
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र अव्यवस्थित पार्किङ बढ्दै जाँदा ट्राफिक नियमको कार्यान्वयनमाथि प्रश्न उठ्न थालेको छ। सार्वजनिक सडकमा सामान्य उल्लंघन गरे पनि सर्वसाधारणले ट्राफिक जरिवाना तिर्नुपर्ने अवस्था रहे पनि सिंहदरबार परिसरमा भने सडक र फुटपाथमै जथाभावी पार्किङ भइरहेका दृश्य सामान्य बनेका छन्।
सिंहदरबारभित्रका विभिन्न सडकमा दुवैतर्फ सडकको ठूलो भाग ओगट्ने गरी सवारी पार्क गरिएका छन् भने कतिपय स्थानमा फुटपाथ नै सवारीसाधनले ढाकेका छन्। यसले पैदलयात्रीका लागि निर्माण गरिएका फुटपाथको उद्देश्य नै प्रभावित भएको छ।

यसका कारण सेवा लिन आउने सर्वसाधारण, कर्मचारी तथा आगन्तुकले फुटपाथ प्रयोग गर्न नपाई सडकबाटै हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ। पैदलयात्री सवारीसाधनसँगै सडक प्रयोग गर्न बाध्य हुँदा दुर्घटनाको जोखिमसमेत बढेको देखिन्छ।
कतिपय स्थानमा ‘नो पार्किङ’ संकेत राखिए पनि त्यही क्षेत्रमा सवारी पार्क गरिएका भेटिन्छन्। यसले नियमको कार्यान्वयन र सरकारी कार्यालय परिसरभित्रको व्यवस्थापन प्रभावकारी नभएको संकेत गरेको छ।
अव्यवस्थित पार्किङको असर विशेषगरी अपाङ्गता भएका व्यक्तिमा बढी परेको छ। ह्विलचेयर प्रयोगकर्ताले फुटपाथ प्रयोग गर्न नसकी सवारी चल्ने सडकबाटै आवतजावत गर्नुपर्ने अवस्था रहेको छ। सडक किनारसमेत सवारीले ओगटेकाले उनीहरूको आवागमन थप कठिन र जोखिमपूर्ण बनेको छ।

सिंहदरबार सुशासन, कानुनको शासन र सार्वजनिक अनुशासनको नमुना हुनुपर्ने स्थान भए पनि त्यही क्षेत्रमा ट्राफिक नियमको उल्लंघन भइरहनुले सरकारी निकायभित्र नियमको समान कार्यान्वयनबारे प्रश्न उठाएको छ।
सरोकारवालाले ट्राफिक व्यवस्थापन र पार्किङ नियमनका लागि स्पष्ट मापदण्ड लागू गर्दै फुटपाथलाई पूर्ण रूपमा पैदलयात्रीका लागि सुरक्षित राख्न, तोकिएका स्थानमा मात्र पार्किङको व्यवस्था गर्न तथा नियम उल्लंघन गर्ने जोसुकैलाई समान रूपमा कारबाही गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सरकारले सडक सुरक्षा, पैदलयात्रीमैत्री पूर्वाधार र अपाङ्गतामैत्री पहुँचलाई प्राथमिकता दिएको बताउँदै आएको छ। तर सिंहदरबारभित्र देखिएको अव्यवस्थित पार्किङले ती प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनका लागि अझै सुधार आवश्यक रहेको देखाएको छ।



