डा. दधि अधिकारी
ओम जय जगदिश हरे…..
एकाबिहानै सिरानीमा राखेको मोबाईलको रिङटोन बज्यो । सौरभको फोन रहेछ ।
आँखा मिच्दै फोन उठाएर “हेल्लो” भने ।
“दाइ अझ सम्म सुति राख्नु भएको हो कि क्या हो ? संसार कहाँबाट कहाँ पुगी सक्यो, दाइ भने सुति राख्नुस् ।”
सौरभले फोन मै जिस्क्यायो । विकास दर्पण भन्ने दैनिक पत्रिकामा सौरभ मेरो मातहतमा काम गर्दछ । केटो मिहेनती र ईमान्दार छ त्यसैले मलाई बेस् लाग्छ ।
“होईन यार, आजको लागि एउटा बाईलाईन तयार गर्दा गर्दै राति ढिलो सुतियो, त्यसैले । भन न किन फोन गर्यौ बिहान बिहानै ?” मैले सोधेँ ।
“म पनि दाइको पछि लागेर आज चितवन जान पर्ने भयो । सम्पादकज्यूले भन्नु भाको ।”
“किन चितवनमा के भयो र?”
“भोली त्यहाँ नेपाल र जिम्बावेको क्रिकेट म्याच छ रे । नेपालको प्रदर्शन राम्रो भै राखेकोले आजको खेललाई कभर गर्न हजुर र म जाने भन्नु भाको छ सम्पादकज्यू ले । ”
“हो र ? म त तयार नै छैन त । के गर्ने होला ?” मैले अन्योलपूर्वक भनेँ ।
“चितवन जान के तयारी गर्नु पर्यो र दाइ ? एउटा सानो झोला बोकेर हिड्ने त हो नी । भन्नुस कति बजेको टिकट लिऊँ ?”
“किन अफिसको गाडी छैन र ?”
“कहाँ हामीलाई चितवन जान गाडी दिन्छन र दाइ ? दाइ पनि नथापाको जस्तो गर्नु हुन्छ क्या ।”
“त्यो त हो । त्यसो भए चार बजेको टिकट लेउ न त, श्री एयरलाईन्सको ।”
“हा..हा…प्लेनमा जाने होईन दाइ । बसमा जाने हो ।”
लौ मार्यो । काठामण्डौ देखि चितवनको बाटो अनि हाम्रा बसहरु । सास्ती हुने भयो । मनमनै मुर्मुरिएँ एक्कैछिन तर मुर्मुरिएर के गर्नु, जानु पर्ने नै भएपछि ? त्यसैले सौरभलाई ११ बजेको टिकट लिन भनेर फोन राखें र यात्राको तयारी गर्न थालें ।
एघार बजे कलंकीमा सौरभसंग भेट भयो । उसमा आँखा टिकेपछि मेरो मनले स्विकाऱ्यो- केटो ह्याण्डसम छ । गलामा डीएसएलआर क्यामेरा, पिठ्युँमा टमबिनको ब्याकप्याक, अनि रेबनको चस्मा लगाएर ऊ खासा पत्रकार देखिएको छ ।
त्यहि बेलामा बस पनि आईपुग्यो–चितवन टाईगर । तल लेखिएको थियो एसी र फ्री वाईफाई सुविधा सहित । दुबै जना बसमा चढ्यौं । चार नम्बरको सिटमा झ्याल तिर बसें म । सौरभ चाहिं गल्लीतिरको सिटमा बस्यो । बैसाख महिनाको गर्मी, सिटमा बस्न पाको होईन, पसिनाले निथ्रुक्क पार्न थाल्यो ।
“भाइ एसी छ भनेको होईन बसमा, एसी चलाउ न, गर्मीले मर्न थालियो ।” मैले कण्डक्टरलाई भने ।
“सरी दाइ एसी विग्रेको छ ।” कण्डक्टरले जवाफ फर्कायो ।
“त्यसो भए वाईफाई पनि त बिरामी होला नि होइन ?” मैले अलि ठूलो स्वरमा भने ।
“हो दाइ, सरी वाईफाई पनि बिग्रेको छ ।” कण्डक्टरले सामान्य हिसावले जवाफ दियो ।
“त्यसो भए बसमा सबैले देख्ने गरि एसी र फ्रि वाईफाई किन लेखेको त ?” म अलि जंगीएँ ।
“पहिले थियो दाइ अहिले बिग्रेको हो । एक दुइ दिनमा बन्छ ।” कण्डक्टरले भन्यो ।
म सजग भएँ । गर्मी उस्तै थियो । धूलोको कुइरिमण्डल उस्तै । धत्तेरिका !! म त सपना पो देखिरारैछु ! सपनाबाट बिउँझिएर बाहिर हेर्दा मैले देखे- हाम्रो एसी र बाइफाइले सुसज्जित बसले अझैसम्म नागढुङ्गा नै पार गरेको रहेनछ ।
अब एक दुई दिनमा बनेर मलाई के फाईदा । फेरि बन्ने पो हो की होईन ? सबैलाई एक दुई दिनमा बन्छ भनेर च्याँखे थाप्ने त होला नि । हाम्रो देशमा उपभोक्ताहरुको अधिकार कति कमजोर छ । गलत सूचना दिएर बस्तु तथा सेवा विक्रि गर्नु कानूनी रुपमा अपराध हो भन्ने कुरा व्यापारीहरुलाई कहिले थाहा हुने होला कुन्नी । फेरि अनुगमन गरे पो व्यापारी पनि सचेत हुने हो । अधिकार जति कानूनमामा मात्र सिमित छ, अनि कहाँ हुन्छ ?
