा छ ।

अहिले पेट्रोलको मूल्य लिटरको १ सय ८१ र डिजेलको १ सय ७२ रूपैयाँ रहेकोमा अर्थ मन्त्रालयले कर समायोजन गरेमा भने पेट्रोल प्रतिलिटर १ सय ५९ रूपैयाँ र डिजेल १ सय ५२ रूपैयाँमा बिक्री गर्न सक्ने अवस्था रहेको आयल निगम स्रोतले जनाएको छ ।

नयाँ मुल्यको आधारमा इन्धन कारोबार गर्दा मा निगमलाई आगामी १५ दिनमा ६३ करोड ५८ लाख लाख घाटा हुने प्रक्षेपण छ । बक्यौता बढेपछि आयल निगमसँग इन्धन खरिद गर्नसरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको छ ।

आयल निगमका अनुसार, सरकारले प्रति लिटर पेट्रोलमा भ्याटसहित ६३.३६ रुपैयाँ, डिजेलमा ४७.०३ रुपैयाँ, मट्टितेलमा १३.७५ रुपैयाँ, आन्तरिक हवाईमा २६.५६ रुपैयाँ, अन्र्तराष्ट्रिय उडानमा २.९४ तथा ग्याँसमा ३०७.५४ रुपैयाँ कर छ ।

यो तथ्यांकले छिमेकी राष्ट्र भारतको रक्सौलभन्दा नेपालमा प्रति लिटर ६.२३ रुपैयाँ पेट्रोल र डिजेलमा प्रति लिटर १८.५६ रुपैयाँ बढी छ भने भने आन्तरिक हवाई इन्धनमा १५.६७ रुपैयाा र ग्याँसमा ४६.५३ रुपैयाँ तथा अन्र्तराष्ट्रिय हवाईमा ०.४४४ डलर महंगो बढी रहेको निगमले जनाएको छ ।

क्षेत्रपेट्रोल (रुपैयाँ)डिजेल

(रुपैयाँ)

आन्तरिक हवाई इन्धन (रुपैयाँ)अन्तर्राष्ट्रिय हवाई इन्धन (डलर)ग्याँस (रुपैयाँ)
नेपाल१८११७२१९०१.६४५१८००
रक्सौल (भारत)१७४.७७१५३.४४२०५.६७१.२०११८४६.५३

स्रोतः नेपाल आयल निगम


Read Previous

कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला हुने

Read Next

सडक विभाग ६ वटै वार्षिक लक्ष्य पूरा गर्न असफल, किन पूरा भएनन् वार्षिक लक्ष्य ?