काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अप्रत्यासितरूपमा बढ्दा भारतमा ऊर्जा संकट देखिएको छ । महिनौदेखि चलिरहेको रसिया–युक्रेन युद्धका कारण आयातित कोइला महंगिएपछि ऊर्जा संकटको अवस्था आएको हो ।
कोइला अभावमा विभिन्न राज्यमा सञ्चालित थर्मल पावर प्लान्टले विद्युत उत्पादनको अवधि घटाउँदै लगेका छन् । माग अनुसार कोइलाको आपूर्ति नहुँदा विद्युत उत्पादनमा कूल ऊर्जा मागको १.४ प्रतिशत कमी देखिएको समाचारमा जनाइएको छ । अहिले सञ्चालनमा रहेका १ सय ७३ थर्मल पावर प्लान्ट मध्ये १ सय वटामा कोइलाको अभाव देखिएको समाचारमा जनाइएको छ ।
कोइला अभावमा थर्मल पावर प्लान्ट नियमित सञ्चालन हुन नसक्दा ओडिसा, छत्तिसगढ, महाराष्ट्र, गुजरात, पञ्जाब, हरियाणा, झारखण्ड, आन्द्र प्रदेशलगायत दर्जन बढी राज्यमा विद्युत सुरु भएको छ । कोइला संकटका कारण यी राज्यमा सञ्चालित थर्मल पावर प्लान्टको विद्युत उत्पादन ३ देखि ८.७ प्रतिशतसम्म कटौती गरिएको छ ।
यो वर्ष अप्रिल महिना अगावै विद्युतको उच्च माग ३८ वर्ष यताकै अधिक विन्दुमा पुगेको तथा कोइला अभावले विद्युत उत्पादनमा कमी आउँदा अहिले ऊर्जा संकटको अवस्था आएको त्यहाँका ऊर्जा मन्त्री आरके सिंहले बताए । कोइला अभावले थर्मल पावर प्लान्ट पूर्ण क्षमतामा चल्न नपाउँदा विद्युत संकटको असर त्यहाँको उद्योगधन्दा, कलकारखानाको उत्पादन तथा व्यापार व्यवसायमा पर्न थालेको छ । सन् २०२१ को अक्टोबरमा कूल मागको १.१ प्रतिशत विद्युत अपुग रहेकोमा सन् २०२२ को अप्रिलसम्म आइपुग्दा यो परिमाण बढेर १.४ प्रतिशत पुगेको खबरमा उल्लेख छ ।
‘अहिले नै कोइला संकटको स्थिती आइहाल्नु पर्ने त होइन । तर, एकातिर विद्युतको उच्च माग बढ्दै जानु र अर्कोतिर कोइला अभावले उत्पादन घट्नुले केही राज्यमा विद्युत कटौती गर्नुपर्ने अवस्था आएको छ ,’ उनले भने, ‘रसिया–युक्रेन युद्धका कारण आयातित कोइलाको मूल्य आकाशिँदा, त्यसको असरले ऊर्जा संकट झेल्नु पर्ने बाध्यता आइलागेको हो ।’ उनले विद्युत मागमा भएको वृद्धिको तुलनामा कोइलाको आपूर्ति हुन नसक्दा विद्युत कटौती भइरहेको बताए ।
भारतमा गर्मी याममा विद्युतको अधिक खपत हुने गरेको छ । कोइला अभावका कारण यो वर्ष गर्मी महिनामा ऊर्जा संकट अझै बढ्ने आशंका गरिएको छ । विभिन्न राज्यमा सञ्चालित थर्मल पावर प्लान्टले कोइलाको अभाव झेलिरहेका छन् । यी थर्मल पावर प्लान्ट सञ्चालन गर्नका लागि भण्डारण गरिएको कोइला सकिँदै गएकाले विद्युत कटौतीको अवधि बढ्ने देखिएको छ ।
केन्द्रीय विद्युत प्राधिकरणले अहिले थर्मल पावर प्लान्टहरूमा आवश्यकताको ३५ प्रतिशत मात्रै कोइला भण्डार रहेको बताएको छ । जबकी, कोइलामा आधारित थर्मल प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्न २६ दिनलाई पुग्ने कोइला भण्डारण आवश्यक पर्ने गर्दछ । कोइला अभावले उत्पन्न हुन सक्ने ऊर्जा संकटलाई मध्यनजर गर्दै त्यहाँको ऊर्जा मन्त्रालयले महंगीको भार उपभोक्तालाई बोकाएरै भए पनि आयात गरेर विद्युत आपूर्ति व्यवस्थापन गर्ने आएको सुझावमा मनन गर्न सक्ने मनस्थिती बनाएको समाचारमा जनाइएको छ ।
ऊर्जा सचिव आलोक कुमारले सन् २०२२ को डिसेम्बरसम्मको विद्युतको माग धान्न केही थर्मल पावर प्लान्टका लागि अतिरिक्त भार उपभोक्तलाई बोकाएर कोइला आयात गर्ने सहमति बनेको बताए । उनले आयातित कोइलामा आधारित थर्मल प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुन नसकेमा विद्युतको बढ्दो माग व्यवस्थापनको दबाव घरेलु कोइलामा आधारित थर्मल प्लान्टमा पर्न जाने बताए ।
यता भारतको कोइला उत्पादन कोइ इन्डियाले अहिले कुनै अभाव नरहेको र आफुसँग १ महिनालाई पुग्ने कोइला भण्डारण रहेको दाबी गरेको छ । भारतले कूल जडित क्षमताको ७० प्रतिशत विद्युत कोइलामा आधारित थर्मल पावर प्लान्टबाट उत्पादन गर्दै आएको छ ।
कार्बन उत्सर्जन शूल्यमा झार्ने सन् २०७० सम्मको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा प्रणालीमा लगानी बढाँउँदै लगे पनि कोइला माथिको निर्भरता कम हुन सकेको छैन । भारतमा सन् २०२१ को सेप्टेम्बरमा पनि कोइला अभावमा ऊर्जा संकट उत्पन्न हुँदा त्यसको प्रभाव अर्थतन्त्रमा परेको थियो । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्यमा भएको अत्याधिक वृद्धिले भारतले जस्तै ऊर्जा संकटको सामना चीन तथा युरोपियन एवं दक्षिण अमेरिकी देशले पनि भोग्दै आएका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा अनुवाद