
काठमाडौं । सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले ३० मेगावाटको डुल्लु-मालिका सोलार आयोजना निर्माण गर्ने भएको छ ।
ठूला प्रकृतिका जलविद्युत् आयोजनाहरु निर्माण गर्ने उदेश्यले स्थापना भएको कम्पनीले सोलार आयोजना निर्माण गर्न लागेको हो । आधा दर्जनबढी ठूला ठूला जलाशयदेखि आरओआर प्रकृतिका आयोजनाको अध्ययन गरिरहेको कम्पनीले सोलारको आयोजना निर्माण गर्न लागेको हो ।
कम्पनीले यो सोलारको आयोजना र १३२ केभी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अध्ययन तयारीका लागि परामर्श सेवाको जिम्मा एनईए इन्जिनियरिङ कम्पनीलाई दिएको छ ।

कम्पनीले यो आयोजनाको सर्भे गरिसकेको छ । जसबाट आयोजना फिजिवलदेखि भएपछि विस्तृत अध्ययन गर्न लागिएको हो । ९ महिनाभित्र अध्ययन सक्ने लक्ष्य रहेको योगिता पन्तले बताइन् ।
विस्तृत अध्ययन गर्नु अघि कम्पनीले प्रमोटरहरुसंग बैठक समेत राखेको थियो । प्रमोटरहरुले आयोजनाको काम अघि बढाउन सहमति दिएपछि कम्पनीले अध्ययनका लागि परामर्शदाता छनोट गरेको हो । कम्पनीले जिटुजी मोडलमा परामर्शदाता छनोट गरेको हो । केहि कम्पनीसंग प्रस्ताव मागिएको थियो,सबैभन्दा कबोल गर्ने एनईए इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको हो ।
प्रस्तावित आयोजना दैलेखको दुल्लु नगरपालिका-१३ मा निर्माण हुनेछ ।

विद्यालयको जग्गा लिजमा लिएर बनाउन खोजिएको हो । आयोजनाका लागि ६०० रोपनी जग्गा आवश्यक पर्छ ।। प्रस्तावित आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको चुप्रा सबस्टेसनमा जोडिनेछ । आयोजनाका लागि १३२ केभीको ५.५ किमी प्रसारणलाइन निर्माण गर्नुपर्नेछ ।

आयोजनाको विस्तृत अध्ययन हुन लागेपनि विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भने भएको छैन् । प्राधिकरणले प्रतिस्पर्धी दरमा टेण्डर खुलाएर पीपीए गर्ने गरेको छ ।
आयोजनाले वार्षिक ४७.५७५ गिगावाट ऊर्जा उत्पादन गर्छ ।
आयोजनाको आइआरआर १३.५३ प्रतिशत छ । आरओई १७.१६ प्रतिशत छ । विद्युत उत्पादन कम्पनीको ७० प्रतिशत इक्विटी रहनेछ ।
प्रारम्भिक रुपमा १ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

