
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण क्षति भएको सर्वोच्च अदालतमा टेन्ट टाँगेर सेवा दिन सुरू गरिएको छ । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई प्रारम्भ गरिएको अदालतले जनाएको छ ।

भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको दमनको विरुद्धमा भदौ २४ गते भएको आन्दोलनमा सर्वोच्च अदालतमा आगजनी भएको थियो । सर्वोच्च अदालतसँगै सिंहदरबार, संघीय संसद भवनलगायतमा आगजनी भएको थियो ।

क्षतिग्रस्त बनेको सर्वोच्च अदालतमा आइतबारबाट भने टेन्ट नै टाँगेर सेवा सुरू गरिएको छ ।

आन्दोलनपछि सर्वोच्च अदालतमा जल्न बाँकी रहेका मुद्दाका कागजात तथा भवनलाई कर्मचारीका साथै कानुन क्षेत्रका व्यक्तिहरूले सरसफाइ समेत गरेका थिए ।

हालका लागि अदालतको बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक सेवाहरू सुचारू रहेको अदालतले जनाएको छ । साथै, सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने पनि अदालतले जनाएको छ ।