म मन मनै भुतभुताएर आफैँसँग असंतोष पोखिरहेँ । हपहप गर्मिले शरीर उसिनेको आलु जस्तै हुन थालेको थियो । केही सितलताको आशमा मैले झ्याल खोले । थानकोट काटे पछि त्यो खाल्डा खुल्डी र जाम हुने सडक सम्झेर नै दिक्क लाग्यो । झ्यालबाट आएको चिसो हावाले केही राहत त दियो तर हावासँगै भित्र छिर्ने धुलोले उत्तिकै हैरान पाऱ्यो । धूलो खानु कि गर्मी, बिलखन्दमा परेँ । राती निद्रा नपुगेकोले होला, त्यो बिघ्न गर्मि र धूलोमा पनि मेरा आँखा बेला बेलामा झुप्प झुप्प लागिरह्यो । सौरभले चाहीं “ह्या दाइ, न सुत्नुस न क्या, एक्लै त बोर भैहाल्छ नि, गफ गर्नुस्, गफ !“ भनेर कराई रहेको थियो ।
थानकोट कटेपछि भने म अचम्भित भएँ । अचानक धूलो मैलो बाटो त चार लेनको चिल्लो सडकमा परिणत भैसकेको रहेछ । यो बाटोमा बस त मानौ हावामा उडेको जस्तो गरेर दौडीएको छ, कतै पनि घल्च्याक-घुल्चुक, खाल्डा-खुल्डी केहि थिएनन् । कम गति भएका गाडी बायाँ लेनमा गुडेका छन् । ओभरटेक गर्नु परे मात्र दायाँ लेनमा जान्छन् । सडकको किनारमा साईकल लेन छ । साईकल लेन र सडकको बीचमा करिब तीन फीटको हरियो बेल्ट छ । सडकको दुबै तिर राता पहेंला नानाथरिका फूलहरू फूलेका छन् । साईकल लेनमा नेपाली र विदेशीहरु हेल्मेट लगाएर साईकलमा दौडिएका छन् । बेलाबेलामा हामीलाई हेरेर मुस्कुराऊँदै बाईबाई गर्दैछन् । मेरो आँखाको पर्दामा कम्ता त रमाईलो दृश्य चित्रित भएको थिएन ! ।
मनमनै सोंचे, बसमा आएर राम्रै गरिएछ । प्लेनमा गएको भए यो सुन्दर दृश्य कहाँबाट देख्न पाउनु ? एकैछिनमा बस नागढुँगा आईपुग्यो र एक्कासी सुरुङ्ग भित्र पस्यो । मेरालागि योभन्दा ठूलो सर्प्राइज जीवनमा अर्को कुनै थिएन । यो सुरुङ्ग मार्ग यति छिटो बन्ला भनेर मैले सोंचेको पनि थिइनँ । कतै कुनै समाचारमा केही लेखिएको पनि देखिनँ । सायद सौरभले पो कतै केही पढेको, सुनेको थियो कि ? भन्ने सोचेर यसबारेमा उसँग प्रश्न गरेँ र उसैको जवाफले मेरो ज्ञान चक्ष्छु खुल्यो कि यो बाटो त तीन महिना अघिनै प्रधानमन्त्री द्वारा उद्घाटन गरिएर सुचारु भएको रहेछ । उसको जवाफले एउटा सर्वसाधारण मान्छेको रुपमा भन्दा पनि एउटा पत्रकार भएको नाताले लाज लागेर आयो मलाई ।
एक पटक अमेरिकाको ह्याम्पटन सडकको साढे तीन माईलको सुरुङ्ग मार्गमा ड्राईभ गर्दा साथीले सास रोक्न भनेको थियो । त्यहाँका कुनै पनि सुरुङ्ग मार्ग पार गर्दा सास बन्द गर्न सकियो भने भाग्य खुल्छ भन्ने विश्वास छ अमेरिकामा । अमेरिकामा त मैले सास बन्द गरेर पार गर्न सकेको थिइन । अब मेरै देशको सुरुङ्ग मार्गमा भfग्य अजमाउनु पर्यो भनेर सास रोक्ने कोशिश गरें र अर्को वर्ष सम्पादकमा वढुवा होस भनेर मनमनै कामना गरेँ । अहँ, यहाँ पनि मैले तीन मिनेट सास रोकीराख्न सकिनँ । सोंचे, सायद मेरो भग्यमा नै छैन सम्पादक बन्ने । भाग्यमा भएको भए त किन यो उमेरमा पनि समाचार संकलन गर्न भनेर दिनरात यसरी कुद्नु पथ्र्यो र ?
