काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधवार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।
सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गरिन् । उनले आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् । पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने बताइन् ।
नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालिन विद्युत व्यापार सम्झौता गरी अगाडि बढाउन नेपाल इच्छुक रहेकाेमा जाेड दिइन् । उनले पञ्चेश्वर जलविद्युत परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन ।
भेटमा राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने बताए। पछिल्लो एक वर्षमा विद्युत व्यापारका क्षेत्रमा महत्वपूर्ण उपलब्ध भएको उल्लेख गरे । पछिल्लो एक वर्षमा विद्युत व्यापारमा ठूलो सफलता मिलेको छ । यसमा दुवै सरकारको सहकार्य सर्हानीय भएकाे उनकाे भनाइ छ । आफूले विद्युत उत्पादन एवं व्यापारका लागि निरन्तर पहल गर्ने विश्वास दिलाउँदै उनले थपे, “विद्युत व्यापार दुवै देशका लागि फाइदा जनक विषय हो । यसमा हाम्रो तर्फबाट निरन्तर सहयोग हुनेछ ।”
भेटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव द्वय बाबुराम भण्डारी र चिरञ्जीवि चटौत र परराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता थियो ।