काठमाडौं । एनएमबी बैंकले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेसन (एसएनभी) सँगको सहकार्यमा सूदुरपश्चिम र कर्णाली प्रदेशका ग्रामीण दुर्गम गाउँमा सुधारिएको चुलो वितरण गरेको छ । यी प्रदेशका ग्रामीण जनताको जीवनस्तर सुधार गर्न ५ हजार ७ सय २८ वटा सुधारिएको चुलो वितरण गरिएको हो ।
एसएनभीको ‘रिजल्ट बेस्ड फाइनान्सिङ’ परियोजना अन्तर्गत विद्युतको कम पहुँच भएका यी प्रदेशका दुर्गम गाउँमा सुधारिएको चुलो वितरण गरिएको बैंकले जनाएको छ । बैंकले एसएनभीसँग मिलेर परियोजनाका लागि कोष व्यवस्थापककोरूपमा काम गरेको छ ।
दाउराको खपत घटाई वन जंगलको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले ग्रामीण भेटमा सुधारिएको चुलो वितरण गरिएको बैंकले जानकारी दिएको छ । चुलो वितरणपछि दुर्गम गाउँमा भान्छामा काम गर्ने महिलाको स्वास्थ्यमा धुवाँका कारण आउने समाधान भएर जाने अपेक्षा परियोजनाले लिएको छ । साथै, वायु प्रदुषणमा समेत नियन्त्रण भई आगलागीका घटना न्युनिकरण हुने र दम, खोकी जस्ता स्वास्थ्य समस्यामा पनि कमी आउने विश्वास लिइएको छ ।
बैंकको लघुवित्त विभागले एसएनभी सँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ । एकसाथ अन्य विभिन्न परियोजनामा पनि सहकार्य गरी सेवामुलक काम बैंकले गर्दै आएको छ ।
एनएमबी दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । यस बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ लागी पनि ४ पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । यस बैंकले देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।