खैर मेरो भाग्य नभए पनि मेरो देशको भाग्य चाहिँ राम्रै रहेछ । मनमनै सोचेँ- लोकतन्त्रले देश खत्तम पार्यो भनेर भन्थे तर यो बाटो र सुरुङ्ग मार्गले प्रमाणित गरेर देखाइदिएको छ कि देशमा लोकतान्त्रिक ब्यवस्था भयो भने के सम्म गर्न सक्दो रहेछ भनेर । युरोप अमेरिका भन्दा के कम छ मेरो देश ? त्यहाँको भन्दा के कम छ यो बाटो ? यो सुरुङमार्ग ? यो मान्छेहरुको जातै उस्तै क्या । काम नपाएर लोकतन्त्रलाई सत्तोसराप गरिरहन्छन् भन्या ! मैले मनमनै एकलट लोकतन्त्र विरोधीहरूलाई सरापें र आफू लोकतन्त्रवादी भएकोमा गर्व गरें ।
यत्तिकैमा सौरभले “दाइ ! कुन सोचमा मग्न हुनु भयो ?” भनेर कोट्यायो । “केहि होईन यो बाटोको सुन्दरतामा हराऊँदै छु । म त कवि पो हुन्छु क्या हो जस्तो लाग्दै छ यो बाटो देख्दा सौरभ !” मैले मन्त्रमुग्ध हुँदै भने । सौरभ मुस्कुरायो ।
यत्तिकैमा हाम्रो बसलाई उच्च गतिमा आएको सानो रातो कारले ओभरटेक गर्यो । त्यो पनि ओभरटेक गर्न निषेध गरेको ठाऊँबाट । मनमनै सोंचे हामी नेपालीको बानीमा भने सुधार नहुने भयो । यति राम्रो बाटो छ । गाडी चलाउनेले नियमको पालना पनि गरे त दुर्घटना नै हुँदैन थ्यो नि । सार्वजनिक सौचालयमा जहाँतहिं फोहर गर्ने, फोहर नफाल्नु भनेर लेखेको ठाऊँमा नै फोहर फाल्नु पर्ने, बाटाघाटामा जताततै थुक्नु पर्ने । हामी नेपालीले कहिले सिक्छौँ- सभ्यता कुन चरिको नाम हो भनेर ?
यत्तिकैमा हामीलाई ओभरटेक गर्ने गाडीको पछाडी पछाडी साईरन बजाऊँदै राजमार्ग प्रहरी आयो र त्यो ओभरटेर गरेर जाने गाडीलाई साईड लाग्न निर्देशन दियो । गाडी साईड लाग्यो । प्रहरीले उसलाई जरिवानाको चिट दियो र गयो । मनमनै सोचें, नियम कानून भने अझै मरेको रैनछ ।
अघिको कारको गती देखेर हो वा चिल्लो बाटो देखेर हो, हाम्रो बसको ड्राईभर पनि बस हुईंक्याउन थाल्यो । तर एकै छिनमा अगाडी बाटोमा राखिएको बोर्डमा “तपाईंको गति १० की.मी. प्रति घण्टा बढि छ त्यसैले गति कम गर्नुहोस ।” भन्ने संदेश देखियो । त्यस पछि मात्र ड्राईवरले गति कम गर्यो । हामी पनि प्रविधिमा कति अघि बढि सकेछौं भन्ने सोचेर मनमनै दंगदास परेँ म ।
एक छिनमा राम नगर आई पुगीयो । रामनगर पुग्ने बेलामा कर उठाउने चौकी रहेछ । हाम्रो बस अगाडी वढ्दा गाडी रोक्न बनाईएको अटोमेटेड ढाट आफै माथी उठ्यो र हाम्रो बस अगाडि वढ्यो । आजभोलि गाडीबाट ओर्लेर कर तिर्ने ठाऊँमा गएर कर तिर्नु पर्दो रहेनछ । गाडीहरुले एउटा चिप्स भएको सानो डल्लो जस्तो मसिन गाडीमा राख्दो रहेछन् र त्यहि चिप्समा बैंक बाट पैसा जम्मा गर्दो रहेछन् । प्रत्येक पटक त्यो बाटो पार गर्दा अटोमेटिक रुपमा नै कर वापतको पैसा काटिदो रहेछ “वाह कस्तो राम्रो व्यवस्था !” मेरो मनले प्रसंसा गऱ्यो ।
गाडी रामनगरमा खाना खानकालागि रोकियो । मलाई प्राय बाटोमा खाना खान मन पर्दैन । यी बाटाका होटलहरु गाडीसंगको मिलोमतोमा यात्रुहरुलाई ठग्न उद्दत हुन्छन् । न यिनीहरुले खुवाउने खाना ताजा हुन्छ न यिनीहरुको भान्छा नै सफा हुन्छ । फेरि महङ्गो पनि उस्तै ! खानाको यति धेरै पैसा असुल्छन् यिनीहरुले मानौ एउटै बसका यात्रुबाट उठाएको पैसाले काठमाण्डौमा घडेरी किन्ने पैसा पुऱ्याउँछन् ।
गाडी रोकिएपछि सौरभले खाना खान जाने प्रस्ताव राख्यो । मैले खाना प्रति आफ्नो अनइच्छा देखाउँदै उसलाई खाना खाएर आउन आग्रह गरेँ । तर उसले मानेन । जाऊँ कि जाऊँ भनेर जिद्दी गरेपछि उसलाई साथ दिन भनेर म उसको साथमा गाडिबाट ओर्लिएँ ।
तर यहाँ पनि मेरोलागि अर्को आश्चर्यले पर्खिरहेको थियो । खाना खाने ठाऊँ यति सफा यति ब्यवस्थित थियो की मैले यो ब्यापक परिवर्तनका बारेमा होटेलको साहुजीलाई नसोधी बस्न सकिनँ । साहुजीका अनुसार-अहिले त महानगरले नियमित रुपमा होटेलहरुको खानाको गुणस्तर परिक्षण गर्दो रहेछ । खाना बनाउने ठाऊँ सफा छ की छैन, काम गर्ने मानिसहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा छ की छैन, उपभोक्ताको संतुष्टिको कत्तिको ख्याल राखिएको छ भन्ने जस्ता कुराहरुको नियमित र पारदर्शी रुपमा अनुगमन हुने हुँदा सबै काम नियम अनुसार हुँदो रहेछ । यसकासाथै सेवाको गुणस्तर पनि वढेको रहेछ ।
फेरि अहिले त व्यापारिक क्षेत्र, विद्यालय क्षेत्र र बसोबास गर्ने क्षेत्र पनि छुट्याएको रहेछ । यसले गर्दा बसोवास गर्ने क्षेत्रमा व्यापारिक क्षेत्रको हो हल्ला वा प्रदुषणले असर नगर्ने भएको रहेछ । मैले मनमनै संघीयता र स्थानीय सरकारलाई धन्यवाद दिएँ । स्थानीय स्तरका यस्ता कुराहरु केन्द्रबाटै संचालन गर्न खोज्दा गुणस्तरीय सेवा प्रवाह गर्न नै नसकिने रहेछ । सबैभन्दा समस्या भनेको अनुगमनमा हुनेरैछ । मलाई लाग्यो-अब बल्ल संघीयताका विरोधीलाई यसको काइदा पनि र फाईदा पनि थाहा हुने भयो ।
खाना खाई सकेपछि हामी गाडीमा गएर बस्यौँ । समय तालिका अनुसार गाडी अघिबढ्यो । नारायणघाट पुगेपछि हामी बसबाट ओर्लियौँ । एउटा ट्याक्सी समात्यौं र गौतमबुद्ध रंगशााला पुग्यौँ ।
ट्याक्सीमा पनि कुनै मोलमोलाई गर्नु परेन । ड्राईवरलाई हामीले रंगशाला जाने भने पछि अगाडीको स्क्रिनमा रंगशाला टाईप गर्यो । स्क्रिनमा अटोमेटिक रुपमा दुरी दस किमी, भाडा रु.५०० र बाटोको नक्सा देखायो । ड्राईवरले सोहि अनुसार हामीलाई रंगशाला पुर्यायो ।
ओहो ! रंगशालाको शान ब्यवस्थापन देखेर एकपटक फेरि मन रमायो । रंगशाला अगाडीको बडो ब्यवस्थित र शुन्दर बगैंचा । विशाल अन्डरग्राउण्ड पार्किङ । भित्र छिर्ने स्वचालित अटोमेटिक ढोकाहरु, । भित्र खानपानका लागि बडो ब्यवस्थित खानेकुराका स्टलहरू । हुलदंगा नगरिकन सभ्य तरिकाले क्यूआर कोड स्क्यान गराएर भित्र छिरिरहेका मान्छेहरू ।
हामीले पनि हाम्रो टिकटको क्यू आर कोड मेसिनमा देखायौं । मेसिनले टिकट पढि सकेपछि ढोका आफसे आफ खुल्यो र हामी भित्र गएर आ-आफ्नो सिटमा बस्यौं । म मनमनै गौतम बुद्ध रंगशालाको तुलना बेलायतको लर्डस मैदान सँग गरिरहेको थिएँ । त्यो भन्दा कुनै कुरामा कम थिएन हाम्रो यो रंगशाला पनि । म गर्वानुभूतिले सरोवर भएँ । ओहो ! कत्रो फड्को मारिसकेछ हाम्रो देशले पनि ! अब खेल सुरु हुनुको प्रतिक्षा थियो ।
अम्पायरले टस गरे । टसमा जिम्बावेले जित्यो र व्याटिङ गर्ने निर्णय गर्यो । संदीपको टोली फिल्डिङमा उत्रियो । टेष्ट क्रिकेट खोलीसकेको जिम्बावेसंग खेल्न त्यति सजिलो थिएन । २० ओभरको खेलमा जिम्बावेले २३० रन बनायो । नेपाली बलरहरु नराम्रोसंग चुटिए । संदीपले त एक विकेट लिए र चार ओभरमा ४७ रन दिए ।
“सौरभ, आज नेपालीको बेईज्जत हुने भयो ।” मैले दिक्क मान्दै भने ।
“होईन दाई क्रिकेट अनिस्चितताको v]ल हो । केही भन्न सकिंदैन । सौरभले भन्यो ।
“बाजी राख्ने ? नेपालले क्यै गरेर पनि जित्दैन !” मैले भने ।
“काँ दाई पनि, फेरि सट्टेबाजीमा परिएला !” सौरभले हाँस्दै भन्यो ।
म पनि कोकको चुस्की लिंदै खेल हेर्न थालें ।
ओहो ! केटाहरुले त गज्जव राम्रो खेलिराछन् । अन्तिम ओभरमा १३ रन बनाउनु पर्ने । क्रिजमा संदीप र दिपेन्द्र छन् । पहिलो बलमा दिपेन्द्रले छक्का हाने । दोश्रो बलमा दिपेन्द्र आउट….स्टेडीयम स्तब्ध । क्रिजमा सोमपाल र संदीप । तेश्रो बल डट बल । मेरो मुटु ढुक ढुक गर्न थाल्यो । लौ, हार्ने भयो नेपालले । चौथो बल सोमपालले एक रन लिए । अब दुई बलमा ६ रन बनाउनु पर्यो । ला पाँचौं बल डट बल भयो । संदीपले एक रन बनाउन सक्थे । तर उनले रन लिएनन् । कमसेकम एक रन लिएको भए त खेल बराबरी हुने सम्भावना हुन्थयो नी । मैले संदीपलाई मनमनै गाली गरें । अब अन्तिम बल । संदीपले छक्का हान्लान त । जोडले मुठ्ठी कसें। चिरवाको बलिङ । फुल टस बल…..छक्का ….!
स्टेडियम खुसीले एकै पटक जोडले चिच्यायो । म झसंग भएँ ।
सौरभलाई सोधें “के भयो ?”
“दाइ झण्डै मरिएन । अगाडी बाटोमा ठूलो खाल्डो परेको रहेछ । बसले छल्न सकेन र खाल्डोमा पर्यो । त्यसैले सबै चिच्याएका ।”
म सजग भएँ । गर्मी उस्तै थियो । धूलोको कुइरिमण्डल उस्तै । धत्तेरिका !! म त सपना पो देखिरारैछु ! सपनाबाट बिउँझिएर बाहिर हेर्दा मैले देखे- हाम्रो एसी र बाइफाइले सुसज्जित बसले अझैसम्म नागढुङ्गा नै पार गरेको रहेनछ ।